१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा एकै दिन तीन हजार ७ सय बढीको मृत्यु, तीन लाख ८२ हजार संक्रमित

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७ सय ८० जनाको मृत्यु भएको छ। बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड–१९ बाट कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको उल्लेख छ।

गत मे १ तारिखमा चार लाख कोभिड–१९ संक्रमित देखिए पनि पछिल्ला दुई दिनमा यो संख्यामा केही कमी आएको देखिएको केन्द्रीय परिवार कल्याण मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमितको संख्या तीन लाख ५७ हजार रहेको भेटिएको छ।  

सरकारी विवरणमा कोभिड–१९ बाट हाल ३४ लाख ८७ हजार व्यक्ति संक्रमित अवस्थामा रहेका छन्। साथै पछिल्लो २४ घण्टामा तीन लाख ३८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन्। योसहित भारतमा हालसम्म एक करोड ७० लाख व्यक्ति संक्रमणमुक्त भएका छन्।

कोरोनाभाइरस संक्रमणबाट हालसम्म भारतमा दुई लाख २६ हजार १ सय ८८ जनाको ज्यान गइसकेको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार देशभर २९ करोड ४८ लाख ५२ हजार नमूना परीक्षण गरिएको छ। मङ्गलबार एकै दिन १५ लाख ४१ हजार नमूना परीक्षण गरिएको पनि परिषदले जनाएको छ।

कोभिड–१९ संक्रमितको दैनिक मृत्यु बढेसँगै भारत सरकारले कोभिड–१९ को खोप अभियानलाई पनि तीव्र बनाएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म १६ करोड पाँच लाख व्यक्तिलाई खोप दिइसकिएको छ।  

कोभिड–१९ को तिब्र संक्रमण र मृत्युका कारण भारतको स्वास्थ्य पूर्वाधारमा ठूलो चाप देखिएको छ भने अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीहरुमाथि ठूलो चुनौती देखा परेको छ। नयाँ दिल्ली र मुम्बई जस्ता ठूला शहरमा कोभिड–१९ का बिरामीका लागि अति आवश्यक अक्सिजनको आपूर्ति सहज हुन नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतमै सर्वाधिक असर देखिएको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा झण्डै २० हजार नयाँ कोभिड संक्रमित देखिएका छन् भने ३ सय ३८ जनाको मृत्यु भएको छ। नयाँ दिल्लीमा हालसम्म कोभिड–१९ बाट सात हजार ७ सय ५२ जनाको ज्यान गइसकेको छ।  

प्रकाशित: २२ वैशाख २०७८ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App