६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

सकसमा चाम्लिङ भाषाको पठन–पाठन

चाम्लिङ भाषाको पठन–पाठन सञ्चालन गर्दै आएको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका विद्यालयले प्रोत्साहन भत्ता तथा ढुवानी खर्च कतौटी भएको गुनासो गरेका छन् । 

२०६५ सालदेखि एक विषय चाम्लिङ राई भाषामा पठन–पाठन सञ्चालन गर्दै आएको सात विद्यालयले प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च कटौती भएको गुनासो गरेका हुन् । चाम्लिङ भाषा पढाउने शिक्षकले पाउने प्रोत्साहन भत्ता र चाम्लिङ भाषाकै पाठ्यपुस्तक ढुवानीका लागि प्राप्त हुँदैआएको सहयोग आर्थिक वर्ष २०७६/०७७ देखि कटौती भएको बुलापन्थे माबिमा चाम्लिङ भाषा अध्यापन गराइरहेका शिक्षक रकम रोदुङले बताए ।  

स्थानीय तहको निर्वाचन अगाडि गाबिसमार्फत तथा स्थानीय तह कार्यान्वयनमा आएपछि वडा कार्यालयमार्फत आइहेको सहयोग गत वर्षदेखि नआएको विद्यालयले जनाएको छ । धितुङमा बुलापन्थे माबिमा कक्षा ५ सम्म, सुर्यज्योती आविमा कक्षा ५ सम्म, जनचेतना प्राविमा कक्षा ५ सम्म, सर्वावती प्राबिमा कक्षा ५ सम्म, दलित जनजारण प्राबिमा कक्षा ५ सम्म, जनकल्या प्राबि कल्चुडेमा कक्षा ५ सम्म, सर्वावती प्राबिमा कक्षा ५ सम्म र पारुहाङशरण प्राबिमा कक्षा ३ सम्म एक विषय चाम्लिङ भाषामा पठनपाठन हुँदै आएको छ । सर्वावती प्राबिमा चाम्लिङ भाषीले मात्र नभएर सबै जातजातीका विद्यार्थीले चाम्लिङ भाषाकै कोर्स अध्ययन गरिरहेका छन् । ‘प्रोत्साहन भत्ता नाम मात्रको थियो, पुस्तक ढुवानी पनि एक जनालाई गाडीभाडा बराबर मात्र थियो,’ शिक्षक रोदुङले भने, ‘गत वर्षदेखि त्यो पनि प्राप्त हुन छाडेको छ । यस पल्टदेखि पुःन निरन्तरता पाउने कुरा आएको छ ।’  

चाम्लिङ राईको बाहुल्यता भएको धितुङमा चाम्लिङ भाषाको संरक्षण र संवद्र्धनका लागि तत्कालिन गाबिसमार्फत शिक्षकलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च उपलव्ध गराउनेगरी चाम्लिङ भाषामा पठन–पाठन सुरु गरिएको थियो । शिक्षकको सरुवा हुँदा सुर्यज्योती आविमा दुई÷तीन वर्ष चाम्लिङ भाषाको पठन–पाठन अवरुद्ध नै भएको थियो । हाल भने सो विद्यालयमा पनि चाम्लिङ भाषाको पठन–पाठन निरन्तर भइरहेको छ । चाम्लिङ राई भाषा पढाउने शिक्षकका लागि स्थानीय तह कार्यान्वयनमा आउन अगाडि एक आर्थिक वर्ष तत्कालिन शिक्षक खम्बराज राई (हाल प्रमुख प्रशासकीय अधिकृत रौतामाई गाउँपालिका, उदयपुर)को पहलमा किरात राई यायोक्खा प्रारम्भिक कमिटिमार्फत एक लाख बजेट व्यवस्था गरिएको थियो । धितुङमा चाम्लिङ राई भाषा पढाउने शिक्षकको प्रोत्साहनका लागि विनियोजन भएको त्यो नै सबैभन्दा ठूलो रकम थियो ।  

हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न भाषाभाषीको प्रोत्साहनमा नीति तथा कार्यक्रम बनाएको भए पनि हालसम्म कुनै पनि विद्यालय भाषिक पठन–पाठनका लागि सहयोग माग्न नआएको मेयर इवन राईले बताए । 

प्रकाशित: १ असार २०७७ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App