१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

हरियो चियापत्तीको मूल्य तोकिँदै

इलाम–    हरियो चिया पत्ती टिप्ने सिजन सुरु हुन २ महिना बाँकी रहँदा अर्गानिक उत्पादक चिया उद्योगले मूल्य निर्धारण गर्न थालेका छन् । पहाडी क्षेत्रमा नन्अर्गानिक चियाको मूल्यमा छोटो समयमै उतारचढाव आउने गरेपनि अर्गानिक उत्पादकले किसानलाई दिने हरियो पत्तीको मूल्य प्रायः उही दरमा हुन्छ ।

किसानलाई दिइने हरियो चियाको मूल्य तेस्रो मुलुकबाट आउने तयारी चियाको मागमा भर पर्ने उद्योगी बताउँछन् । तयारी चियाको मूल्य र परिमाण पहिल्यै निर्धारण गर्नसके वर्षभरकै हरियो चियाको मूल्य पनि करिब उस्तै रहने गरेको छ । तर, अर्गानिक चियाको बजार र माग बढी रहेपनि नन्अर्गानिक चियाको भने कम र अनिश्चितजस्तो हुनेगरेको छ ।

नेदरल्यान्डको मास इन्टरनेसनल कम्पनीले चिया खरिद सम्झौता गरेपछि फाकफोक–६ स्थित तीनजुरे सहकारी संस्थाले आउँदो सिजनका लागि हरियोपत्तीको मूल्य निर्धारण गरेको छ । गतवर्ष ६० रुपैयाँ प्रतिकिलोले हरियो चिया खरिद गरेको सहकारीले आउँदो सिजनका लागि प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरेको हो । संस्थाले १ पात १ सुइरो भएको हरियो पत्तीको भने अघिल्लो वर्षकै जस्तो प्रतिकिलो अढाई सय रुपैयाँ निर्धारण गरेको छ ।

संस्थाले सन् २०१६ को नोभेम्बरमा नेदरल्यान्डको यो कम्पनीसँग सम्झौता भएपछि संस्थाको बैठक बसेर आउँदो सिजनलाई नयाँ मूल्य कायम गरिएको संस्था अध्यक्ष माधव पौड्यालले बताए । जैविक तथा वातावरणमैत्री ढंगले यहाँका किसानले चिया उत्पादन गरिरहेकाले किसानको हरियो पत्तीको मूल्य पनि उच्च दिइएको उनको भनाइ छ ।   
‘हाम्रो सहकारीमा आबद्ध किसानको बारी र त्यहाँ उत्पादन भएको चियाको अर्गानिक प्रमाणीकरण गरिने हुँदा यहाँको चियाको माग विदेशमा राम्रो छ,’ संस्थाका सचिव सोम शर्माले भने, ‘यो वर्ष उत्पादन गरिएको ५ हजार किलो चिया विदेश पठाएका छौं । बाँकी केही चिया मात्र काठमाडौंको सो–रुममा पठायौं ।’ आफ्नै प्रशोधन कारखाना रहेको संस्थाले  ह्वाइट टी, ग्रिन टी, पल टी, ग्रिन पल, गोल्डेन टीलगायतका चिया उत्पादन गर्ने गरेको छ । यहाँको उत्पादन अमेरिका, जापान, नेदरल्यान्ड र चीन जाने गरेको शर्माले जानकारी दिए ।

२ सय १२ सेयर सदस्य रहेको सहकारीको ९५ लाख ८६ हजार रुपैयाँ लगानीमा स्थापना गरेको ५ सय किलो क्षमताको कारखानालाई यो वर्ष भने उन्नति समावेशी परियोजनाले क्षमता थप र अन्य कामका लागि अनुदान दिने भएको छ । परियोजनाअन्तर्गत संस्थाका सेयर सदस्यको ३३ प्रतिशत र परियोजनाको ६६ प्रतिशत सहभागिता रहने संस्थाका सचिव सोमनाथ शर्माले जानकारी दिए ।

शर्माका अनुसार परियोजनाको काम सुरु भएपछि अर्गानिक प्रमाणीकरण, गड्यौले मलको पिट निर्माण तथा उत्पादन, तयारी चियाको विविध प्रकार निर्माण र कारखानाको क्षमता विस्तारको कार्य गरिने शर्माले बताए । ‘अहिलेसम्म विभिन्न प्रकारका गुणस्तरीय तयारी चिया उत्पादन गर्ने क्रममा हामी धेरै अघि बढेका छौं,’ शर्माले भने, ‘हाम्रा लागि दुई मुख्य समस्या छन् । पहिलो, अर्गानिक प्रमाणीकरण खर्चालु र दोस्रो, श्रमिक अभाव ।’

गतवर्ष पहिलो टिपाइपछि सुरुको मूल्य आधामा झरेको थियो । किसानले फस्ट फ्लस (पहिलो टिपाइ)को हरियोपत्ती कारखानालाई प्रतिकिलो ४० देखि ४५ रुपैयाँसम्ममा बेचेका थिए । २ सातापछि त्यही पत्तीको मूल्य प्रतिकिलो २० देखि ३० रुपैयाँमा झरेको थियो । तर, अर्गानिक उत्पादक जस्बिरेस्थित जस्बिरे चिया प्रशोधन उद्योग, साखेजुङ गाउँको हिमालयन सांग्रिला टि प्रोड्युसर्स प्रालि र सूर्याेदय नगरपालिकाको गोर्खा टी स्टेटले भने प्रतिकिलो ५३ देखि ७० रुपैयाँ मूल्य कायमै राखेका थिए । ती उद्योगहरूले यो वर्षको मूल्य कायम गर्न बाँकी रहेपनि पोहोरकै हाराहारीमा रहने जनाएका छन् ।

केही वर्षयता पूर्णअर्गानिक तयारी चिया उत्पादन गरिरहेको जस्बिरे उद्योगका शरद सुब्बाले रासायनिक मल तथा विषादी प्रयोगले अन्तर्राष्ट्रिय बजार खस्किएपछि धेरै किसानले अर्गानिक उत्पादन गर्न थालेको बताए । इलाममा दक्ष प्राविधिकमा गनिएका सुब्बा अर्गानिक चिया आँखाले हेरैकै भरमा पनि चिन्न सकिने बताउँछन् ।

‘रासायनिक मल र विषादी हालेको हरियो मुना र अर्गानिक चियाको मुना आकाश–जमिनको फरक हुन्छ,’ उनले भने, ‘मल–विषादी लगाएको र नलगाएको किसानले ढाँटेपनि हामी ढाँटिँदैनौं । यी दुईमा धेरै फरक हुन्छ ।’ सुब्बाले आफ्नो कारखानामा आफूले भनेअनुसारको चिया ल्याउने किसानलाई २ पात १ सुइरो हरियो चियाको मूल्य प्रतिकिलो अढाई सय रुपैयाँ दिने गरेको बताए । सुब्बाले ३५ प्रकारको तयारी चिया उत्पादन गर्ने र वार्षिक २ हजार किलो चिया निर्यात गर्ने गरेको बताए ।

यो वर्षदेखि उन्नति परियोजनाले पनि चिया क्षेत्रमा ठूलो लगानी गरेकाले अर्गानिक उत्पादनमा थप टेवा पुग्ने केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहाल बताउँछन् । उन्नतिसँग काम गर्ने धेरै सहकारी र कारखानाले अबको चिया अर्गानिक गर्ने प्रतिबद्धता नै जनाएको दाहालले जानकारी दिए । ‘अब इलाममा अर्गानिक अभियान नै चल्छ र चलाउन जरुरी पनि भएको छ ।’ उनले भने, ‘अबको विकल्प अर्गानिक नगरिए चिया किसान उक्सन गाह्रो छ ।’

इलाममा अहिलेसम्म गोर्खा टी स्टेट, ग्रिन एन्ड स्पेस्यियालिटी, हिमालयन स्रांग्रिला, तीनजुरे र मिस्ट भ्यालीले अर्गानिक चिया उत्पादन गर्दै आएका छन् । विगत वर्षको तुलनामा रासायनिक मल र विषादी प्रयोग गर्ने किसान ५० प्रतिशतले घटेको केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले जानकारी दिए । राईले नेपालबाट वार्षिक करिब ४० लाख किलो तयारी चिया विदेश निर्यात हुने गरेको जानकारी दिए । त्यसमध्ये ९० प्रतिशत तयारी चिया भारत र १० प्रतिशत तेस्रो मुलुकमा निर्यात हुने गरेको केन्द्रीय सहकारी संघले जनाएको छ । कारखानाले हरियो पत्तीलाई २ श्रेणीमा गुणस्तर कायम गर्छन् ।

किसानले टिपेर कारखाना पु¥याएको सालाखाला हरियो पत्तीको ५० ग्राम तौल गरिन्छ । त्यसमध्ये २ पात १ सुइरो भएको पत्ती २५ ग्राम पुग्यो भने ‘ए’ र पुगेन भने सबै पत्तीलाई ‘बी’ श्रेणीमा राखिन्छ । पहिलो श्रेणीको पत्तीको मूल्य धेरै र दोस्रोको कम राखिन्छ । वर्षा लागेपछि हरियो पत्तीको मूल्य अझ घट्ने सम्भावना हुन्छ । पानी बढी हुने भएकाले हरियो चियामा त्यतिबेला गुणस्तर र मात्रा कम हुन्छ । जिल्लामा करिब २ दर्जन ठूला चिया कारखाना छन् ।  

सचिव शर्माका अनुसार अर्गानिक प्रमाणीकरण गर्न वार्षिक ६ लाख रुपैयाँ खर्च हुने गरेको छ । ‘भारतबाट अर्गानिक उत्पादन गरे–नगरेको निरीक्षण गराउन टी इन्स्पेक्टर ल्याउनुपर्छ । पटक–पटक आउने टी इन्स्पेक्टरको खर्च र ल्याब टेस्टको खर्च नै हामी किसानले धान्न मुस्किल छ,’ शर्माले भने, ‘यदि नेपालमै अर्गानिक प्रयोगशाला परीक्षण हुने हो भने किसानको लाखौं रुपैयाँ बच्छ । नेपालमै अर्गानिक परीक्षणको व्यवस्था हुनु हो भने नेपालमा उत्पादन भएको सबै चिया विदेश पठाउन मुस्किल छैन ।’

प्रकाशित: ११ माघ २०७३ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App