१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘जाउँ है पोखरा’ अभियानः शैक्षिक भ्रमणदेखि ‘हनिमुन’ सम्मको प्याकेज

जाउँ है पोखरा अभियान अन्तर्गत आइतबार नेपालगञ्जमा भएको छलफल। तस्बिरः नागरिक

पोखरा र आसपासका क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटक लक्षित गर्दै पोखराका होटल व्यावसायीले विभिन्न पाँचवटा नयाँ प्याकेज ल्याएका छन्। होटलमा खाने, बस्ने र घुमघाम सहितको प्याकेज अरुबेलाको भन्दा केही सस्तो पर्ने पर्यटन व्यावसायीको भनाई छ। ‘जाउँ है पोखरा’ अभियानमा निस्केको होटल संघ पोखराले अभियानकै क्रममा प्याकेज पनि सार्वजनिक गरेको छ।  

होटल संघ पोखराले पोखरामा आन्तरिक पर्यटक आकर्षण गर्न अढाई दशक अघि जाउँ है पोखरा अभियान थालेको थियो। यो अभियान अहिले आन्तरिक पर्यटक भित्र्याउने सबैभन्दा गतिलो माध्यम बनेको व्यावसायीले बताएका छन्। संघले पोखरामा आन्तरिक पाहुना बोलाउन यो बेला विभिन्न सहरमा यही अभियान चलाईरहेको छ। पश्चिम नेपालका विभिन्न सहरमा अहिले अभियान चलाएको संघले बताएको छ।  

संघका अध्यक्ष लक्ष्मण सुवेदीले प्याकेज अन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा–मुक्तिनाथ र पदयात्रा प्याकेज सार्वजनिक गरेको बताए। होटलमा बस्ने, खाने र घुम्ने सम्बन्धी यी प्याकेज दुई देखि चार रातसम्मका र तीन हजारदेखि २६ हजार रुपैयाँ मूल्यका रहेको उनले बताए। 

‘पाहुनाले खर्च गर्ने क्षमता अनुसार प्याकेज लिन पाउँछन्। कहाँ के कति खर्च गर्ने भन्ने पाहुनाले नै निर्णय गर्ने हुन्,’ उनले भने, ‘सामान्य समयको भन्दा केही सस्तो पर्न जान्छ। यसले आन्तरिक पाहुनालाई पोखरा घुम्न आउनका लागि प्रोत्साहन मिल्छ।’ यो प्याकेजले सबैप्रकारका पाहुनालाई समेट्ने पनि उनले बताए।

जाउँ है पोखरा अभियान अन्तर्गत अहिले व्यावसायीले भैरहवा, नेपालगञ्ज लगायतका सहरका व्यावसायीसँग भेटघाट र छलफल गरिसकेका छन्। प्रवद्धर्नको यही अवसर पारेर व्यावसायीले ती सहरमा आन्तरिक पर्यटक लक्षित कार्यक्रम र प्याकेज पनि सार्जजनिक गरेका हुन्। संघले यो पाटक भैरहवा, नेपालगञ्ज, महेन्द्रनगर धनगढी लगायतका सहरमा प्रवद्धर्नात्मक अभियान चलाउने अध्यक्ष सुवेदीले बताए।

देशमा द्वन्द्व चल्दै गर्दा सुरु गरिएको ‘जाउँ है पोखरा’ अभियानको प्रभाव सकारात्मक पर्दै गएको र अभियानकै कारण देशैभरिका आन्तरिक पाहुनामा घुम्ने बानीको विकास भएको अध्यक्ष सुवेदीको भनाई छ। उनका अनुसार यो अभियानकै कारण पोखरामा आन्तरिक पाहुनाको हिस्सा निकै नै बढेको छ। अभियान सुरु गर्दा ताका ५ प्रतिशत रहेको आन्तरिक पाहुनाको हिस्सा अहिले बढेर ३५ देखि ४० प्रतिशत पुगेको उनले बताए । कुनै बेला त यो हिस्सा झनै बढेर ६० प्रतिशतसम्म पनि पुग्ने गरेको व्यावसायीले बताउँदै आएका छन्।

‘आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार बनेको छ। यो मान्यता पछिल्लो समय झनै पुष्टि भएको छ। किनकी आन्तरिक पाहुनाले नै अहिले पर्यटन क्षेत्र चलायमान बनाएको छ,’ संघका उपाध्यक्ष दीपक श्रेष्ठले भने, ‘बेलाबेला चलाइएको अभियानकै कारण पर्यटक आगमनमा सकारात्मक प्रवद्धर्न पनि भएको छ।’  

प्रवद्र्धन अभियानका क्रममा पोखराका होटल व्यावसायीले स्थानीय व्यावसायीसँग छलफल, अन्तरक्रिया पनि गरेका छन्। त्यस क्रममा पोखरा र भैरहवामा तयार भएका अन्तर्राष्ट्रिय विमानस्थल सही रुपमा चल्न नसकेको उनीहरुको भनाई छ। विमानस्थलबाट आन्तरिक उडान भईरहेपनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु कमजोरी रहेको व्यावसायीले दुखेसो पोखे।

प्रवद्धर्न अभियानमा सहभागि पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिइएको भएपनि त्यो अनुसार प्रतिफल नपाएको बताए। अन्तर्राष्ट्रिय विमानस्थललाई आन्तरिकमा मात्र सीमित राख्न खोजेको खण्डमा आफुहरुको धैर्यताको बाँध टुट्ने र आन्दोलन गर्न बाध्ये हुने उनले चेतावनी दिए।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग हाम्रो ठूलो अपेक्षा हो। तर, धैर्यताको बाँघ फुट्ने अवस्थामा आन्दोलन गर्न बाध्य हुनेछौ’ उनले भने, ‘किनकी विमानस्थललाई आन्तरिक उडानमा मात्र सीमित राख्ने प्रयास भएको छ।’ पोखरामा आन्तरिक पाहुना भित्र्याउन गरिएका प्रयासले पर्यटन क्षेत्र चलायमान रहिरहन सफल भएको अध्यक्ष श्रेष्ठले बताए।  

संघका महासचिव राजेन्द्र ढकालले पश्चिम भेगबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पश्चिम क्षेत्रमा पठाउने उद्देश्य पनि कार्यक्रमले लिएको बताए। कोरोना भाइरस संक्रमणबाट थलिएको पर्यटन क्षेत्रलाई लयमा फर्काउन पनि यो अभियानले सघाउने ढकालले बताए।  

त्यसैगरि अभियानकै क्रममा आइतबार नेपालगञ्जमा पनि व्यावसायिक छलफल भएको छ। संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालगंज–पोखरा हवाई उडानले पर्यटनमा सकारात्मक प्रभाव परेको बताउँदै यसलाई नियमित रुपमा संचालन गर्नुपर्ने बताए। अहिले पोखरा–नेपालगञ्ज सातामा तीनदिनमात्र उडान रहेको र यो आकारलाई दैनिक बनाउन सके पर्यटक आउजाउमा सहज हुने उनको भनाई छ।  

परिषद्का अध्यक्ष श्रेष्ठले नेपालगञ्ज र पोखराबीचको हवाई सेवा विस्तार र स्तरीय बस सेवाको आवश्यकता रहेका पनि बताए। कुनैबेला पोखरा–नेपालगञ्ज दैनिक उडान थियो। अहिले सातमा तीनदिन भईरहेको छ। उडान संस्था दिनहुँ बनाउने हो भने हामीले पनि साथ दिन्छौ,’ उनले भने, ‘भारतीय पर्यटकलाई सहजै पोखरा पु¥याउने सहज माध्यम हवाई सेवा भएकोले नेपालगञ्ज र पोखराका व्यावसायीले पनि साथ दिनुपर्छ। हवाई मात्र नभई स्थल यातायातलाई पनि सहज बनाउनु पर्छ।’

प्रकाशित: १ पुस २०८० १०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App