१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरकारलाई राजस्व र व्यवसायीलाई राहत:आन्तरिक पर्यटकको चहलपहल

सरकारले रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाएसँगै देशभरका होटल, क्लब, रेस्टुरेन्ट, लाउन्ज, डान्सबार, लगायत क्षेत्रहरूमा पुनः रमझम सुरु भएको छ। कोरोना महामारीको सबैभन्दा धेरै मार खेपेको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहलसँगै विदेशी पाहुनाको आगमन समेत बढ्दै गएपछि यो क्षेत्र पुरानै लयमा फर्किने तयारीमा छ।

सरकारले रात्रिकालीन व्यवसाय २४सै घन्टा सञ्चालन गर्न दिने भएपछि व्यवसायी हौसिएका छन्। यसअघि पटकपटक रात्रिकालीन व्यवसाय सञ्चालनको माग गर्दै आएका व्यवसायीले गृह मन्त्रालयको पछिल्लो निर्णयसँगै राति १० बजेपछि पनि व्यवसाय गर्न पाउने भएका छन्।

रात्रिकालीन मनोरञ्जनप्रधान पर्यटनमूलक व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन गृह मन्त्रालृयले बनाएको १४ सदस्यीय समितिको सुझावका आधारमा रात्रिकालीन व्यवसाय खुला गरिएको छ। गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय र देशभरका जिल्ला प्रशासन कार्यालयलाई सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन समेत दिइसकेको छ।

कोरोना भाइरसको लहरसँगै सुनसान बनेको यो क्षेत्र पछिल्ला भेरिएन्टको असर कम भएसँगै तंग्रिन थालेको व्यवसायी बताउँछन्। अहिले अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्तता मात्रै बढेको छैन, होटल, रेस्टुरेन्ट, फिल्म हल, दोहोरी, क्लब लगायत क्षेत्रसमेत भरिभराउ देखिन थालेको छन्। तर मुख्यतया शुक्रबार र शनिबार भिडभाड हुने यी स्थानमा साताभर चहलपहल ल्याउने तयारी भने निजी क्षेत्रले गरेको देखिएको छैन।

सन् २०२० देखि सुरु भएको कोरोना महामारीका कारण विदेशी पाहुना नआउँदा प्रभावित रहँदै आएको हवाई, होटल, रेस्टुरेन्ट लगायत क्षेत्रमा सुधारको अवस्था आए पनि पर्यटनका अन्य क्षेत्र भने अझै सुनसान नै छन्। विश्वभरका हरेक देशलाई पर्यटक चाहिरहेको अहिलेको अवस्थामा पर्यटक बढाउने कुनै योजना त परको कुरा आन्तरिक पर्यटकको चहलपहल बढाउन बजेटले जोड दिएका कुरा समेत लागू नभएकोप्रति पर्यटन व्यवसायीको गुनासो बढेको छ।

अहिले विदेशी पाहुनाको गन्तीभन्दा आन्तरिक पर्यटकको चहलपहल मात्रै पर्याप्त मात्रामा बढाउन सके सरकारलाई राजस्व र व्यवसायीलाई राहत हुने पर्यटन व्यवसायीको धारणा छ। होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले सरकारले रालिकालीन व्यवसाय रातभर चलाउन दिने निर्णय गरेसँगै आन्तरिक पर्यटनलाई चलायमान बनाउन बजेटमार्फत गरेको घोषणा कार्यान्वयन गर्न आग्रह गरेका छन्।

सरकारले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन प्रवद्र्धनमा सहभागी गराउन ल्याएको बिदा कार्यान्वयन भए आन्तरिक पर्यटन चलायमान हुने र त्यसले व्यवसायी र सरकार दुवैलाई राहत हुने उनको भनाइ छ। ‘अहिले पछिल्लो महिनाको तुलनामा विदेशी पाहुना बढ्दै गएका देखिन्छन्। तर पर्यटन क्षेत्र चलायमान बनाउन पछिल्लो तथ्यांक अनुसार भित्रिएका विदेशी पाहुनाले पुग्दैन,’ उनले भने, ‘अहिलेलाई तयारी अनुसार आन्तिरक पर्यटनमै जोड दिँदै पर्यटन क्षेत्र सुरक्षित छ भन्ने अनुभूति दिन आवश्वक छ। त्यसका लागि पर्यटन प्रवद्र्धन गर्न सरकारी तवरबाट बाँकी कार्यक्रम कार्यान्वयन भएको खोई?’

पर्यटन क्षेत्रलाई पुनर्जीवित गराउन गृह, अर्थ, स्वास्थ्य र पर्यटन मन्त्रालयको समन्वयमा पर्यटन प्रवर्द्धनका योजना लगायत कार्यदिशामा अघि बढ्नुपर्नेमा उनको जोड रहेको छ। नेपालीमा पनि भ्रमण गर्ने संस्कार बढ्न थालेको बताउँदै उनले दिगो पर्यटन विकासका लागि आन्तरिक पर्यटन प्रवर्द्धन आवश्यक रहेकोमा जोड दिए।

त्यस्तै, रेस्टुरेन्ट व्यवसायीको छाता संगठन रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारीले पर्यटन प्रवद्र्धनका कार्यमा सरकारी तवरबाट जोड दिनुपर्ने बताए। पर्यटनमूलक व्यवसायमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुर्‍याइरहेका व्यवसायीलाई हौसला दिन सरकारले होस्टेमा हैंसे गरेर अघि बढ्नुपर्नेमा उनको जोड छ।

सरकारले रात्रि व्यवसायलाई पूरै समय सञ्चालन गर्ने अनुमति दिए पनि त्यसका लागि प्रतिकूल हुने मापदण्ड कायमै राखेको छ। गृहले तयार पारेको मापदण्ड अनुसार रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा पदअनुसार पोसाक, परिचयपत्र, खाना–नास्ता तथा व्यवसायस्थलदेखि घर/कोठा पुग्न यातायात साधनको व्यवस्था मिलाउनुपर्ने, करारका कामदारलाई नियुक्तिपत्र दिई पदअनुसारको तलब, भत्ता दिनुपर्ने, डान्स रेस्टुरेन्ट एन्ड बार, लाइभ ब्यान्ड, लाउन्ज बार, पब बार, डिस्को क्लब जस्ता व्यवसायमा १८ वर्षमुनिका बालबालिकालाई कामदार तथा ग्राहकका रूपमा प्रवेश निषेध लगायत मापदण्ड तोकिएको छ।

त्यस्तै, मेनुमा निर्धारित मूल्य–सूची बाहेक अन्य शुल्क लिन नपाइने, सिसी क्यामेरामा भएका रेकर्ड कम्तीमा ३० दिनसम्म बस्ने व्यवस्था मिलाउनुपर्ने, कामदारको बोली–व्यवहार सुधार र सरसफाइमा ध्यान दिने, ध्वनि प्रदूषण रोक्न साउन्ड प्रुफ, बत्ती, आपतकालीन ढोका र कामदारलाई नियमित प्रशिक्षणको व्यवस्था हुनुपर्ने मापदण्डमा उल्लेख छ।

प्रकाशित: २९ फाल्गुन २०७८ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App