६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

रसुवागढी नाका जोड्ने गल्छी–मैलुङ सडकमा २५ किलाेमिटर कालोपत्रे

रसुवागढी नाका जोड्ने सडक खण्डको पहिलो खण्डमा पर्ने गल्छी मैलुङ सडकको कालोपत्रेको काम गरिँदै। तस्बिरः हिमनाथ/नागरिक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–मैलुङ सडकखण्डमा २५ किलोमिटर कालोपत्रे गरिएको छ। कोभिड–१९, स्थानीयको अवरोध तथा अदालतको स्टे अडरको बाबजुद पनि २५ किलोमिटर क्षेत्रमा कालोपत्रे गरिएको हो।

बाँकी क्षेत्रमा चालु आर्थिक वर्ष २०७८/७९ मा कालोपत्रे गरिने छ। आर्थिक वर्ष २०७७/७८ मा ३२ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो। विभिन्न समस्याको बाबजुद पनि कालोपत्रेको कामलाई निरन्तरता दिइएका कारण २५ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न सफल भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।

योजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै निषेधाज्ञा भएको समयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर कालोपत्रे गरिएको थियो। नुवाकोटको विदुर क्षेत्रमा ६ किलोमिटर र बेत्रावतीमा डेढ किलोमिटर क्षेत्रमा कालोपत्रेको काम अघि बढ्न सकेन। विदुर क्षेत्रमा अदालतको स्टे अडर र बेत्रावती क्षेत्रमा जग्गाको विवादका कारण काम गर्न नसकिएको उनको भनाइ छ।  

पहिलो खण्डको रूपमा रहेको गल्छी मैलुङ सडकको स्तरोन्नतिको काम करिब ७० प्रतिशत सम्पन्न भएको छ। नाका जोड्ने छोटो दूरीको रूपमा रहेको यो सडकको तीन खण्डमा स्तरोन्नतिको काम हुने छ।  

गल्छी–मैलुङ सडक खण्डको दूरी ४६ किलोमिटर रहेको छ। दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रुबेसी सडकमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम गरिएको छ। त्यसैगरी स्याफ्रु रसुवागढी सडक खण्डको चिनियाँ पक्षले स्तरोन्नतिको जिम्मा पाएकोमा अहिले काम अघि बढेको छैन। नेपाली पक्षले बिजुलीको पोल सार्ने कार्य अन्तिम चरणमा पुर्‍याएको छ।  

नाका जोड्ने सडक खण्डमा निर्वाध रूपमा काम गर्नका लागि स्थानीय तह र स्थानीय प्रशासनको सहयोगको अपेक्षा रहेका योजना प्रमुख भण्डारीले बताए। यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रु सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।  

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन। गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँड्नका लागि कुनैपनि घुम्ती पार गर्न पर्दैन।  

मैलुङ–स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

प्रकाशित: १५ श्रावण २०७८ ०९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App