१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अब नेपालै नेपाल सन्दकपुर

तस्बिर : नागरिक

इलाम – जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण इलामकै अग्लो स्थान सन्दकपुरमा नेपाली बाटो भएर सवारी साधन पुग्न थालेका छन्। यसअघि भारतीय बाटो भएर मात्रै पुगिने ३ हजार ६ सय ३६ मिटर उचाईको सन्दकपुरमा नेपाली बाटो भएरै पुग्न पाउँदा पर्यटक हर्षित हुँदैछन्।

नेपाल, भारत र भुटानका हिमाल एकै स्थानबाट नजिकै देखिने सन्दकपुरमा बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्छ। तर, इलाम सदरमुकाम हुँदै नेपाली बाटो भएर त्यहाँ पुग्न ४ किलोमिटरभन्दा बढी भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता थियो। जिल्लाको माइमझुवा र माबु गाउँबाट सडक पु¥याइएपछि नेपाली सवारी साधन पर्यटक बोकेर सन्दकपुर पुग्न थालेका हुन्। ‘नेपाली पर्यटकहरू नेपालै नेपाल यहाँ आइपुग्दा निकै गद्गद् देखिन्छन्,’ सन्दकपुरस्थित शेर्पा च्यालेट होटलका सञ्चालक पेमाडन्डु शेर्पाले भने, ‘सडक आएपछि अन्तरिक पर्यटकको ओइरो लाग्न थालेको थियो। पुराना सवारी रोकिएर पो चौपट होलाजस्तो छ।’

यसअघि इलामबाट माबु हुँदै करिब ३५ किलोमिटरको बिखेभञ्ज्याङसम्म पुगेर भारतीय भूमि प्रवेश गरेपछि मात्रै सन्दकपुर पुग्न सकिन्थ्यो। अहिले बिखेदेखि सन्दकपुरसम्मको करिब ४ किलोमिटर कच्ची सडक बनेपछि पर्यटकलाई सहज भएको छ। भारतीय भूमि प्रयोग गर्नुपर्दा विशेषगरी नेपाली पर्यटकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अनावश्यक दुःख दिने गरेको गुनासो आउने गरेको थियो। तर, अब नेपाली भूमिबाटै सन्दकपुर पुग्न सकिने भएपछि पर्यटकले कुनै झन्झट बेहोर्नु नपर्ने भएको होटल व्यवसायी बताउँछन्।

नेपाली भूमिकै बाटो भएर सोमबार सन्दकपुर पुगेका ल्यान्डरोभर। सरकारले प्रतिबन्ध लगाएपनि त्यहाँसम्म पुग्ने विकल्प नभएपछि प्रतिनिधिसभा सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ती सवारी सन्दकपुर लगेका थिए।  

यसअघि पनि नेपाली भूमिबाट सन्दकपुरसम्म सडक ट्रयाक खुलाउने प्रयास भएपनि सफल हुन सकेको थिएन। सडक खुलेपछि हिउँदभर भने सवारी साधन चल्न सक्ने भएका छन्। तर, सरकारले २० वर्ष पुराना ल्यान्डरोभर गाडी चल्न प्रतिबन्ध लगाएपछि भने जिल्लाका सन्दकपुरसहित दर्जनौं पर्यटकीयस्थलसम्म पैदलै जानुपर्ने बाध्यता भएको छ। सन्दकपुरसम्म पुग्ने गरेका ल्यान्डरोभर चैत १ गतेदेखि नै प्रतिबन्ध लगाइएको र नयाँ गाडी त्यहाँसम्म अहिले पनि पुग्न नसक्ने भएकाले पर्यटकले सास्ती खेप्नुपर्ने देखिएको छ। ‘सन्दकपुरसम्म सडक पुग्यो भनेर खुसी मनाउन नपाउँदै सरकारले पुराना गाडी रोकेर यातायात सेवा शून्यमै झारिदिएको छ,’ स्थानीय अमृत राईले भने, ‘अब सन्दकपुर र आसपासको पर्यटनले गति लिने आशा थियो, ल्यान्डरोभर नै रोकिएपछि अब यहाँको पर्यटन ठप्प हुने भयो।’

सधैं ठण्डा र चिसो हावापानी हुने भारतीय सीमावर्ती सन्दकपुरमा भारतको बाटो भएर बर्सेनि लाखौं पर्यटक आउँछन्। नेपालपट्टि १–२ वटामात्रै होटल रहेपनि भारतपट्टि करिब दर्जन होटल छन्। भारतको बाटो भएर तेस्रो मुलुकका पर्यटकसमेत सन्दकपुरमा आउँछन्। स्थानीय भारतीय होटल व्यवसायीका अनुसार भारतबाट विश्वको सर्वाेच्च शिखर सगरमाथा देखिने एउटै मात्र स्थल सन्दकपुर भएकाले पनि भारतभरका पर्यटक यहाँ आउन रुचाउँछन्। भारतको जुनसुकै स्थानमा घुम्न आएका तेस्रो मुलुकका पर्यटक पनि सन्दकपुरको महत्व बुझेपछि यहाँ आउने चाहने गरेको व्यवसायीको भनाइ छ।

भारतले यहाँसम्म पर्यटक ल्याउन–लैजान तिनै २० वर्ष पुराना ल्यान्डरोभर गाडी प्रयोग गरिरहेको छ। तर, नेपालमा भने प्रदूषणको कारण देखाउँदै सरकारले यस्ता सवारी रोक लगाएपछि पर्यटनमा प्रत्यक्ष असर पुगेको व्यवसायी बताउँछन्। ‘सरकारले सहरी क्षेत्रलाई मात्र हेरेर गरेको पुराना सवारी रोक्ने निर्णयले इलाममात्र होइन, पूर्वी पहाडका दर्जनौं पर्यटकीयस्थल अब सुनसान भएका छन्,’ पूर्वेली जिप तथ ट्याक्सी व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बाले भने, ‘पुराना हुँदैमा कुनै सवारी साधन वातावरण प्रतिकूल हुँदैनन्, हचुवाका भरमा गरिएको निर्णयले करोडौंको पर्यटन बजारमा असर पु¥याएको छ।’ जिल्लाका सन्दकपुर, छिन्टापु, मानेभञ्ज्याङ, तुम्लिङ, कालपोखरी, गोर्खे, पाँचथरको फालोटलगायतका स्थानमा पर्यटक ल्याउन ल्यान्डरोभरले नै सघाएका थिए।

ल्यान्डरोभर गाडी एकैपटक रोक लगाउँदा इलाम मात्र होइन, पहाडी जिल्लाका गाउँको यातायात ठप्प हुने इलाम क्षेत्र नम्बर १ बाट विजयी प्रतिनिधिसभा सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताए। ‘सरकारले विशिष्ट समस्या बुझेर स्थानअनुसार निर्णय लिनुपर्छ, पुराना सवारी साधनको प्रदूषण जाँच गरेर कन्डिसनमा भएका सवारीलाई चल्न दिँदा केही बिग्रिने होइन,’ उनले भने, ‘मैले यसबारे पूर्वाधार तथा यातायातमन्त्रीसँग कुरा गरेको छु, दुर्गमका नागरिकको समस्या समाधान हुनेगरी सरकारले त्यसको व्यवस्थापन गर्नुपर्छ।’

सरकारले ल्यान्डरोभर चलाउन रोक लगाएपनि सन्दकपुर क्षेत्रको भारतीय सीमा निरीक्षण गर्न पुगेका पूर्वप्रधानमन्त्री खनालले अन्य कुनै सवारी साधन त्यहाँ पुग्न सम्भव नभएपछि सदरमुकामबाट ४ वटा ल्यान्डरोभर लिएर गएका थिए। ‘म यहाँ आउनै पर्ने थियो, अन्य सवारी आउने सम्भावना नभएकाले ल्यान्डरोभरमै आएको हुँ,’ सन्दकपुर नै पुगेका खनालले भने। उनले जैविक विविधता र सौन्दर्यले धनी सन्दकपुर देशकै उत्कृष्ट पर्यटकीयस्थल भएको भन्दै त्यसको विकासका लागि प्रस्ताव ल्याउन स्थानीय तहलाई आग्रह गरे। ‘सन्दकपुर सुन फल्ने डाँडो हो,’ खनालले स्थानीयसँग भने, ‘यो क्षेत्रको विकासका लागि के गर्न आवश्यक हुन्छ, स्थानीय तहले प्रस्ताव ल्याओस्, म पूर्ण रूपमा लाग्नेछु।’

प्रकाशित: ६ चैत्र २०७४ ०५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App