११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मानहुँकोटमा सार्वजनिक जग्गामा बतासको प्रस्ताव

४ अर्ब २३ करोड लगानी प्रस्ताव

तनहुँको पर्यटकीय क्षेत्र मानहुँकोट र त्यहाँबाट देखिएको सदरमुकाम दमौली। फाइल तस्बिरः नागरिक

तनहुँको पर्यटकीय क्षेत्र मानहुँकोटको सार्वजनिक जग्गा भाडामा लिनेगरि व्यावसायिक समुह बतासले प्रस्ताव गरेको छ। पछिल्लो समय निकै नै चर्चा कमाएको यो डाँडामा विभिन्न पर्यटकीय पूर्वाधार बनाउने योजना बतासको छ। बतासले ५० वर्षका लागि ब्यास नगरपालिका–५ मा पर्ने मानहुँकोटको जग्गा भाडामा लिने प्रस्ताव गरेको हो।

बतास समुहको ब्यास हिल्स प्रालिले सार्वजनिक जग्गा भाडामा लिने र आसपासको निजी जग्गा खरिद गरेर पूर्वाधार बनाउने भन्दै नगरपालिकामा योजना पेस गरेको छ। नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बतास समुहको ब्यास हिल्सले ४० रोपनी जग्गा माग गरेर अघिल्लो वर्ष नै प्रस्ताव पेश गरेको बताए। सार्वजनिक जग्गा भाडामा लिने र आसपासका जग्गा खरिद गरेर पर्यटकीय पूर्वाधार बनाउने भन्दै ब्यास हिल्सले प्रस्ताव पेश गरेको श्रेष्ठले बताए।

‘बतास समुहको ब्यास हिल्स प्रालिले एकवर्ष अघि नै यो प्रस्ताव लिएर आएको हो। तर, हामीले यत्तिकै दिन सक्ने अवस्था रहेन, अध्ययनका लागि पर्खाएका थियौ,’ श्रेष्ठले भने, ‘पर्यटकीय पूर्वाधार बनाउने भनेर ब्यास हिल्सले जग्गा मागेको हो।’ उनका अनुसार यो समुहले मानहुँकोटमा केवलकार, जिपलाइन, सिसाको पुल, होटल लगायतका पुर्वाधार बनाउने प्रस्ताव पेश गरेको छ। चारअर्ब २३ करोड रुपैयाँ लगानी गर्ने गरि बतास समुहले प्रस्ताव गरेको श्रेष्ठले बताए।  

बतास समुहले एकवर्ष अघि नै यो प्रस्ताव नगरपालिकामा पेश गरेको भएपनि अध्ययनका लागि भन्दै रोकिएको थियो। तर, गत विहीबार बसेको ब्यास नगरपालिकाको बोर्ड बैठकले ब्यास हिल्सको प्रस्तावबारे गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरि सम्बन्धित प्रस्तावकलाई प्रस्तावबारे थप स्पष्ट हुनेगरि प्रस्तुत गर्न लगाई सम्झौताको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको श्रेष्ठले बताए। ‘ब्यास हिल्सबाट प्रस्ताव आएको हो। त्यसपछि हामी थप छलफलका लागि गत विहीबार मात्र गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छौ, हामीले अहिले नै लिजमा दिइसकेको होईन,’ उनले भने।  

प्रदेश सरकारले त्यो जग्गा लिजमा दिन मिल्ने वा नमिल्ने भनेर स्पष्ट पारेपछि बल्ल टुंगो लाग्ने उनले बताए। प्रदेश सरकारबाट शिफारिस गराएर संघीय मन्त्री परिषद्बाट स्वीकृत गराएर बल्ल प्रक्रिया अघि बढ्ने उनले बताए। ‘एकवर्षअघिकै प्रस्ताव हो, हामीले अध्ययनकै लागि रोेकेका हौ, छलफल नै नगरि हामीले दिने कुरै भएन,’ उनले भने, ‘त्यही भएर प्रदेश सरकारसँग छलफल आवश्यक ठानेका हौ।’ श्रेष्ठका अनुसार ब्यास हिल्सले सार्वजनिक जग्गा उपभोग गरेबापत मासिक भाडा पनि तिर्ने र नाफाको थप ५ प्रतिशत रकम नगरकै विकासमा खर्चने प्रतिवद्धता समेत जनाएको छ।  

यो समुहले ब्यासको पाटन क्षेत्रतिरबाट केवलकार, साँगेपट्टिबाट जीपलाइन र दमौलीको दृष्यावलोकन गराउनेगरि शिशाको पुल बनाउने प्रस्तावमा रहेको उनले बताए। त्यसबाहेक रिसोर्ट र केही मन्दिर पनि बनाउने योजनामा उल्लेख छ।  

बल्ल ऐन

ब्यास हिल्सले सार्वजनिक जग्गा लिजमा लिन एकवर्ष अघि नै प्रस्ताव पेस गरेको थियो। तर, ब्यास नगरपालिकाले बतासको प्रस्तावपछि मात्र सार्वजनिक निजी साझेदारी ऐन बनाएको छ। ‘खासमा यो ऐन पहिला नै आउनुपर्ने हो, त्यसबारेमा हामीलाई नै जानकारी भएन,’ प्रवक्ता श्रेष्ठले भने,‘बतासको प्रस्तावपछि मात्र यो ऐन बनाउनेतर्फ हाम्रो ध्यान गयो। त्यही प्रस्तावपछि बल्ल ऐन बनेको हो। ऐन आवश्यक भएको महसुस भएपछि बल्ल बनायौं।’

तनहुँको ब्यास नगरपालिका–५ मा पर्छ मानहुँ। सदरमुकाम दमौलीलाई काखमा बोकेको छ मानहुँले। केहीवर्ष अघिसम्म मानहुँमा बाक्लो बस्ती थियो। जुन बस्ती मानहुँकोटको सिरानमा पुगेपछि मात्र देखिन्थ्यो। खानेपानीको चरम समस्याले रित्तिदै गएको त्यो समथर मैदानमा कुनैबेला ७० घर रहेकोमा अहिले घटेर ६–७ घरमा सिमित छ। बस्ती रित्तिएको त्यही मैदानले पोहोर दसैंको बिदामा ठुलो संख्यामा आन्तरिक पाहुना पाएपछि मानहुँले बल्ल चर्चा कमाएको थियो। कोरोना भाइरस संक्रमणले गति लिइरहँदा अन्यत्रका चर्चित पर्यटकीय गन्तव्य सुस्ताएको बेलामा पनि तनहुँको मानहुँडाँडाले भने पोहोर पहिलोपटक ठुलो आकारमा पाहुना पाएर फड्को मारेको स्थानीयको भनाई छ । दिनमा झन्डै दुईहजार आन्तरिक पाहुना मानहुँ उक्लिएको उनीहरुको भनाई छ।  

सदरमुकाम दमौलीदेखि सातकिलोमिटर माथिको त्यो डाँडासम्म पुग्ने मोटरबाटो अहिले कालोपत्रे हुँदैछ। समुन्द्री सतहदेखि ११ सय मिटर उचाइँमा रहेको डाँडाले सामाजिक सञ्जालका कारण पोहोर एकाएक चर्चा बटुलेको थियो। ठुलो संख्या पर्यटक पुग्न थालेको र घुम्न पुगेका पाहुनालाई जोखिम नहोस भनेर भीरको अप्ठेरो खण्डमा फलामे रेलिङ लगाएर सुरक्षित बनाइसकिएको छ। मानहुँबाट अन्नपूर्ण, माछापुच्छे«देखि मनास्लुसम्मका हिमश्रृंखला देख्न सकिन्छ। त्यसबाहेक मादीनदीको नागवेली आकार र आसपासको हरियाली, दमौली बजार सहजै देख्न सकिन्छ।  

जग्गामा आँखा

खानेपानीको चरम समस्याले बसाई रित्तिदै गएको मानहुँको बस्तीसम्म केहीवर्ष अघिसम्म जग्गाको भाउ कौडीको मुल्यमा पाइन्थ्यो, तर, जब पर्यटकले रुचाएर आउजाउ बढ्यो, त्यसपछि व्यवसायीले पर्यटकीय पुर्वाधार बनाउने भन्दै आँखा लगाउन थाले। सुविधा थपिँदै गएपछि पहिले नै बसाई सरेका गाउँले पनि घर फर्किन थाले भने अरुले पनि जग्गा किनेर राख्न थालेपछि मुल्य पनि बढ्दै गयो। ब्यास नगरपालिकाले पनि जग्गा किनबेच गर्दा मौलिकता बिग्रने भन्दै रोक लगायो।  

तर, स्थानीयले नै जग्गा किनबेच गर्न पाउनुपर्ने भनेर फुकुवा गरिदिन नगरपालिकासँग अनुरोध गरेपछि बढिमा ६ महिना रोकिएको किनबेच खुलेको थियो। ‘जो पायो त्यही व्यक्तिका हातमा जग्गा नपरोस भनेर हामीले मानहुँको व्यक्तिगत जग्गा पनि किनबेच गर्न रोक लगाएका थियौ,’ नगर प्रवक्ता श्रेष्ठले भने, ‘तर, स्थानीय दवावपछि हामीले फुकुवा गरिदियौं।’ अहिले त्यहाँको जग्गा व्यवसायिले खरिद गरेर राखिरहेका छन। अहिले जग्गाको भाउ बढेर आनाकै ५÷६ लाख रुपैयाँ पर्न थालेको छ।  

प्रकाशित: २४ पुस २०७८ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App