२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

'समलिंगी महिलाको पहिचान, प्रतिनिधित्व र पहुँचका लागि राज्यले विशेष सम्बोधन गर्नुपर्छ'

मितिनी नेपालले गण्डकी प्रदेशको पोखरामा समलैंगिक दृश्यता दिवसको अवसरमा र्‍याली आयोजना गरेको छ। र्‍याली पोखरा, लेकसाईड स्ट्रिट २ बाट सुरु भई बाराही  चोकमा कोणसभामा परिणत भई सम्पन्न भएको बताइएको छ।

र्‍यालीमा विभिन्न प्रदेशका समलिंगी, द्वयलिंगी र क्वेर महिलाहरुका साथै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको उपस्थिति रहेको थियो।

उनीहरुले समलिंगी महिला पर्खदैन, अधिकार नलिई फर्कदैन, समलिंगी महिला माथि हुने हिंसा अन्त्य गरौं जस्ता नाराहरु लगाएका थिए।

र्‍यालीलाई सम्बोधन  गर्दै समलिंगी ज्येष्ठ महिला सुकमाया मगर समुदायबाट कुसुम सुनुवार र कविता तामाङले समलैंगिक दृश्यता दिवसको शुभकामना दिँदै समलिंगी महिला पनि महिला भित्रको विविधता भएको बताए।

समलिंगी महिलाको पहिचान, प्रतिनिधित्व र पहुँचका लागि राज्यले विशेष सम्बोधन गर्नुपर्ने सुनुवारले बताइन्।

यसैगरी पोखरा महानगरपालिका, सामाजिक विकाश शाखाबाट विष्णुमाया पौडेलले राज्यको हरेक निकायमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पनि समानुपातिक प्रतिनिधित्व हुनुपर्ने भन्दै समलिंगी महिलाको विषयलाई राज्यले सम्बोधन गर्नुपर्ने बताइन्। साथै आगामी नीति तथा कार्यक्रमहरु बनाउँदा, बजेट बिनियोजनमा समुदायको सुझाव र सहयोग आवश्यक रहेको उनले बताइन्।

राष्ट्रिय मानव अधिकार आयोगबाट मानव अधिकार अधिकृत खिमलाल सुवेदीले समुदायको मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि राष्ट्रिय मानव अधिकार आयोग सदैव साथ र सहयोग रहेको भन्दै सम्पूर्ण मानव जातिको अधिकार बराबर भएको बताए।

मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्रले सबै मानव स्वतन्त्र रुपमा जन्मेको र सबैको मर्यादित जीवन जिउन पाउने अधिकार भएको उनको भनाइ छ। साथै उनले  स्थानिय तहमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको जोडीले बिना अवरोध अस्थायी विवाह दर्ता गराउन गृह मन्त्रालयले आवश्यक निर्देशन दिएको जानकारी गराए। र्‍याली कार्यक्रममा धन्यवाद ज्ञापन तथा समापन गर्दै मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले सहभागी सम्पूर्णलाई विशेष धन्यवाद दिदैं समुदायले विभिन्न किसिमको उत्सव मनाई रहँदा समलैंगिक दृश्यता दिवसले महत्वपूर्ण भुमिका खेलेको बताइन्।

उनले राष्ट्रिय मानव अधिकार आयोगले समुदायको विषयलाई गम्भीर रुपले लिएको भन्दै फरक यौनिकता भएका महिलाको मुद्दालाई महिला आन्दोलनले साथै राज्यले सम्बोधन गर्नुपर्ने बताइन्।

पोखरा महानगरपालिका, सामाजिक विकाश शाखा, राष्ट्रिय मानव अधिकार आयोग,पोखरा, नागरिक समाज, गोरेटो नेपाल, महिला मञ्च, वडा प्रहरी कार्यलय, बैदाम, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय लगायत स्थानीयको बाक्लो सहभागिता गरी ६३ जनाको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण मितिनी नेपालकी कार्यक्रम अधिकृत विमला गुरुङ्गले गरेकी थिइन्।

प्रकाशित: १४ वैशाख २०८१ २०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App