१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डेंगु बिरामीको चाप बढेपछि वीपी प्रतिष्ठानमा छुट्टै क्लिनिक संचालन

वीपी प्रतिष्ठानले सञ्चालनमा ल्याएको डेंगु क्लिनिक। तस्बिर: नागरिक

डेंगु संक्रमण फैलिएर बिरामीको संख्या बढेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याइएको छ।

प्रतिष्ठानका अनुसार ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने जस्ता लक्षणका बिरामीहरु इर्मजेन्सीमा नै धेरै संख्यामा आउन थालेपछि छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याइएको हो।

यसले इर्मजेन्सीमा विरामीको चाप कम भएको छ भने उपचार सेवा प्रवाह पनि छिटोछरितो र प्रभावकारी भएको अस्पताल प्रशासनले जनाएको छ। गएको शुक्रबार (असार २९)देखि प्रतिष्ठानको जिओपिडी भवन अघि टेण्ट राखेर डेंगु क्लिनिक सञ्चालनमा आएको हो। धरान उपमहानगरपालिकासँग सहकार्य गरिएको डेपुटी अस्पताल निर्देशक डा.इन्द्र लिम्बुले जानकारी दिए।

डेंगु क्लिनिकको लागि प्रतिष्ठानले २ वटा मेडिकल टिम बनाएको छ। दुवै टिममा ३÷३ जना जुनियर रेसिडेन्ट डाक्टरहरु छन्। पहिला एउटा टिम (ए) ले क्लिनिकमा  बिरामीको स्क्रिनिङ गर्नेछ। डेंगुको रिपोर्ट पोजेटिभ आएमा र अवस्था जटिल देखिएमा टिम ए ले भर्ना गर्न इर्मजेन्सी पठाउछ। इर्मजेन्सीमा पनि डेंगुकै लागि डेडिकेट टिम (बि) राखिएको छ। उक्त टोलीले ती  बिरामीलाई रिसिभ गरेर थप उपचार गर्ने अस्पताल डेपुटी निर्देशक डा.लिम्बुले बताए। ‘इर्मजेन्सीमा २ घण्टामा ३० जनासम्म उच्च ज्वरो, वमिटिङ र जीउ दुख्ने विरामीहरु आएको रेकर्ड छ। यसले अन्य गम्भीर प्रकृतिका  बिरामीको उपचारमा असर पर्ने भएकोले डेंगुको छुट्टै क्लिनिक सञ्चालनमा ल्याएका हौं,’डा. लिम्बुले भने।

उक्त क्लिनिकमा प्रतिष्ठानबाट चिकित्सक, नर्स, पारामेडिक्स लगायत जनशक्ति व्यवस्था गरिएको छ। धरान उपमहानगरपालिकाले ५ सय थान डेंगु परीक्षण किट दिएको छ भने उपचारका लागि आउने सर्वसाधारणका लागि टेन्ट, कुर्सीको व्यवस्था गरिदिएको प्रतिष्ठानका सहायक प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिए। डेंगु क्लिनिक सातै दिनसम्म संचालनमा रहनेछ। क्लिनिक आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म हुनेछ। क्लिनिकमा आउने  बिरामीहरुका लागि डेंगुको परिक्षण निःशुल्क रुपमा गरिने व्यवस्था गरिएको छ।

प्रवक्ता डा.पोखरेलका अनुसार असार २९ गते देखि ३१ गतेसम्म उक्त क्लिनिकमा १२१ जनाको परिक्षण गरिएको थियो। ती मध्ये ९६ जना (७९.३५ प्रतिशत) मा डेंगु संक्रमण देखिएको छ। उनीहरुबालकदेखि वृद्धसम्म सबै उमेर समुहका  बिरामीहरु र केही गर्भवती महिलाहरु पनि रहेका छन्। परीक्षणमा धरानको १५, १७ र ११ नम्बर वडाबाट बढि संक्रमितहरु देखिएको छ।

डेंगुका बिरामीहरुको निःशुल्क परीक्षण गर्न थप किटका लागि उपमहानगरपालिका, प्रदेश स्वास्थ्य मन्त्रालय, संघीय स्वास्थ्य मन्त्रालयहरुसँग पहल गरिएको प्रतिष्ठालने जनाएको छ। उपमहानगरपालिकाबाट थप २ सय थान तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य मन्त्रालाय, काठमाडौंबाट २ हजार थान डेंगु परिक्षण किट उपलब्ध गराउने आश्वासन प्राप्त भएको पनि प्रतिष्ठानले जनाएको छ। धरानमा करिब २ महिनायता डेंगुको प्रकोप फैलिएको छ। एक जना महिलाको ज्यानसमेत गइसकेको छ। स्थानीय सरकार, वडा कार्यालय तथा जनप्रतिनिधिहरुले डेंगु नियन्त्रणको लागि प्रभावकारी कदम नचालेको भन्दै नगरबासीहरुमा असन्तुष्टी बढेको छ।  

प्रकाशित: २ श्रावण २०८० ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App