१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

संक्रमित घरघरमा बस्दा आइसोलेसन प्रयोगबिहिन

जुम्लामा कोरोना संक्रमित होमआइसोलेसनका नाममा घरमै बस्न थालेपछि स्थानीयतहमा बनेका आइसोलेसन प्रयोगबिहिन बनेका छन्। आइसोलेसन खाली छन्। संक्रमित घरमा छन्। न त संक्रमित सुरक्षित छन् न त आइसोलेसनको प्रयोग भएको छ, स्थानीय जीवनबहादुर खत्रीले भने,‘तत्काल संक्रमित सबै आइसोलेसनमा लैजाने वातावरण सिर्जना हुनुपर्छ। नत्र यहाँका गाउँबस्ती कोरोनाका बस्ती हुनेछ। ’

उनले स्थानीयतह कोरोना संक्रमितको व्यवस्थापन गर्न पन्छिएको  आरोप लगाए । उनले थपे,‘कोरोना संक्रमणका कारण दिनप्रतिदिन ज्यान गुमाउनको संख्या बढिरहेको छ । तर जुम्लाका संक्रमित घरपरिवार सँगै बसिरहेका छन् । गाउँमा घुमफिर गरिररहेका छन, यो चरम लापरबाही हो । संक्रमितलाई घरमा नबस्न र घरपरिवारलाई संक्रमित घरमा नबसाल्न सचेत गर्नु पर्ने अहिलेको अपरिहार्यता हो ।’

जुम्लाको गुठिचौर र पातारासी गाउँपालिकामा ५०/५० बेडका आइसोलेसन सेन्टर छन् । त्यहाँ संक्रमितलाई आवश्यक पर्ने सबै व्यवस्थापन गरिएको छ । तर संक्रमित घरघरमामा  छन् । आइसोलेसन प्रयोगविहिन अवस्थामा रहेका छन् ।  

गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी अक्सिजन सहितको कोभिड अस्पताल र स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारको आइसोलेसन बेड तयार भइसकेको बताउँछन।  तर संक्रमित नै आइसोलेसनमा बस्न नमानेको उनको गुनासो छ। हामीले कोरोना संक्रमितलाई केन्द्रमा राखेर आइसोलेसन तयार गरिराखेका छौँ । उनले भने,‘संक्रमित आइसोलेसनमा बस्न मान्दैनन्। सबै होमआइसोलेसनमै बसेका छन्। होम आइसोलेसनबाट संक्रमण फैलने खतरा बढेकोले अब देखिने संक्रमित सबै आइसोलेसनमा ल्याउने तयारी भइराखेको छ। ’

उनले कोरोना पोजेटिभ रिपोर्ट नआउँदै लक्षण देखिएको खण्डमा सिधै आइसोलेसनमा आउनको लागि आग्रह गरे । उनी भन्छन्, संक्रमित आइसोलेसनमा बसिदिनु पर्‍यो। संक्रमितको उपचार, निगरानी गर्ने कार्य स्थानीय सरकारले गर्छ। गाउँमा बसेर जोखिम न फैलाइदिनको लागि सुझाव दिइरहेका छौँ।’ गुठिचौरमा हाल सम्म १७ जना संक्रमित भएकोमा सबै घरमै छन्।  

पातारासी गाउँपालिकामा पनि ५० बेडको आइसोलेसन तयारी अवस्थामा छ। आइसोलेसनमा चाहिने आवश्यक सामाग्री,जनशक्ति परिचालन गरिएको छ । तर संक्रमित आइसोलेसनमा आउन मान्दैनन् । बिडम्वना आइसोलेसनको प्रयोग हुन सकिरहेको छैन्।  

समाजशास्त्री डोरबहादुर बिष्टले बनाएको कर्णाली इन्ष्टिच्युडमा कोभिड अस्पताल र आइसोलेसन सँगै बनेका छन् ।  एकान्त भएकोले संक्रमित र संक्रमितको उपचार सहज हुने गरी एउटै भवनमा ५ बेडको कोभिड अस्पताल र आइसोलेसन बनाएको गाउँपालिकाले जनाएको छ। तर संक्रमित आइसोलेसनमा आउन मानिरहेका छैनन्।  

एन्टीजेन र पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएका संक्रमित सामान्य रुघाखोकी भएको भन्दै आइसोलेसनमा आउन अटेर गर्छन् । गाउँपालिका अध्यक्ष लछिराम बोहोरा स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनुसार बनेको आइसोलेसन र कोभिड अस्पतालमा संक्रमित नभएको बताउँछन् । हाल सम्म गाउँपालिकाभरि ३६ जना संक्रमित छन्। कोही पनि आइसोलेसनमा बसेका छैनन् । सबै होमआइसोलेसनका नाममा घरमै बस्ने गरेको उनी बताउँछन्।    

उनले भने,‘संक्रमित सामान्य रुघाखोकी भएको भन्दै आइसोलेसनमा आउन मान्दैनन् । अब अस्पतालको रिर्पोटअनुसार संक्रमित देखिएका सबैलाई आइसोलेसनमा सम्झाइबुझाई गरेर भएपनि राख्छौँ । लक्षण देखिएका बिरामीको कोभिड अस्पतालमा उपचार गराउँछौँ । ’ कोरोना विरुद्धको सचेतना अभियानलाई पहिलो चरणमा गाउँबस्तीमा लगिएको बताउँदै अब गाउँपालिकाभरि मेडिकल मार्च सञ्चालन गर्ने तयारी भइरहेको बताए ।  

आइसोलेसन र कोभिड अस्पताल अनुगमनका क्रममा गुठिचौर र पातारासी गाउँपालिकामा पुगेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बनेका आइसोलेसन प्रयोगमा आउन नसकेको बताउँछन ।  गुठिचौर गाउँपालिकामा रहेको कोभिड अस्पतालमा अक्सिजन सहितको व्यवस्था गरिएको छ । पातारासीमा कोभिड अस्पताल सञ्चालनमा छ । तर अहिले सम्म संक्रमित भर्ना नभएको र अक्सिजन लगाउनु नपरेको स्थानीयतहको भनाई छ।  उनले भने,‘आइसोलेसन बनेका छन् । प्रयोगमा आउन सकेको छैनन् । अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा छन् । बिरामी भर्ना गरेर उपचार गर्नु परेको पाइएन । ’ उनले गाउँगाउँमा कोभिड विरुद्धको सचेतना फैलाएर संक्रमितलाई आइसोलेसनमा बस्ने वातावरण सिर्जना गर्ने कार्य गर्न आग्रह गरे । गुठिचौर गाउँपालिकाले १० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएकोछ । ५ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ ।२५ वटा सिलिण्डर खरिद गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।  

अनुगमन टोलीले संक्रमित घरमा बस्ने र आइसोलेसन खाली हुने अवस्था आउन नदिनको लागि स्थानीय सरकार जिम्मेवार हुनु हुनु पर्नेमा जोड दिएको थियो । कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दोस्रो चरणको कोरोना घातक भएको भन्दै उच्च सतर्कता अपनाउनको लागि आग्रह गरे ।

उनले भने,‘कोरोना संक्रमण दर बढिरहेको छ । दैनिक दिन मृतकको संख्या बढिरहेको छ । स्थानीय सरकार चनाखो बन्दै साधन स्रोतको व्यापक परिचालन र प्रयोग गरेर संक्रमण फैलन नदिनका लागि सावधानी अपनाऔँ । ’ स्थानीयतहमा भइरहेको तयारी सन्तोषजनक रहेको बताउँदै मन्त्री भण्डारी संक्रमित होमआइसोलेसनका नाममा घरमा बस्ने कार्यलाई निरुत्साहित गर्नुपर्ने बताउँछन् ।  

नेपाली सेवाका सहायकरथी बाहिनीपति यमबहादुर सापकोटा तयारी अवस्थामा रहेको आइसोलेसन खाली गरेर संक्रमित घरमा बस्नु राम्रो नभएको बताउँछन् ।  उनले भने,‘स्थानीय स्तरमा जनचेतनाका हरेक उपाय अबलम्वन गरेर भएपनि संक्रमितलाई आइसोलेसनमा राख्नु र कोभिड अस्पतालबाट चिकित्सकीय सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता छ।’ उनले कोभिड रोकथाम तथा नियन्त्रणका लागि सेनाले गर्नु पर्ने कार्य दत्तचित्त भएर गर्ने प्रतिबद्धता जाहेर गरे । कोरोना सामुहिक समस्या हो।  यो सामुहिक प्रयासले मात्र रोकथाम तथा नियन्त्रण गर्न सकिने अवस्था छ । उनले भने,‘कोरोना विरुद्धको अभियानमा हातेमालो गरेर कोरोना विरुद्धको लडाइ जित्न आ आफ्नो ठाउँबाट जुटौँ । ’

पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी नरेश भण्डारीले आइसोलेसन खाली गरेर संक्रमित घरमा बस्नु सान्दर्भिक नभएको बताए । उनले भने,‘संक्रमित घर बस्ने कुरा कुनै पनि हालतमा ठिक होइन । जसरी पनि संक्रमित आइसोलेसनमा वस्ने अवस्था बनाउनुस। अनि मात्र गाउँ, टोल, समाज सुरक्षित हुनेछ । ’

कर्णाली प्रदेश जुम्ला (ख) का सांसद पदमबहादुर महत, नेपाली सेना श्री नम्बर २४ बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटा,प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा,सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापा,नन्दबक्स गणका गणपति दिवाकर रायमाझी, राष्ट्यि अनुसन्धान प्रहरीका प्रमुख लगायतको टोली आइसोलेसनको अवस्था बुझ्न स्थानीयतहमा पुगेको थियो ।    

प्रकाशित: १० जेष्ठ २०७८ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App