१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अर्गानिक चिया नै खोज्छन् व्यापारी


इलाम – जिल्लामा चिया टिपाइ चलिरहेका बेला अर्गानिक चिया उत्पादन गर्ने किसान र उद्यमीलाई बजारको माग धान्न गाहाे भइरहेको छ । गुणस्तरीय अर्गानिक चिया उत्पादन गर्ने उद्योगी र किसानलाई हरेक वर्ष उत्पादन थोरै तर माग बढी हुँदा मागअनुसार पुर्‍याउन समस्या हुने गरेको छ।

 रासायनिक मल र विषादीले मानवस्वास्थ्यमा पार्ने असरबारे चेतना बढेपछि उपभोक्ताले पनि अर्गानिक चियामै ध्यान दिन थालेका छन् । माग बढी हुने गरेकाले किसान र उद्यमी पनि अर्गानिक उत्पादनतिरै आकर्षित हुँदैछन् । खाद्यबाली, अन्न, तरकारीजस्तै जीउ तन्दुरुस्त र जाँगरिलो राख्न पिउने गरिएको चियाका उपभोक्तासमेत गाउँसम्म पुगेर अर्गानिक चिया नै खोज्न थालेको उद्यमी र किसानले बताएका छन्।
    देशमै अर्गानिक चिया उत्पादन हुन थालेको दशक मात्र बितेको छ । यो अवधिमा अपेक्षाकृत रूपमा अर्गानिक खेतीले ‘अभियान’को रूप लिन सकेको छैन । तर, मानवस्वास्थ्यका लागि अर्गानिक बाहेकका उत्पादन हानीकारक छन् भन्नेमा उपभोक्ता सचेत हुँदा अर्गानिक खेतीले एकातिर गति लिँदैछ, अर्कातिर यसको माग र बिक्री स्वदेश र विदेशमा पनि रातारात उच्च हुँदैछ।

 साखेजुङस्थित कञ्चनजंघा चिया प्रशोधन कारखानाकी सञ्चालिका मिलनकुमारी खत्रीले चियाको माग धान्न मुस्किल परेको बताइन् । ‘माग त ९ लाख किलोको छ तर मेरो उद्योगमा त्यसको एकतिहाई पनि उत्पादन हुँदैन,’ उनले भनिन्, ‘चियामा गुणस्तर कायम गर्न सक्ने हो भने यसको माग विश्वभरबाट आउँछ, विक्री हुन्छ ।’ नन्अर्गानिकभन्दा अर्गानिक चियाको माग विश्व बजारमा उच्च रहेको उद्योगी बताउँछन् । उनीहरूका अनुसार वैज्ञानिक रूपमा पनि अर्गानिक चिया स्वास्थ्यका लागि फाइदाकारी देखिएकाले उपभोक्ता र क्रेता यसप्रति आकर्षित भएका हुन्।

चिया (क्यामेलिया साइनेसिस) जंगलमा प्राकृतिक रूपमा उत्पादन भएको वनस्पति हो । चीनको जंगलमा  ५ हजार वर्षपहिले पत्ता लागेको मानिने क्यामेलिया साइनेसिसलाई सिचुआनकी राजकुमारीले तिब्बत पुर्‍याइन् । उनैले चीनको चिया पिउने संस्कार संसारका धेरै देशमा पु¥याएको इतिहास छ । चीनका तत्कालीन सम्राटहरूले विश्वका विभिन्न देशका उच्चपदस्थ अधिकारीहरूलाई चिनोका रूपमा चियाको बीउ र बिरुवा दिने गरेकाले संसारका चियाका पारखी बढेका हुन् । जिल्लाका अन्य उद्योगहरूमा पनि अर्गानिक चियाको माग निकै बढेको छ । यतिबेला चियाको फस्ट फ्लस (पहिलो टिपाइ) चलिरहेकाले यो चिया वर्षभरकै गुणस्तरीय मानिन्छ।

एन्टी अक्सिडेन्टको मात्रा प्रचुर हुने चिया मानवस्वास्थ्यका लागि फाइदाकारी पुष्टि भएपछि यसलाई किसानले फार्मिङ गर्न थालेका हुन् । चीनको सिचुआन विश्वविद्यालयमा चिनियाँ टी कल्चरको कोर्स पूरा गरेका चिया उद्योगी उदय चापागाईं भन्छन्, ‘अहिले नेपालमा खेती भएको चिया शतप्रतिशत अर्गानिक मानिदैन, शतप्रतिशत अर्गानिक चिया त जंगलबाट टिपेर ल्याइने मात्रै हो ।’ चापागाईंले चीन, ताइवान र बर्मामा अहिले पनि जंगली चिया पाइने गरेको सुनाए । भारत दार्जिलिङमा चिया खेती थालिएको ७ वर्षपछि नेपालमा सुरु भएको हो ।  १९२० सालमा जंगबहादुर राणाले चीनबाट कोसेलीका रूपमा ल्याएको चियाको बिरुवा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले इलाममा पहिलोपटक रोपेको इतिहास छ ।

इलामबाट विस्तार भएको चिनियाँ बीउको चिया अहिले पाँचथर, धनकुटा, तेह्रथुम, बाग्लुङलगायत धेरै जिल्लामा पुगिसकेको छ । तर, व्यावसायिक रूपमा चियाको खेती भने इलाम, पाँचथर, धनकुटालगायत जिल्लामा मात्रै छ । इलाम, पाँचथर र धनकुटामा अहिले अर्गानिक चिया खेती नै व्यावसायिक बनिसकेको छ । नेपालबाट बर्सेनि अढाई अर्ब रुपैयाँभन्दा बढीको तयारी चिया विदेश निर्यात भइरहेको चिया तथा कफी विकास बोर्डको तथ्यांक छ।

  इलामका २५ ठूला चिया प्रशोधन कारखानामध्ये सूर्याेदय नगरपालिकास्थित सुन्दरपानीमा रहेको गोर्खा टी स्टेट र साखेजुङस्थित हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिले अर्गानिक चिया उत्पादन गर्छन् । हिमालयनले वर्षको १ लाख २० हजार किलो, गोर्खाले ६८ हजार र पाँचथरको कञ्चनजंघा चिया प्रशोधन उद्योगले वर्षको ५० हजार किलो तयारी अर्गानिक चिया उत्पादन गर्दैछन्।

  माइपोखरी चिया प्रशोधन उद्योगका सरद सुब्बाले पनि अर्गानिक चियाको माग बढेको बताए । अहिले व्यापारीहरूले विदेशबाटै चिया अर्डर गरिरहेका छन् भने कतिपय व्यापारी उद्योगसम्मै आइपुगेका छन् । चिया किन्न आउने विदेशीले अर्काे सिजनसमेतलाई अर्डर गरेर जाने गरेको उनले बताए । ‘गतवर्ष आएका व्यापारीले नै यो वर्षलाई अर्डर दिएका हुन्छन् । तर, उनीहरूको मागअनुसार परिमाण पु¥याउनै सकिँदैन,’ उनले भने।

माइपोखरीस्थित सन्दफु, चमैतास्थित तीनजुरे र माइपोखरीको माइपोखरी चिया उद्योगमा उच्च गुणस्तरको अर्गानिक चिया उत्पादन भइरहेको छ । सन्दफु उद्योगको चिया गत वर्षदेखि अर्गानिक प्रमाणित भएको छ । यी उद्योगको चिया नेपालमात्र नभई उच्च मूल्यमा सोझै तेस्रो मुलुक निर्यात हुन्छ । २०५७ सालमा निजीकरण गरिएका इलाम र झापाका ७ सरकारी चिया बगानध्ये इलाम चिया बगानमा बर्सेनि ५ हजार किलो अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुन्छ । धनकुटामा पनि प्रमाणित अर्गानिक चिया उत्पादन हुन्छ।


 अहिले नेपालमा उत्पादन हुने सबै अर्गानिक चिया अर्थाेडक्स हो । नेपालमा अर्गानिक अर्थाेडक्स चियाका मुख्य छ प्रकार– ह्वाइट, ग्रिन, इमरल, स्पेसियालिटी, ब्ल्याक र ओलङ टी उत्पादन हुन्छन् । चिया प्राविधिकका अनुसार अर्थोडक्स चियामा पनि २८ प्रकारका उत्पादन प्रयोगमा छन् । तीमध्ये राम्रो गुणस्तरको एभी टु (आमवाणी) पी ३१२ (फोक्सिरिङ), गुम्ती, तक्दा ७८ टी ७८, फोक्सेरिङ १४०४, पी १२५८, बी १५७ लगायत जातको अधिक प्रयोग छ ।

अर्थाेडक्स चिया उमालेरभन्दा पानीमा भिजाएर, दूध–चिनी पनि नमिसाई पिउनु स्वास्थ्यका लागि फाइदाकारी हुने यसका प्रयोगकर्ताको अनुभव छ । अस्ट्रेलियास्थित नेसनल एसोसिएसन फर सस्टेनेबल एग्रिकल्चर (नासा), स्विट्जरल्यान्डस्थित इन्टरनेसनल मार्केटोलोजी अर्गनाइजेसन (आइएमओ) र जर्मनीको केरसजस्ता विश्वप्रसिद्ध आधिकारिक निकायले नेपाली चियालाई अर्गानिक प्रमाणित गरेका छन् । ठूला उद्योगबाहेक किसानले घर–घरमा खोलेका इलामका मात्रै १ दर्जनभन्दा बढी उद्योगमा अर्गानिक चिया उत्पादन भइरहेको छ।

यी उद्योगले उत्पादन गरेको तयारी चिया अर्गानिक प्रमाणित हुनुअघि नै भारत, जर्मनी, अमेरिका, चीन, अस्ट्रेलिया, बेलायत, जापान, चेक गणतन्त्र, स्लोभाकिया, फ्रान्सलगायत देशमा निर्यात  भइरहेको छ । सुब्बा भन्छन्, ‘मेरो उद्योगमा वर्षमा २ हजार किलो तयारी चिया उत्पादन हुन्छ तर माग चाहिँ २ लाख किलोको आइरहेको छ।’

 नयाँ बोटको हरियोपत्ती र साना किसानले कोठेबारीमा स्याहार पु¥याएको चिया निकै राम्रो गुणस्तरको हुने गरेकाले मूल्य पनि उच्च हुने गरेको व्यापारी बताउँछन् । ‘तेस्रो मुलुकका व्यापारीले उच्च गुणस्तरको अर्गानिक चिया जति मागिरहेका छन्, त्यति पु्‍र्‍याउन सकिएको छैन,’ काठमाडौंको ठमेलमा चिया पसल सञ्चालन गरिरहेका व्यापारी चिरन दाहाल भन्छन्, ‘विश्व बजारले तयारी चियाको गुणस्तर खोजेको छ, गुणस्तर खोजेपछि परिमाण पुर्‍याउन मुस्किल त हुने नै भयो ।’    

 

प्रकाशित: २४ वैशाख २०७५ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App