१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा महिलालाई विश्वविद्यालय शिक्षा निषेध

अफगानिस्तानमा तालिबान सरकारले महिलालाई विश्वविद्यालय शिक्षामा पनि प्रतिबन्ध लगाएको छ। अफगानिस्तानका उच्च शिक्षामन्त्रीले यो निर्णय तत्काल कार्यान्वयन हुने जानकारी मंगलबार दिएका हुन्। तालिबान सरकारले गरेको यो निर्णयको विश्वव्यापी आलोचना भएको छ। यो निर्णयले अफगानिस्तानका युवामा निराशा छाएको छ। गत वर्ष तालिबान सरकारले महिलालाई माध्यमिक शिक्षामा प्रतिबन्ध लगाएको थियो।

महिलालाई विश्वविद्यालय शिक्षा निषेध गर्ने तालिबान सरकारको नयाँ निर्णयविरुद्ध बुधबार काबुलमा केही महिलाले प्रदर्शन गरे। ‘महिलालाई विश्वविद्यालय शिक्षा बन्द गर्ने सरकारको निर्णयविरुद्ध हामी सडकमा आएका छौं,’ प्रदर्शनमा सहभागी महिला एकता तथा समन्वय समूह अफगानिस्तानले भनेको छ। तालिबान सरकारका सुरक्षा अधिकारीहरूले प्रदर्शनमा उत्रिएका महिलालाई तत्कालै तितरबितर पारेका थिए।

संयुक्त राष्ट्रसंघ र कतिपय राष्ट्रले तालिबान सरकारको पछिल्लो यो निर्णयको आलोचना गरेका छन्। अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका विशेष दूतले महिलालाई शिक्षामा बन्देज लगाउनुले उनीहरूको आधारभूत मानवअधिकार हनन भएको प्रतिक्रिया दिएका छन्। अमेरिकाका सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्कनले अफगानिस्तान अन्तर्राष्ट्रिय समुदायको वैध सदस्य हुन नसक्ने बताए। ‘आधा जनसंख्यालाई पछाडि पारेर कुनै पनि देश अगाडि बढ्न सक्दैन,’ उनले भनेका छन्। विश्वविद्यालयमा अध्ययनरत महिला विद्यार्थीले पनि यो निर्णयको चर्को आलोचना गरेका छन्। ‘इस्लाम धर्म र अल्लाहले दिएको अधिकारलाई तालिबान सरकारले खोसेको छ,’ एक महिला विद्यार्थीले बिबिसीसँग भनिन्।

पश्चिमी देशहरूले अफगानिस्तानको तालिबान सरकारले अन्तर्राष्ट्रिय मान्यता पाउन महिला शिक्षालाई सुनिश्चित गर्नुपर्ने बताउँदै आएका छन्। विशेषगरी तालिवानका नेता हिबातुल्ला अखुन्जाडा र उनका समर्थक महिलालाई आधुनिक शिक्षा दिन नहुने पक्षमा देखिएका छन्।

अफगानिस्तानको शिक्षा मन्त्रालयले विश्वविद्यालयको पाठ्यक्रम र वातावरण सुधार गरेपछि महिलालाई पुनः पढ्न अनुमति दिइने र यो विषयमा सर्वसाधारण चिन्तित हुनुनपर्र्ने जनाएको छ। गत नोभेम्बरमा तालिवान सरकारले महिलालाई सार्वजनिक पार्क, जिम र स्नानगृह प्रवेशमा बन्देज लगाएको थियो। अमेरिकाको एक विश्वविद्यालयमा उपप्राध्यापक समेत रहेकी महिला अधिकारकर्मी हुमैरा क्वादेरीले अफगानिस्तानमा तालिवान सरकारले महिलालाई पिँजडामा राख्न चाहेको प्रतिक्रिया दिएकी छन्। बिबिसी

प्रकाशित: ७ पुस २०७९ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App