१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

रसुवागढीमा प्रवेश रोक लगाइएको भन्दै कन्टेनर व्यवसायी संघको विरोध

नेपाल ट्रक कन्टेनर व्यवसायी संघले संघमा आवद्ध कन्टेनरलाई रसुवागढी नाका प्रवेशमा रोक लगाइएको भन्दै सो कार्यको विरोध जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै रसुवा क्षेत्रका सीमित व्यवसायीले अघोषित सिण्डिकेट लागू गरेर संघ आवद्ध कन्टेनरलाई नाका प्रवेश गर्न रोक लगाएको आरोप लगाइएको छ । ‘सिण्डिकेट नै खारेज भएको अवस्थामा यस्तो गैरकानुनी कार्यको घोर भत्र्सना गर्दछौँ,’ संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

संघमा आवद्ध कन्टेनर सुरुदेखि नै ढुवानीका लागि रसुवागढी नाका प्रवेश गर्दै आएकोमा बन्दाबन्दी खुलेसँगै व्यवधान खडा गरिँदै आएको सापकोटाले बताए । कोरोना संक्रमणपछि नाका खुलेसँगै सामाग्री लिन रसुवागढीतर्फ अघि बढेका ४०–५० कन्टेनरलाई बेत्रावतीमै रोकी अघि बढ्न नदिइएको प्रेस विज्ञप्तिमा जनाइएको छ । रसुवाका सीमित व्यवसायीले जिल्लाभित्रका कन्टेनरमात्र नाका प्रवेश गर्न दिइरहेको संघको आरोप छ ।

२०७२ वैशाख १२ को भूकम्पपछि तातोपानी नाका बन्द भएसँगै संघ आवद्ध कन्टेनर ढुवानीका लागि रसुवा प्रवेश गरेका थिए । यसअघि संघका कन्टेनर तातोपानी नाकामा केन्द्रित थिए । सुरुदेखि नै त्यहाँका व्यवसायीले संघका कन्टेनर प्रवेशमा अवरोध गर्दै आएको अध्यक्ष सापकोटाले बताए । ‘अहिले अबरोध बढेर सिण्डिकेटकै स्तरमा पुगेको छ,’ उनले भने ।

सबैखाले ट्रक, कन्टेनर बिनारोकतोक रसुवागढी नाका पुगेर सामान लिइ फर्कँने बातावरण बनाउन संघले त्यस क्षेत्रका व्यवसायी र स्थानीय प्रशासनसँग माग गरेको छ । अन्यथा कन्टेनर व्यवसायीलाई संगठित गर्दै आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि संघले दिएको छ ।

प्रकाशित: १३ श्रावण २०७७ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App