७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

अन्नपूर्ण केवलकारको निःशुल्क बस सेवा

अन्नपूर्ण केवलकारले निःशुल्क बस सेवा सुरु गरेको छ। सेदीस्थित केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्ने यात्रुलाई सहजताका लागि निःशुल्क सटल बस सुरु गरेको कम्पनीले बताएको छ।

अन्नपूर्ण केवलकारका महाप्रबन्धक दिनेश पौड्यालका अनुसार बिहान साढे चारबजेदेखि यो बसको सेवा सुरु हुनेछ। पर्यटकीय क्षेत्र लेकसाइडको प्रवेश बिन्दुमा पर्ने फिस्टेल गेटबाट बिहानी सेवा सुरु हुने पौड्यालले बताए।

‘सराङकोट पुगेर सूर्याेदय हेर्न चाहने यात्रुका लागि हामीले बिहानी बससेवा सुरु गरेका हौ’, उनले भने–‘पहिलो समूह बिहान पाँचबजे नै स्टेशन आइपुग्छ। यात्रुले केवलकार चढेर सूर्याेदय हेर्न सराङकोट उक्लिन सक्छन्।’ सबै यात्रुसँग आफ्नो सवारीसाधन नहुने र बिहानै सराङकोट पुग्न चाहने यात्रुको सहजताका लागि यो सेवा दिएको उनले बताए।

विभिन्न होटलमा पाहुना बस्ने भएकोले पनि उनीहरूलाई अझ सहज हुने उनले बताए। पौड्यालका अनुसार दिउँसो भने यो बस सहर घुमिरहन्छ। सहरका मुख्य चोकचोकबाट केवलकार चढ्न चाहने जो कोही यात्रु लिएर बस स्टेशन पुग्नेछ।

‘हामीले केवलकारका यात्रु मात्र बोक्ने हो। सहरबाट आउजाउमा सहज हुने गरी २५ सिट क्षमताको बस सञ्चालन गरिरहेका छौ’, उनले भने- ‘केवलकारबाट ओर्लेका यात्रुलाई पनि त्यही बसले सम्बन्धित ठाउँसम्म पुर्‍याउनेछ।’ दिउँसो भने चारबजेसम्म यात्रुलाई विभिन्न ठाउँबाट चढाउने उनले बताए।

‘अन्नपूर्ण केवलकारको निःशुल्क बस चढ्न भनेर सेवा दिएका छौं। आफ्नो सवारी नहुने र सार्वजनिक सवारी चढ्न अप्ठेरो पर्ने अवस्थामा यो बस सेवाले सहज हुनेछ’, उनले भने- ‘स्थानीय यात्रुलाई यसले बढी सजिलो बनाउँछ। यसले केवलकार चढ्न आउने यात्रुको संख्या बढाउने अपेक्षा छ।’

त्यसबाहेक १० जना भन्दा बढी यात्रु कुनै ठाउँमा भएमा पनि उनीहरूको जानकारीको आधारमा लिन र पुर्‍याउन जाने उनले बताए। ‘कम्तिमा १० जना यात्रु रहेको थाहा पाएमा हामी आफैं लिन र पुर्‍याउन जान्छौं। त्यसले गर्दा यात्रुलाई आउजाउमा सहज हुनेछ’, उनले भने। अहिले बिहानै सराङकोट पुग्न चाहने यात्रुले महँगो शुल्क तिर्दै ट्याक्सी चढेर केवलकार स्टेशन पुग्ने गरेकोमा अब सहज हुने उनले बताए।

अहिले केवलकार बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने गरेको छ। यो केवलकारमा यात्रा गर्दा आन्तरिक यात्रुले प्रतिव्यक्ति सातसय रूपैयाँ र भारतीय पाहुनाले आठ सय रूपैयाँ तिर्नुपर्छ। पोखरामा अन्नपूर्ण केवलकार कम्पनीले सेदी–सराङकोट २.५ किलोमिटर लामो केवलकार निर्माण गरेर सञ्चालन गरिरहेको छ।

कोरोना भाइरस संक्रमणले गर्दा यो कम्पनीले तोकिएको समयमा सेवा सुचारु गर्न पाएको थिएन। दुई वर्षमा निर्माण गरिसक्ने लक्ष्यका साथ सुरु गरिएको केवलकार कोरोना भाइरस संक्रमणले गर्दा चारवर्षमा बल्ल पूरा भएको थियो। करिब २ अर्ब रूपैयाँ लगानीमा केवलकार निर्माण गरिएको छ।

यो केवलकारको दूरी केवल नौ मिनेटमा पूरा हुन्छ। सेदीमा निर्माण गरिएको स्टेशन समुन्द्री सतहभन्दा ८२४ मिटरको उचाइमा छ भने सराङकोटको स्टेशन १ हजार ५ सय २३ मिटरको उचाइमा छ। १७ वटा गोण्डला मार्फत अहिले पर्यटकलाई सराङकोट उकाल्ने र ओराल्ने गरिएको छ। प्रत्येक गोण्डलामा ८ जना यात्रु अटाउँछन्।

प्रकाशित: १८ वैशाख २०७९ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App