१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

दसैं सामग्री आयात गर्न कन्टेनर अभाव

रसुवागढी भन्सार कार्यालयको यार्डमा रोकिएका मालबाहक कन्टेनर। तस्बिर : नागरिक

रसुवा – चीनको केरुङमा कन्टेनरको अभाव भएपछि सामग्री आयात गर्न समस्या भएको छ। कन्टेनर अभावका कारण दसैंका सामग्री केरुङको गोदाममा नै थन्किएका छन्।

नाका जोड्ने सडक बन्द भएका कारण कन्टेनर नेपालतर्फ रोकिएपछि त्यहाँ कन्टेनरको अभाव भएको हो। केरुङबाट सामग्री लिएर आएका कन्टेनर रसुवाको विभिन्न स्थानमा रोकिएका छन्।

दसैंको समयमा कन्टेनरको अभाव भएपछि सामग्री आयात गर्न समस्या भएको व्यवसायी पुरुषोत्तम पौडेलले बताए। ‘दसैंका लागि आएको सामग्री गोदाममा राखिएको छ,’ उनले भने, ‘अब पनि कन्टेनर पु-याउन नसके सामग्री आयात कठिन हुन्छ।’

केरुङको गोमदाममा करिब ३५ प्रतिशत दसैंको सामग्री बाँकी छ। अहिले केरुङमा गाडी नरहेको व्यवसायीले बताएका छन्। गाडीको अभाव भएको आठ दिन भइसकेको उनको भनाइ छ। ‘गाडीको अभाव भएपछि त्यहाँ काम गर्ने पनि फर्किएका छन्,’ उनले भने, ‘बाटो खुलेर गाडी जान थाल्यो भने फर्कने योजना छ।’

केरुङमा अब १० दिन काम हुन्छ। यही सेप्टेम्बर ३० सम्म गाडीमा सिल हुने चिनियाँ पक्षले जनाएको छ। अक्टोबर १ देखि ७ सम्म त्यहाँ सरकारी बिदा हुने भएकाले केरुङमा रहेका नेपाली अक्टोबर १ तिरै फर्कन्छन्।

नाका जोड्ने सडक बन्द भएका कारण कन्टेनर नेपालतर्फ रोकिएपछि त्यहाँ कन्टेनरको अभाव भएको हो।

केरुङमा रहेको ६ वटा गाडीको शुक्रबार नै सिल भएकाले त्यहाँ गाडी शून्य भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए। ‘केरुङमा अहिले गाडी नै नभएको जानकारी आएको छ,’ उनले भने, शनिबार करिब २५ वटा गाडी जाने अनुमान गरिएको छ।’

त्यहाँ जान लागेका गाडी पनि दसैंका सामग्रीभन्दा पनि अन्य सामग्री लिन जान लागेको देखिन्छ। केरुङ जान लागेका गाडीमध्ये सेनाको सामग्री लिन जाने पनि छन्। भन्सार कार्यालयले असोज महिनामा एक अर्ब ४० करोड राजस्व उठाउने लक्ष्य लिएको छ। शुक्रबारसम्ममा १६ करोड राजस्व उठेको छ।

भन्सार यार्डमा करिब चार सय गाडी रहेको प्रमुख भन्सार अधिकृत खड्काले बताए। रसुवागढी नाकामा करिब नौ सय कन्टेनर सञ्चालनमा छन्। ती कन्टेनर सबै नेपालतर्फ नै रहेका छन्। भन्सार यार्डमा भएका गाडीबाट नै राजस्वको नजिक पुग्न सकिने उनको अनुमान छ।

रेडिमेड सामग्री भएको खण्डमा राजस्वको नजिक पुग्न सकिने भए पनि अन्य सामग्री भएमा राजस्वको लक्ष्यमा पुग्न कठिन छ। रसुवागढी नाका जोड्ने दुवै सडकमा अवरोध भएपछि केरुङबाट सयभन्दा बढी कन्टेनर तातोपानीतर्फ लागेका छन्।

प्रकाशित: ९ आश्विन २०७६ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App