१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

संक्रमण बढेसँगै सार्वजनिक यातायातमा कडाइ

फाइल तस्वीर

यातायात व्यवसायीले कोभिड १९ महामारीका बेला सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ पूर्ण रूपमा पालना नगर्दा संक्रमणको जोखिम बढेको भन्दै सरकारले निर्देशिका कार्यान्वयनमा कडाइ गर्ने भएको छ।मुलुकमा दैनिक दुई हजारभन्दा बढी संक्रमित देखिन थालेसँगै सरकार कडाइका साथ निर्देशिका लागू गर्न कस्सिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना संक्रमण ह्वात्तै बढेसँगै सात सय ५३ वटै स्थानीय तहलाई यातायात व्यवसायीले निर्देशिका पालना गरे, नगरेको विषयमा समिति गठन गरेर अनुगमन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले आइतबार मुलुकभरका सबै स्थानीय तहलाई सार्वजनिक यातायात सञ्चालन तथा कार्यान्वयन निर्देशिका तथा अनुमगन सम्बन्धी पत्र र कोभिड १९ प्रकोप अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ कार्यान्वयन गराउन निर्देशन दिएको हो।

स्थानीय तहमा गठित अनुगमन समितिले निर्देशिका विपरीत सार्वजनिक यातायात सञ्चालन गरेको पाइए कारवाही गर्न सक्नेछन्।

संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले २०७७ भदौ ३१ गते मन्त्रीस्तरीय निर्णयबाट निर्देशिका जारी गरेका थिए।सरकारले असोज १ देखि मुलुकभर छोटो तथा लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो।तर यातायात व्यवसायीले निर्देशिकाको धज्जी उडाउँदै यातायात सञ्चालन गरिरहेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज १४ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर सार्वजनिक यातायात सञ्चालन निर्देशिका कार्यान्वयन र अनुगमनको लागि अनुरोध  गरेको थियो।

भौतिक पूर्वाधार मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर शंकरसिंह धामीले संघीय मन्त्रालयलाई पत्र लेखेर निर्देशिकाको प्रभावकारी कार्यान्वयन तथा कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरण गर्न सार्वजनिक यातायात सञ्चालन तथा यात्रु व्यवस्थापनको लागि उक्त निर्देशिकाले निर्धारण गरे बमोजिमका मापदण्ड यातायात व्यवसायी, व्यवस्थापक, कम्पनी र यात्रुले पालना गरे÷नगरेको विषयमा समिति नै गठन गरी अनुगमन कार्यलाई व्यवस्थित बनाई कार्य सञ्चालनलाई सहज गराउन अनुरोध गरेको थियो।

निर्देशिकामा प्रत्येक खेपपछि सवारी साधन निर्मलीकरण गर्नुपर्ने, यात्रुले एकपटक सवारी प्रयोग गरेपछि सिटको सरसफाइ गर्नुपर्ने, सिट क्षमताको आधा यात्रु राख्नुपर्ने, सवारी साधनमा अनिवार्य रूपमा स्यानिटाइजर राख्नुपर्ने, चालक सहचालकले मास्क लगाउनुपर्ने, यात्रु चढ्नेबित्तिकै सहचालकले यात्रुलाई स्यानिटाइजर दल्न दिनुपर्ने लगायत स्वास्थ्य मापदण्ड छन्।तर व्यवसायीले यी कुनै पनि मापदण्ड राम्रोसँग पालना गरेका छैनन्।साबिकको भाडाभन्दा ५० प्रतिशत बढी लिन पाइने व्यवस्था भए पनि यातायात व्यवसायीले यात्रुबाट झण्डै दोब्बर भाडा असुलिरहेका छन्।

निर्देशिका कार्यान्वयन गर्ने जिम्मेवारी यातायात व्यवस्था विभाग र टाफिक प्रहरीलाई छ।तर दुवै निकायले प्रभावकारी ढंगले अनुगमन तथा निरीक्षण नगर्दा यात्रु असुरक्षित भएका छन्।व्यवसायीले कोभिड १९ महामारीको बेला काठमाडौं उपत्यकामा मनपरी ढंगले सार्वजनिक यातायात सञ्चालन गर्दा संक्रमणको जोखिम झनै बढेको छ।व्यवसायीले विहान र बेलुकाको पिकआवरमा सिट क्षमताभन्दा धेरै यात्रु कोचेर पनि दोब्बरभन्दा धेरै भाडा असुलिरहेका छन्।

ट्राफिक इन्जिनियर आशिष गजुरेलले सार्वजनिक यातायात व्यवसायीले न्यूनतम स्वास्थ्य सतर्कता नअपनाउँदा जोखिम झनै बढेको बताउँछन्।‘अहिले सार्वजनिक यातायातमा यात्रु कोचाकोच राखेर सञ्चालन भइरहेको छ, यसले कोरोना भाइरसको संक्रमणको जोखिम अझै बढाउने छ,’ उनले भने, ‘यातायात व्यवसायी र यात्रु दुवै पक्षले निर्देशिका कडाइपूर्वक पालना गर्नुको विकल्प छैन।’

प्रकाशित: २० आश्विन २०७७ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App