१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालमा बिचौलिया: निःशुल्क उपचारका नाममा पैसा असुल्ने पक्राउ

सासु बिरमी बुढाको उपचारका लागि भेरी अस्पताल नेपालगन्ज आएका दाङका अर्जुन सिजाली मगरको भेट दुई दिनअघि नेपालगन्ज राँझा घर बताउने पदमे गहतराजसँग भयो।

गहतराजले अप्ठ्यारोमा परेका र आर्थिक रूपले कमजोर भएका बिरामीलाई आफूले अस्पतालमा बसेर निःशुल्क रूपमा उपचार कार्यमा सहयोग गर्दै आएको कुरा अर्जुनलाई बताए। त्यसपछि अर्जुनले गहतराजको सहयोग लिने मनसाय बनाए।

अस्पताल प्रशासनसँग कुरा गरेर आफूले औषधी उपचार सबै निःशुल्क गराइदिने भन्दै गहतराजले अर्जुनसँग ९ हजार रुपैयाँ लिए। अर्जुनले जब पैसा दिए, त्यसपछि गहतराजको गतिविधि शङ्कास्पद देखियो। आफूले पैसा दिएको कुरा अर्जुनले अस्पतालका कर्मचारीलाई जानकारी गराए। त्यसपछि खुल्यो, वास्तविक रहस्य।

अस्पतालका सुरक्षा गार्डले गहतराजलाई मंगलबार दिउँसो नियन्त्रणमा लिए। दैलेख, रानीवन स्थायी घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ राँझामा बस्दै आएका गहतराजले विगत ३ वर्षदेखि भेरी अस्पतालमा बसेर बिचौलियाको काम गर्दै आएको तथ्य खुल्यो। अस्पताल प्रशासनको फन्दामा परेपछि गहतराजले गल्ती स्वीकार गर्दै अर्जुनसँग लिएको पैसा फिर्ता गरे र अबदेखि अस्पतालमा आएर बिचौलियाको काम नगर्ने कुरा लिखित रूपमा प्रतिबद्धता जनाएर छुटेका छन्।

अस्पताल परिसरमा भेटिएका पीडित अर्जुनले भने, ‘मेरो सासू आमाको हात भाँचिएको थियो, भेरी अस्पताल लिएर आएको थिए, उपचार काम सबै निःशुल्क गराइदिन्छु भनेर मसँग त्यो दाइ(गहतराज)ले ९ हजार रुपैयाँ लिए, सबै निःशुल्क गराइदिन्छु, म यही अस्पतालमा खटिएको मान्छे हुँ भनेको हुँदा मैले ढुक्क भएर पैसा दिएँ, पैसा लिइसकेपछि जब मलाई शङ्का लाग्यो, त्यसपछि मैले जानकारी गराएको हुँ।’

भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सहयोग गर्ने नाममा पैसा असुल्ने बिचौलियाको बिगबिगी नै बढेको छ। गाउँबाट आएका सोझा सिधा सर्वसाधारणलाई निःशुल्क उपचारको व्यवस्था गरिदिने भन्दै बिचौलियाले उनीहरूबाट पैसा असुल्ने गरेको गुनासो बढिरहेको छ। अस्पताल परिसरबाटै मंगलबार गहतराज रंगे हात पक्राउ परेपछि यसको पुष्टि भएको हो।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले अस्पताल परिसरमा बिचौलियाले बिरामीबाट पैसा असुल गरेको विषय सुनिँदै आएको अवस्थामा गहतराजलाई समात्न सफल भएको बताए।

‘बिरामीलाई निःशुल्क रूपमा सेवा, सुविधा दिलाउँछु भन्दै बिरामीलाई ललाई फकाई गरेर अस्पतालबाट लक्षित वर्गलाई दिने सुविधा बिरामीलाई उपलब्ध गराउने र त्यही बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराए बापत पैसा असुल्ने व्यक्तिलाई पक्राउ गरेका हौँ,’ उनले भने।

अस्पताल प्रशासनले केही दिन देखी बिचौलियाको गतिविधिलाई नजिकबाट नियाल्दै आएको अवस्थामा फेला पारिएको डा. रायमाझीले सुनाए। गहतराज आफ्नो कार्यकक्षमा पटक पटक बिरामीको निःशुल्क उपचारका सिफारिस पत्र लिएर आउने गरेको स्मरण गरे।

बिरामीका आफन्तबाट असुल गरिएको रकम गहतराजबाट फिर्ता गराइएको र अस्पताल परिसरमा अन्य बिचौलियाको पनि विशेष निगरानी बढाइएको उनले बताए। पक्राउ परेका गहतराजले आफूलाई नेकपा माओवादी केन्द्रले अस्पतालमा काम गर्न खटाएको बताए। ‘भेरी अस्पतालमा २÷३ वर्षदेखि पार्टीबाट खटिएर काम गरेको हुँ,’ उनले भने।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सहसचिव समेत रहेका नेता अकलबहादुर बमले पैसा असुलेर काम गर्नु भनी आफ्नो पार्टीले कसैलाई पनि खटाउन नसक्ने बताए।

‘जनताको काममा सहजीकरण गरिदिन पार्टीले खटाउन सक्ला, तर कसैसँग पैसा लिएर काम गर्न हाम्रो पार्टीले खटाउन सक्दैन, कुनै पनि पार्टीको नीति यस्तो हुँदैन,’ उनले भने। 

प्रकाशित: २५ पुस २०८० ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App