१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दार्जिलिङमा फेरि आमहड्ताल

गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा प्रहरीले छापा मारेको विरोधमा कालेम्पोङमा प्रदर्शन गर्दै मोर्चासमर्थक । तस्बिर स्रोत : खबर म्यागजिन

इलाम – भारतको पश्चिम बंगालमा गोर्खाल्यान्डका लागि आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाको दार्जिलिङ पात्लेवासस्थित पार्टी कार्यालयमा बिहीबार प्रहरीले छापा मारेको छ । प्रहरीले हस्तक्षेप गरेको भन्दै मोर्चाले बिहीबार नै अनिश्चितकालका लागि दार्जिलिङसहित पहाडी क्षेत्रमा आमहड्ताल आह्वान गरेको छ ।

बन्द आह्वान गरिएपछि अहिले दार्जिलिङका बजार, पसल, विद्यालयलगायत बन्द छन् । बिहान विद्यालय गएका विद्यार्थी धमाधम घर फर्किरहेको स्थानीयले जनाएका छन् । ‘बिहान सहजै स्कुल गएका बालबालिका स्कुल बन्द भएपछि घर फर्किरहेको देखिन्छ,’ दार्जिलिङस्थित मोटर स्ट्यान्डनजिकैका सोनाम तामाङले सुनाए । उनका अनुसार बजार, यातायात, विद्यालय, पसललगायत सबै एकैछिनमा ठप्प भइसकेका छन् । 

बिहान करिब साढे १० बजेतिर प्रहरीले मोर्चाको कार्यालयमा लगाइएको ताला फोरेर छापा मार्दा केही ‘फायर आम्स’समेत बरामद भएको दाबी गरेको छ । प्रहरीका अनुसार कार्यालयबाट धनुकाण, हँसिया, बञ्चरो, फरुवालगायत बरामद गरिएको छ । तर, मोर्चाले भने त्यहाँ रहेको धनुकाण आदिवासी समुदायका विद्यार्थीलाई आफ्ना जातीय र परम्परागत सामग्रीबारे शिक्षा दिन ल्याइएको जनाएको छ । मोर्चाका सहसचिव विनय तामाङले प्रहरी दमनविरुद्ध अनिश्चितकालीन आामहड्ताल आह्वान गरेको जानकारी दिए । 

लगातारको बन्द, पक्राउ र झडपले दार्जिलिङको अवस्था पुनः तनावग्रस्त बनेको छ । प्रहरीले मोर्चाका कार्यकर्तालाई दार्जिलिङ, खर्साङलगायतका ठाउँबाट पक्राउ गरिरहेको छ भने प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनीसहितका घटना गराइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मोर्चा महासचिव रोशन गिरीले भने आफूहरूको आन्दोलन शान्तिपूर्ण र हिंसारहित हुने दाबी गरेका छन् ।  

चिया मजदुरको सेवा–सुविधा वृद्धि माग गर्दै जोइन्ट फोरमले आह्वान गरेको २ दिने आमहड्ताल बुधबार मात्रै सकिएको थियो । बिहीबार आकस्मिक रूपमा बन्द आह्वान गरिएपछि जनजीवन प्रभावित भएको हो । विद्यालयको पाठ्यक्रममा बंगाली भाषा अनिवार्य गर्ने पश्चिम बंगाल राज्य सरकारका शिक्षामन्त्री पार्थ चटर्जीको घोषणापछि करिब ३ सातायता दार्जिलिङलगायत पहाडी क्षेत्रको अवस्था तनावपूर्ण बनिरहेको छ । शिक्षामन्त्री चटर्जीको घोषणाको विरोध गर्दै मोर्चाले दार्जिलिङ, खर्साङ, कालिम्पोङ र मिरिक क्षेत्रका आन्दोलन चर्काइरहेको छ । मोर्चाको आन्दोलनलाई स्थानीय ५ दलले पनि साथ दिएका छन् । भाषाको विषयमा भइरहेको आन्दोलन पुनः ‘गोर्खाल्यान्ड’मै केन्द्रित भएर आन्दोलन चर्किएपछि दार्जिलिङसहित गोर्खालीहरू रहेको क्षेत्र अशान्त बनेको हो ।
    

 

प्रकाशित: १ असार २०७४ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App