५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

हिउँदमा भारतकै बिजुलीको भर

नेपालका जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन स्वाट्टै घटेसँगै छिमेकी भारतबाट दैनिक कुल मागको ६० प्रतिशतभन्दा धेरै हिस्सा आयात गरेर बिजुलीको माग धान्दै आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। हिउँदमा अधिकांश नदीनालामा पानीको सतह घटेसँगै प्राधिकरणले कुल मागको ६० प्रतिशतभन्दा धेरै बिजुली भारतबाट आयात गरेर आपूर्ति गरिरहेको प्राधिकरणको भनाइ छ।  

प्राधिकरणका अनुसार गत मंगलबार पिक आवरमा १४ सय ५५ मेगावाट बिजुली माग भएको थियो। त्यो बेला भारतबाट ८ सय ४० मेगावाट आयात गरिएको थियो। प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिनाले नदीनालामा पानीको सतह घटेसँगै स्वदेशका आयोजनाबाट बिजुली उत्पादनमा कमी आएको बताए। ‘नेपालका अधिकांश जलविद्यु्त् आयोजना रन अफ द रिभरमा आधारित छन्,’ उनले भने, ‘हिउँदेयाममा भारतबाट बिजुली आयात गरेर माग धानिरहेका छौं।’  

प्राधिकरणका अनुसार शनिबार पिक आवरमा ११ सय ४० मेगावाट बिजुलीको माग थियो। भारतबाट शनिबार ६५० मेगावाट आयात गरियो। स्वदेशमा प्राधिकरण मातहतका आयोजनाबाट दुई सय ५४ मेगावाट र निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धक कम्पनीबाट दुई सय ३४ मेगावाट बिजुली उत्पादन छ। प्राधिकरणका प्रवक्ता तिमिल्सिनाले कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह घटेसँगै प्राधिकरण मातहतका आयोजनाको उत्पादन कम भएको बताए। ‘अहिले भारतीय आयातित बिजुलीको अंश धेरै छ,’ उनले भने, ‘वर्षायाम सुरु भएसँगै भारतबाट आयात हुने बिजुलीको मात्रा घट्नेछ।’

वैशाख १६ गतेदेखि लागू निषेधाज्ञासँगै विद्युत्को माग स्वाट्टै घटेको छ। निषेधाज्ञाले व्यापार, व्यवसाय ठप्प भएसँगै बिजुलीको माग घट्दै गइरहेको छ। निषेधाज्ञा हुनुअघि गत मंगलबारसम्म पिक आवरमा बिजुलीको माग १४ सय ५५ मेगावाट थियो। गत बुधबार पिक आवरमा १४ सय ४० मेगावाट, बिहीबार १३ सय १० मेगावाट, शुक्रबार १३ सय ५० मेगावाट र शनिबार ११ सय ४० मेगावाट माग भएको छ। ‘निषेधाज्ञाको कारणले सहरी क्षेत्रका व्यवसाय र उद्योग ठप्प भएसँगै बिजुलीको माग घटेको छ,’ उनले भने, ‘अहिले निषेधाज्ञा सीमित जिल्लामा मात्रै भएकाले क्रमशः बिजुलीको माग घट्ने सम्भावना देखिन्छ।’  

प्राधिकरणले माग अनुसार बिजुली आयात गरेरै भए पनि व्यवस्थापन गर्दै आएको जनायो। प्राधिकरणले चालु आर्थिक वर्षमा निजी क्षेत्रबाट करिब ४६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जनायो। तर परीक्षण प्रसारणको क्रममा रहेका बिजुली भने यसमा थप गरिएको छैन। अहिले प्राधिकरण मातहतकोे जलाशययुक्त कुलेखानी आयोजना छ। कुलेखानीका तीनवटा आयोजनाबाट करिब १ सय ६ मेगावाट बिजुली उत्पादन गर्न सकिन्थ्यो। अहिले कुलेखानीको जलाशयमा पानीको सतह घटेसँगै उत्पादनमा कमी आएको हो।  

प्राधिकरणले आर्थिक वर्ष ०७६÷७७ मा कुल ७ अर्ब ७४ करोड युनिटमध्ये छिमेकी भारतबाट एक अर्ब ७२ करोड युनिट बिजुली आयात गरेर माग पूरा गरेको हो। भारतबाट आयात गरिएको बिजुलीको मूल्य करिब १३ अर्ब ५८ करोड रूपैयाँ थियो। गत आवमा खपत भएको ७७४१ गिगावाट आवर (सात अर्ब ७४ करोड युनिट) बिजुलीमध्ये भारतबाट २२.३४ प्रतिशत मात्रै आयात गरिएको थियो।  

गत आर्थिक वर्षमा ७ अर्ब ७४ करोड युनिटमध्ये प्राधिकरण मातहतका आयोजनाबाट तीन अर्ब २ करोड युनिट, निजी क्षेत्रका जलविद्युत् प्रवर्धक कम्पनीबाट दुई अर्ब ९९ करोड युनिट बिजुली खरिद भएको थियो। प्राधिकरणले आव ०७५/७६ मा तीन करोड ४७ लाख युनिट र आव ०७६/७७ मा १० करोड ७० लाख युनिट बिजुली छिमेकी भारतमा निर्यात गरेको थियो।

प्रकाशित: २१ वैशाख २०७८ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App