६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एक वर्षमा डेढ खर्ब पुनर्कर्जा

कोरोना महामारीबाट अत्यधिक प्रभावित उद्योग, व्यवसायलाई लक्ष्य गरी गत आर्थिक वर्ष सुरु गरिएको पुनर्कर्जा कार्यक्रम अन्तर्गत एक वर्षमा एक खर्ब ४९ करोड रूपैयाँभन्दा बढी लगानी स्वीकृत भएको छ।  नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमार्फत घोषणा गरेको उक्त कार्यक्रमलाई उद्योगी, व्यवसायीले अवसरमा रूपमा लिँदा ठूलो रकम लगानी भएको सम्बद्ध अधिकारी बताउँछन्।  

कोरोना महामारीका कारण उद्योग, व्यवसाय प्रभावित भएको भन्दै व्यवसायीले सहुलियत प्याकेज मागेका थिए। सोही माग सम्बोधन हुने गरी केन्द्रीय बैंकले गत वर्ष करिब दुई खर्ब १२ अर्ब ५० करोड रूपैयाँ लगानी गर्न मिल्ने गरी पुनर्कर्जा कार्यक्रम अघि सारेको थियो। राष्ट्र बैंकका अधिकारीहरू उक्त कार्यक्रम अझै कायमै रहेकाले पुनर्कर्जा लिने क्रम जारी रहेको बताउँछन्। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि सोही कार्यक्रमलाई निरन्तरता दिने सम्भावना छ।  

‘अर्थशास्त्रीहरूले लामो समयसम्म सहुलियतपूर्ण कार्यक्रम सञ्चालन गर्न उपयुक्त नहुने सल्लाह दिने गरे पनि कोरोना महामारीको समस्या कायमै रहेका कारण यो वर्ष पनि पुनर्कर्जाले निरन्तरता पाउने सम्भावना छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यद्यपि नयाँ अर्थमन्त्रीसँग अन्तिम सल्लाह हुन बाँकी छ।’ पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब ५० करोड रूपैयाँको पाँच गुणासम्म पुनर्कर्जा दिन पाउने अघिल्लो वर्षको निर्णय अनुसार अझै केही रकम लगानी गर्न सकिने सम्भावना देखिएकाले पुनर्कर्जालाई निरन्तरता दिन खोजिएको उनको भनाइ छ।  

ट्रेड युनियनका अगुवा भने सरकारले महामारीको बेला व्यवसायीलाई सहुलियत दिए पनि श्रमिकलाई सहायता नगरेको गुनासो गर्छन्। कैयौं उद्योग, व्यवसायले कोरोना महामारीको कारण देखाउँदै पुनर्कर्जा हात पारे पनि कामदारप्रति न्यूनतम दायित्व पनि निर्वाह नगरेको उनीहरूको गुनासो छ।  

कोरोना महामारीमा उद्योग, व्यवसायको तुलनामा श्रमिकको संरक्षण जरूरी भए पनि सरकारले त्यतातर्फ बेवास्ता गरेको उनीहरूको तर्क छ। महामारीमा कैयौं मुलुकले श्रमिकको खातामा सिधैं रकम उपलब्ध गराएर गुजारा सहज बनाइदिएका छन्। चालु वर्षको मौद्रिक नीतिमा श्रमिकले प्रत्यक्ष लाभ पाउने खालको कार्यक्रम आउनुपर्ने माग गरिएको छ। राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म करिब ४८ हजार नौ सयले पुनर्कर्जा लिएका छन्। पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब ५० करोड रूपैयाँको पाँच गुणासम्म पुनर्कर्जाका रूपमा प्रवाह गर्न पाउने कार्यविधि अनुसार ७० प्रतिशत (एक खर्ब ४८ अर्ब रूपैयाँ) बैंक तथा वित्तीय संस्थाले एकमुष्ठ रूपमा लगानी गर्न पाउँछन्।

त्यस्तै, राष्ट्र बैंकले २० प्रतिशत (४२ अर्ब ५० करोड रूपैयाँ) सिधैं ग्राहक पुनर्कर्जा शीर्षकमा लगानी गर्न पाउँछ। लघुवित्त वित्तीय संस्थाले बाँकी २१ अर्ब २५ करोड रूपैयाँ एकमुष्ठ ग्राहकलाई कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ। पुनर्कर्जा कार्यक्रमको सुरुताका बैंक तथा वित्तीय संस्थाले अपेक्षित रूपमा कर्जा प्रवाह नगरेपछि राष्ट्र बैंकले कार्यविधि परिमार्जन गरी सिधैं पुनर्कर्जा प्रवाह गर्न पाउने व्यवस्था मिलाएको थियो।  

त्यसपछि एकातिर राष्ट्र बैंकले ठूला व्यवसायीलाई ग्राहक मूल्यांकनको आधारमा लगानी गर्न निर्देशन दियो, अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाले लगानीलाई तीव्रता दिए। गत आवमा बैंक तथा वित्तीय संस्थाले ९२ अर्ब ३८ करोड रूपैयाँ पुनर्कर्जा प्रवाह गरेका छन्। त्यस्तै लघुवित्त वित्तीय संस्थाले १० अर्ब २३ करोड रूपैयाँ लगानी गरेका छन।  

धेरै पुनर्कर्जा लिनेमा पर्यटन क्षेत्र

पर्यटन क्षेत्रले सबैभन्दा धेरै पुनर्कर्जा सुविधा लिएको छ। राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म पर्यटन क्षेत्रले लगानी गरिएको कुल पुनर्कर्जाको ४७.२६ प्रतिशत रकम उपयोग गरेको छ  

कोरोना महामारीका कारण पर्यटन क्षेत्र सबभन्दा धेरै प्रभावित भएको अध्ययनहरूले देखाएका छन्। राजधानी लगायत सहरमा निषेधाज्ञा अझै जारी रहेका कारण पर्यटन क्षेत्रमा कहिलेदेखि सहज हुन्छ भन्ने अन्योल छ। पर्यटनपछि धेरै पुनर्कर्जा प्राप्त गर्नेमा क्रमशः उत्पादन, निर्माण, औषधिजन्य, शिक्षा, जलविद्युत्, यातायात, सञ्चार, टेक्सटाइल उद्योग छन्। कृषि क्षेत्रमा पनि केही पुनर्कर्जा गएको छ। पुनर्कर्जा लिन कार्यविधिमा तोकिएका मापदण्ड पूरा गर्नुपर्छ। कार्यविधिमा कोरोना महामारीबाट अति र मध्यमस्तरको पीडितलाई पुनर्कर्जाको व्यवस्था गरिएको छ। लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका ग्राहकले पुनर्कर्जा पाउँछन्। साथै पुनर्कर्जा पाउन यसअघि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको हुनुपर्छ।  

पुनर्कर्जा अधिकतम पाँच प्रतिशत ब्याजदरमा पाइन्छ। बैंक तथा वित्तीय संस्थालाई एक, निर्यातजन्य उद्योग र रुग्ण उद्योग लगायत क्षेत्रमा विशेष पुनर्कर्जा दुई, लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा तीन प्रतिशत ब्याजदरमा तोकिएका क्षेत्रमा प्रदान गर्ने कार्यविधि बनेको छ। पुनर्कर्जाका लागि राष्ट्र बैंकले विभिन्न वित्तीय संस्थालाई एकदेखि तीन प्रतिशत ब्याजमा रकम दिन्छ। बैंक तथा वित्तीय संस्थाले सोही रकमलाई तीनदेखि पाँच प्रतिशतसम्म ब्याजदरमा कर्जा लगानी गर्छन्।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थालाई एकमुष्ठ प्रदान गरिने पुनर्कर्जामा प्रतिग्राहक लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाको सीमा १५ लाख, विशेष तथा साधारण पुनर्कर्जाको सीमा पाँच करोड र ग्राहक अनुसार मूल्यांकनका आधारमा प्रदान गरिने साधारण पुनर्कर्जाको सीमा २० करोड रूपैयाँ हुने व्यवस्था मिलाइएको छ। पुनर्कर्जा माग गर्नेमा ठूला व्यवसायी धेरै छन्। 

प्रकाशित: १२ श्रावण २०७८ ०५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App