७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

तातोपानी नाका सञ्चालनमा

फाइल तस्वीर

झण्डै तीन महिनादेखि बन्द उत्तरको मुख्य तातोपानी नाका सञ्चालनमा आएको छ। व्यापारिक कारोबारसहित आइतबारदेखि नाका सञ्चालनमा आएको हो।

नाका सञ्चालनसँगै चिनियाँ सामग्री आयात सुरु भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए। नाका खुलेकै दिन १२ कन्टेनर सामान भन्सार यार्ड आइपुगेको उनले जानकारी दिए। ‘भन्सार जाँचपास गरी छुटाउने प्रक्रिया सुरु भइसकेको छ,’ प्रमुख खत्रीले नागरिकसँग भने।  

वर्षाको बाढीपहिरोले अरनिको राजमार्गको जम्बु बजार बगाउनुका साथै सडक क्षतविक्षत बनाएपछि गएको असार २५ गतेदेखि नाका बन्द थियो। क्षतिग्रस्त सडक मर्मत गरी सञ्चालनमा ल्याइए पनि सोही समयमा तिब्बतस्थित ताल फुट्ने खतरा रहेको र नेपालमा कोरोना संक्रमण बढेको भन्दै चिनियाँ पक्षले नाका खुलाउन आनाकानी गर्दै आएको थियो।  

नाकामा कोरोना संक्रमण नियन्त्रण गर्ने सर्तमा व्यापारिक कारोबार सुरु भएको हो। गएको मंगलबार दुवै मुलुकका स्थानीय अधिकारीबीच यसै सर्तमा आइतबारदेखि नाका सञ्चालनमा ल्याउने सहमति भएको थियो। भन्सार प्रमुख खत्रीले सहमतिअनुसारै नाकाबाट व्यापारिक कारोबार सुरु भएको जनाए। सहमतिअनुसार पहिलो खेपमा १२ कन्टेनर सामान शनिबारै मितेरी पुल आइपुगेका थिए। पहिलो चरणमा कोरोना संक्रमणले चिनियाँ भूभागमा रोकिएका सामान आयात हुने सुक्खा बन्दरगाह भन्सारले जनाएको छ। नेपाली व्यवसायीका अनुसार हजार कन्टेनरभन्दा बढी सामान चिनियाँ भूभागमा रोकिएका छन्। ती सामान व्यापारीले गएको जाडो सिजनमा अर्डर गरेका थिए। कोरोना संक्रमण नियन्त्रण गर्न चीनले अन्तर्राष्ट्रि«य नाका बन्द गरेपछि गर्मी मौसमका सामाग्री बोकेका कन्टेनर बीच बाटोमा रोकिँदै आएका थिए।  

‘पूराना सामाग्री राजधानी आयात भइसकेपछि नियमित सामान आउन थाल्छन्,’ खत्रीले भने। चीनले नाका सिल (पूर्ण बन्द) गर्दा तातोपानी नाका माघदेखि चैतसम्म बन्द हुन पुगेको थियो। नेपालमा समेत कोरोना संक्रमित बढ्न थालेसँगै स्वास्थ्य सामग्री आयात गर्ने प्रयोजनले नेपाल सरकारको आग्रहमा गत चैत अन्तिमतिर नाका खुलाइएको थियो। तर बीचमा रोकिएका सामग्री छुटाउन चीनले अनुमति दिएको थिएन।  

नाका सञ्चालनअघि मितेरी पुलसम्म आइपुग्ने सामान सुक्खा बन्दरगाह भन्सारसम्म ल्याउने चालक र मजदुरको कोरोना परीक्षण गरिएको थियो। दुई सिफ्टमा खटिने २९÷२९ चालक, मजदुरको परीक्षण गरिएकोमा चारमा कोरोना पोजेटिभ देखिएको छ। कोरोना संक्रमण देखिएका पहिलो सिफ्टका बाँकी २५ मजदुरलाई क्वारेन्टिन पठाएको प्रमुख खत्रीले बताए। ‘अहिले २९ चालक, मजदुरको दोस्रो समूह सामान आयात र लोड÷अनलोडमा परिचालित छ,’ उनले भने। कोरोना संक्रमण फैलिन नदिनकै लागि चिनियाँ अधिकारीको आग्रहमा चालक, मजदुरको दई समूह बनाइएको थियो।

कोरोना संक्रमणमुक्त भएपछि मात्र पहिलो समूह काममा फर्कने भन्सारले जनाएको छ। सहमितअनुसार हरेक पाँच दिनमा मजदुरको अनिवार्य कोरोना परीक्षण गर्नु पर्नेछ। कोरोना नभएको पुष्टि भएका मजदुरले मितेरी पुलबाट बन्दरगाह भन्सार ल्याई कन्टेनरमा लोड गरेको सामाग्री सम्बन्धित चालकले राजधानी पु¥याउने व्यवस्था गरिएको छ। हाल चिनियाँ कन्टेनरमा चीनको सीमा मितेरी पुलसम्म आउने सामान पुरानो भन्सार यार्डसम्म ल्याउन चीनसँग छलफल भइरहेको प्रमुख खत्रीले जानकारी दिए। 

प्रकाशित: २० आश्विन २०७७ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App