७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

तापक्रम बढ्दा केराको मूल्य पनि बढ्ने

जलवायु परिर्तनका कारण पृथ्वीको तापमान बढ्दै जाँदा विश्वका अत्यधिक मन पराइने र ठूलो स्तरमा निर्यात हुने केराको मूल्य अत्यधिक बढ्ने देखिएको छ।

वल्र्ड बनाना फोरमका प्रमुख अर्थशास्त्री पास्कल लिउका अनुुसार जलवायु परिवर्तनका कारण आपूर्ति व्यवस्थामा निकै ठूलो नकारात्मक प्रभाव पर्ने र केरामा लाग्ने छिटो सर्ने रोगको प्रकोप बढ्ने देखिएको छ। इटालीको रोममा मंगलबार फोरमको बैठकमा यो चुनौतीसँग लड्ने विषयमा छलफल हुँदै छ।

समुन्द्री आँधीका कारण बेलायतका केही पसलमा केराको अभाव देखिइसकेको छ। केरा विश्वमै अत्याधिक निर्यात हुने फलफुलमा पर्छ। बेलायतले मात्र हरेक वर्ष पाँच अर्ब अमेरिकी डलर बराबरको केरा निर्यात गर्छ। निर्यातित केरामध्ये ९० प्रतिशत सुपर मार्केटबाट बिक्री हुन्छन्।

गत साता मात्र बेलायतका कैयन सुपरमार्केटमा केराको अभाव देखिएको थियो। थोक बिक्रेताका अनुसार समुन्द्रमा आएको आँधीका कारण आपूर्ति ढिलो हुँदा यस्तो अभाव देखिएको हो। यस प्रकारका आपूर्तिजन्य अल्पकालीन समस्या यसअघि पनि हुने गरेको सन्दर्भमा वैज्ञानिकले त्योभन्दा बढी पृथ्वीको तापमान बढेकै कारणले केरामा लाग्ने रोगको प्रकोप बढ्दा चुनौती झन थपिएको बताएका छन्।

‘केराको उत्पादन र आपूर्तिमा जलवायु गंभीर समस्या बनेको छ,’ संयुक्त राष्ट्रसंघको छाता समूहमा पर्ने बल्र्ड बनाना फोरमका लिउ भन्छन्। यो फोरममा विश्वका केरा उत्पादक देश, थोक बिक्रेता, निर्यातकर्ता तथा अनुसन्धानकर्ता आवद्ध रहेकाछन्। तापक्रमसँग केरा उत्पादनको प्रत्यक्ष सम्बन्ध रहेको सन्दर्भमा मौसम प्रतिकूल हुने कतिपय स्थानमा केराका उत्पादन सम्पूर्ण रूपमा ठप्प हुने आँकलन गरिएको छ।

विशेषगरी ‘बिल्ट टिआर ४’ नाम गरेको फंगल संक्रमणले सबैभन्दा बढी प्रभावित गर्ने देखिएको छ। सुरुमा अष्ट्रेलिया र एसियामा देखिएको यो रोग अफ्रिका र दक्षिण अमेरिकासम्म फैलिइसकेको छ। केराको बोटमा यो रोग लागेपछि यो तीव्र रूपमा विस्तार हुने र यसलाई नियन्त्रण गर्न कठिन हुने विज्ञ मान्छन्।

यो किराको उत्परिवर्तन(म्युटेसन)का कारण केराको सबैभन्दा लोकप्रिय प्रजाति ‘केभिन्डिस’ समेत जोखिममा रहेको मानिएको छ। ‘फुसारियमका स्पोरहरू बाढी र हावाका कारण तीव्र रूपमा प्रसारण हुन्े गर्छन्,’ फोरममा लिउ थप्छन्। यसैगरी, केराखेतीमा प्रयोग हुने मलको मूल्यमा भएको वृद्धि, ऊर्जा तथा पारवहन खर्चमा बढोत्तर तथा कामदारह अभावले केरा उत्पादन प्रभावित भएको देखिएको छ।

यसले बेलायतलगायत विश्वका अन्य देशमा केराको मूल्य बढ्ने देखिएको हो। ‘आपूर्तिको अवस्थामा उल्लेख सुधार नभएको अवस्थामा अबका केही वर्षमा केराको मूल्य बढ्नेछ,’ लिउ भन्छन्। रोममा हुने फोरमका बैठकमा केराको उत्पादन र आपूर्तिलाई कसरी दिगो राख्ने विषयमा केन्द्रित हुने भएको छ।

पछिल्ला समयमा उपभोक्ताहरू दिगो हिसाबले उत्पादन गरिएका केराप्रति अत्यधिक रुची देखाउन थालेका छन्। उत्पादनमा वातावरणमैत्री बनाउने मात्र नभई तेस्रो पक्षले दिगो हिसाबले केरा उत्पादन गरेको भन्ने प्रमाण उपभाक्ताले चाहेका छन्।

‘यस प्रकारको व्यवस्थाले उत्पादकलाई दिगो हिसाबले केरा उत्पादन गर्न प्रेरणा दिनेछ’, फोरमका लिउ भन्छन्। लिउका अनुसार नियन्त्रण र अनुगमनका व्यवस्था लागु गर्दा यसले केराको मूल्यसमेत बढ्न सक्छ।  –बिबिसी

प्रकाशित: १ चैत्र २०८० ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App