६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सहकारीलाई डिजिटाइज गर्न गर्भनरको आग्रह

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सहकारीलाई डिजिटाइज गर्न आग्रह गरेका छन्। हब कोपरेटिभ सर्भिस लिमिटेडका पदाधिकारीसँगको भेटमा गर्भनर अधिकारीले प्रविधिलाई प्रयोग गरेर सेवा दिन सहकारीलाई निर्देशन दिए।  

सहकारी विभागबाट अनुमति लिएर सहकारी क्षेत्रमा डिजिटल प्रविधि मार्फत वित्तीय सेवा दिन सुरु गरेको हब कोपरेटिभ सर्भिस लिमिटेडले दिने सेवाको गर्भनर अधिकारीले प्रसंशा गरे। ‘सहकारीलाई डिजिटाइज गर्नुपर्‍यो,’ गर्भनर अधिकारीले भने, ‘हबले सुरु गरेको सहकारीमा डिजिटाइज गर्ने काम आवश्यक छ।’

सहकारीमा ठूलो नगद भएकाले डिजिटल प्ल्याटफर्मको प्रयोग गरेर कारोबार गर्न उनले आग्रह गरे। सहकारीले आफ्ना सदस्यलाई डिजिटल सेवा दिन सक्ने बताए। ‘अनुमति प्राप्त प्ल्याटफर्मसँग सम्झौता गरेर सहकारीले आफ्नो सेवा दिन सक्छ,’ उनले भने, ‘आवश्यक सहजीकरण गर्न राष्ट्र बैंक तयार छ।’

गर्भनरसँगको भेटमा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष तथा हब कोपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले सहकारीलाई प्रविधि मैत्री बनाउन लागेको जानकारी दिए। हबले सहकारी क्षेत्रमा डिजिटल प्रविधि मार्फत वित्तीय कारोबार सुरु गरेको बताए। ‘सहकारी विभागबाट अनुमति लिएर राष्ट्र बैंकको सहमतिका लागि आवेदन दिएका छौं,’ पौडेलले भने, ‘भुक्तानी सेवा प्रदायक निकायसँग समन्वय गरी काम अघि बढेको छ।’  

सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ मा भएको व्यवस्था अनुसार विद्युतीय प्रणालीमार्फत हबले आफ्ना सदस्यलाई एक सहकारीबाट अर्को सहकारीमा अन्तर सहकारी कारोबार सुरु गरेको अध्यक्ष पौडेलले जानकारी दिए। हबले सदस्य सहकारी संस्थाबाट आफ्नो खातामा रकम जम्मा गर्न र झिक्न सक्ने गरी अन्तर सहकारी कारोबार गर्न सक्ने व्यवस्था गरेको जनाएको छ। सहकारीलाई बैंक तथा अन्य वित्तीय संस्था जस्तै प्रभावकारी, व्यवस्थित र छिटो–छरितो सेवा दिन विद्युतीय कारोबार सुरु गरेको जनाएको छ। सहकारी नियमावलीमा सहकारी संस्थाले विनियमावलीमा व्यवस्था गरी अन्तरसहकारी कारोबार गर्न सक्ने प्रावधानलाई व्यवस्थित गरेको छ।  

सहकारीले सापटीको रुपमा एक सहकारीबाट अर्को सहकारीमा सापटीको रुपमा कारोबार गर्दै आएकोमा हबले आफ्ना सदस्य सहकारीबीच अन्तर सहकारी कारोबार सुरु गरेको हो। अहिले विद्युतीय माध्यमबाट प्रविधिको प्रयोग गरी एक सहकारीको चेक अर्कोमा साट्ने व्यवस्थासहित अन्तर सहकारी कारोबार थालिएको हो।

सहकारी विभागबाट विनियम स्वीकृत गरेर देशभर कार्यक्षेत्र रहेको दब कोअपरेटिभले मुलुकै पहिलोपटक विद्युतीय भुक्तानीसहितको नयाँ सेवा दिन सुरु गरेको छ। अधिकांश सहकारी संस्थाहरु म्यानुअल पद्धतिमा सञ्चालन भइरहेको अवस्थामा डिजिटल प्रविधि प्रयोग गरेर अन्तरसहकारी कारोबार सुरु गरेको हब कोओपरेटिभ सर्भिसका अध्यक्ष पौडेलले बताए।

प्रकाशित: १० चैत्र २०७७ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App