७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

विदेशी पर्यटक आगमनः फेब्रुअरीको आगमनमा ३३ प्रतिशत बढी

पोखरा भित्रिएका पर्यटकलाई जानकारी दिँदै व्यावसायी। फाइल तस्बिरः नागरिक

सन् २०२३ को फेब्रुअरीको तुलनामा ३३ प्रतिशत बढी हुनेगरि २०२४ को फेब्रुअरीमा झन्डै एकलाख विदेशी पाहुना नेपाल भित्रिएका छन्। २०२४ को फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना विदेशी पाहुना हवाई माध्यमबाट मात्र नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ।  

बोर्डका अनुसार सन् २०२३ को फेब्रुअरीमा नेपालमा ७३ हजार २ सय ५५ जना विदेशी पाहुना भित्रिएका थिए। त्यसमा ३३ प्रतिशत बढी हुनेगरि यो फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए।  

लामिछानेका अनुसार सबैभन्दा बढी पर्यटक भित्रिएको वर्ष २०१९ हो। सन् २०१९ को फेब्रुअरीको तुलनामा भने यो पटक ९५ प्रतिशत सुधार भएको उनले बताए। २०१९ मा नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको सरकारी तथ्यांक छ। २०१९ को फेब्रुअरीमा मात्र नेपालमा १ लाख २ हजार ४ सय २३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।  

त्यसपछिका वर्ष कोरोना भाइरस संक्रमणले प्रभाव पारेर विदेशी पाहुनाको आगमन ओरालो लागेको थियो। कोरोनाका कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई २०२०, २०२१ र २०२२ मा अधिक असर पारेको थियो। २०२०को फेब्रुअरीमा नेपालमा ९ हजार २ सय ६६ जना, २०२१ फेब्रुअरीमा ८ हजार ८ सय ७४ र २०२२ को फेब्रुअरीमा १६ हजार ७ सय ९५ जना विदेशी पाहुना नेपाल भित्रिएको लामिछानेले जानकारी दिए।  

‘मार्चबाट पर्यटकको सिजन सुरु हुने भएकोले आगामि महिनाको आगमन यो भन्दा अझै बढी हुनेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन  गर्ने हो भने यो संख्या अझै बढी हुन्थ्यो, तर सोचेजति अझै प्रवद्र्धन हुन सकेको छैन।’

 कोभिडको कारणले प्रभावित भएको पर्यटन क्षेत्र २०२४ पछि मात्र रिभाईभ हुने सुरुकै आँकलन अनुसार सुधार भईरहेको पनि उनले बताए। लामिछानेले भने, ‘अबको केही महिनाको आगमन यो भन्दा बढी हुनेमा हामी ढुक्क छौं।’

फेब्रुअरीमा पनि नेपाल भित्रिने विदेशी मध्ये सबैभन्दा ठूलो हिस्सा भारतीयको रहेको छ । फेब्रुअरीमा २५ हजार ५ सय ७८ जना भारतीय पाहुना नेपाल भित्रिएका थिए। त्यसपछिको ठूलो संख्या चिनियाँको छ। चिनियाँको संख्या ९ हजार १ सय ८० रहेको छ। त्यसपछि अमेरिकी पर्यटकको आगमन बढी छ। फेब्रुअरीमा मात्र ९ हजार ८९ जना अमेरिकी पाहुना नेपाल भित्रिएका छन। चौथो नम्बरमा रहेको थाइल्याण्डका पर्यटकको संख्या ४ हजार ७ सय ९९ जना रहेका छन।  

यो फेब्रुअरीमा भित्रिएका बेलायती पाहुनाकोमात्र संख्या ४ हजार ५ सय ७१ रहेको छ । छैठौं नम्बरमा रहेको बंगलादेशी पाहुनाको संख्या ४ हजार ९९ रहेको बोर्डको तथ्यांक रहेको छ। श्रीलंका, अस्ट्रेलिया, म्यानमार र जर्मनीका पाहुनाको आकार त्यसपछिको आगमन बढी रहेको बोर्डले बताएको छ। ‘भारतीयको आकार यो भन्दा पनि बढी छ। किनकी धेरै भारतीय पाहुना स्थलमार्गबाट पनि नेपाल भित्रिन्छन,’ निर्देशक लामिछानेले भने।

प्रकाशित: १८ फाल्गुन २०८० १४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App