यता पानी परेको छ । उता रामेश्वरको अनुहारमा बादल लागेको छ । पानीले एकैछिन विश्राम लिएपछि फुलिरहेका फूललाई निर्ममतापूर्वक काटेर मलको खाल्डोमा मिल्काउँदै गर्दा किसान रामेश्वर बासीको आँखा रसाए।दिनरात घामपानी नभनी हुर्काएको फूललाई सजाउनुको सट्टा उनले मुटुमाथि ढुंगा राखेर फूलका ती थुङ्गाहरु मिल्काए।
भक्तपुर ताथलीमा एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्ममा फूल खेती गरिरहेका उनले मनलाई निक्कै गह्र्गो बनाएर फूल मिल्काउँदै भने, ‘के गर्नु, हामीसँग विकल्प छैन, नफाली के गर्नु ?’ हुन पनि उनीसँग कुनै विकल्प छैन, किनभने नयाँ भेरियन्टको कोरोना महामारीको कहरका कारण जारी निषेधाज्ञाका कारण फूलको बजार ठप्प छ। फूल खोज्दै आउनेहरु घरभित्र थुनिएका छन्।
नफाल्नु परेको भए एक थुङ्गा फूलको उनले कम्तिमा २५ रुपैयाँ पाउने निश्चित रहेको बताउँदै उनले फूलको बढी माग हुने र फूल फूल्ने मध्य समयमै जारी निषेधाज्ञाको कारण फूललाई बजार लान नपाउँदा मिल्काउनु परेको बताए।
रोजगारका लागि १५ वर्ष विदेश बसेपछिको पीडा बिर्सेर ‘केही गर्ने सोच’का साथ २०७२ सालदेखि चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको डाँडापाटीमा फूल खेती गरिरहेका ४४ वर्षीय बासीले सो खेतीमा अहिलेसम्म ७० लाख लगानी गरिसकेका छन्।
लगानीको प्रतिफल आउने बेलाको महामारीले उनलाई मात्र हैन, सुन्दर फूलहरुलाई समेत प्रभाव पारेको छ। गत वर्षको लकडाउनमा पनि फूल फालेका उनले यो वर्ष पनि फूल फालेर मन बुझाए। ‘गत वर्ष चार महिना फूल फाल्नुपरेको थियो, यो वर्ष पनि त्यही नियति दोहोरिने लक्षण देखिएको छ, पोहोर पनि डुब्यौं, यो वर्ष पनि...’ उनले भने।
व्यावसायिक फूलखेतीका लागि उनले ६ रोपनी जग्गा भाडामा लिएका छन्। ६ रोपनीमध्ये ४ रोपनीमा फूल खेतीका लागि आधुनिक प्लाष्टिक टनेल बनाएका छन्। त्यही टनेलभित्र मनमोहक तरिकाले एकै नासले ६ थरिका फूलहरु जर्बेरा, कार्नेस, लिमोनियम, गुलाफ, स्टाटिक्सलगायतका सजावटका लागि प्रयोग गरिने फूलका विरुवा रोपेका छन्।
‘यति राम्रो फूलहरुको नियति देखेपछि त कहिलेकाहिँ दिक्क लाग्छ, यसरी मलमा फ्याक्नुपरेको छ’ उनले भने, ‘यो अवस्था नहुँदो हो त दैनिक हजारौं थुङ्गा फूलहरु विभिन्न सभा, सभारोहमा सजिएको हुन्थ्यो।’
बहुवर्षीय जातको फूल भएकाले फूल लगाएको फाममा अर्को बाली लगाउन समेत नमिल्ने बाध्यता रहेको उनी बताउँछन्। ‘एकपटक रोपेपछि ५/६ वर्षसम्म उत्पादन दिन्छ यो फूलले।’ यही भएर पनि फूलेका फूल फाल्नुको विकल्प नभएको किसान बासी बताउँछन्।‘ अहिले विरुवा बलियो छ, बलियो भएको बेलाको फूल फाल्नुपर्ने अवस्था छ, मिहिनेतलाई मल बनाउनु परेको छ।’ उनले भने।
गत वर्षकै नियति भोगेका किसान बासीले महामारीको कारण दुई/तीन वर्ष दुःख झेल्नु परे पनि आफू निराश नहुने बताउँछन्। ‘यी फूलहरुमै मैले भविष्य देखेको छु, यसैबाटै मन आनन्द हुन्छ’ उनले भने। उनको ६ वर्षको अनुभवमा फूल आयात गर्ने प्रवृत्ति सँधैको महामारीको रुपमा रहेको छ। अहिलेको महामारीमा कृषिमा असर परेको छ। कृषिमध्येमा पनि बढी पुष्प व्यवसायमा परेको बताउँदै उनले छिमेकी देशबाट फूलको आयात गर्ने प्रवृत्तिले देशले समेत राजस्व गुमाइरहेको र सरकारले स्वदेशी पुष्प व्यवसायीलाई प्रोत्साहन नगरेको उनको गुनासो छ।
उनले पुष्प व्यवसायीलाई प्रोत्साहन गर्नका लागि पुष्प बीमाको नीति ल्याउन सके पनि किसानलाई राहत पुग्ने बताए। अन्तिममा उनले फूल फाल्नुपर्दाको पीडालाई यसरी कविता लेखेर फूलसँग माफी समेत मागेका छन्।
प्रकाशित: १४ जेष्ठ २०७८ १३:१६ शुक्रबार