१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

दुग्ध उद्योगमा लगानी बढ्यो

काठमाडौं- दूध उत्पादन र बजार बढेसँगै दुग्ध उद्योगमा लगानी बढ्दै गएको छ । सरकारले दूधमा आत्मनिर्भर बन्ने योजना ल्याएपछि सानादेखि ठूला लगानीकर्ता आकर्षित भएका छन् । किसानले उत्पादन गरेको १५ प्रतिशत दूध (करिब ६ लाख लिटर) मात्र डेरीमार्फत बिक्री वितरण भइरहेकोले दूध र दुग्ध उत्पादनको बजार व्यवस्थित गर्न लगानी बढाएका हुन् । नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन भए पनि ३५ प्रतिशत (करिब १६ लाख) लिटर अनौपचारिक च्यानलबाट बजारमा गएको छ । करिब २४ लाख लिटर (५० प्रतिशत) दूध किसान आफैंले उपभोग गर्दै आएका छन् ।

बजारमा नआएको दूधलाई व्यवस्थित रुपमा उपभोक्तासम्म पु¥याउन केही वर्षयता निजी डेरी उद्योगले लगानी बढाउँदै लगेका छन् । सो दूध बजारमा ल्याए किसानको आयस्तर सुध्रने विश्वास गरिएको छ । दूध उद्योगमा निजी क्षेत्रले १५ अर्ब रुपैयाँभन्दा बढीको लगानी गरिसकेको डेरी एसोसिएसनले जनाएको छ । ‘डेरी उद्योगमा लगानी आउने क्रम जारी छ,’ एसोसिएसनका अध्यक्ष सुमित केडियाले भने, ‘यस क्षेत्रमा सम्भावना देखेर लगानीसमेत बढाएका छन् ।’

एसोसिएसनका अनुसार मुलुकभर करिब ८ सय डेरी उद्योग छन् । मझौला र ठूला २ सय उद्योग छन् भने करिब ६ सय साना छन् । निजी क्षेत्रबाहेक सरकारी स्वामित्वको नेपाल दुग्ध विकास संस्थानले पनि करोडौं लगानी गरेको छ ।

डेरी उद्योग फस्टाउँदै गएपछि पाउडर दूधको आयात घटेको छ । डेरी उद्योगमा बैंक तथा वित्तीय संस्थाले समेत लगानी बढाएका छन् । डेरी उद्योगले दूध, दही, मही, पनिर, बटर, घिउ, खुवा, पुष्टकारी, आइसक्रिम जस्ता दुग्ध पदार्थ उत्पादन गरेका छन् । लामो लोडसेडिङको कारण उद्योग सञ्चालनमा भने कठिनाइ भएको व्यवसायीको गुनासो रहेको छ ।

विश्व खाद्य संगठन (डब्लुएफओ)का अनुसार नेपालमा प्रतिदिन एकजना व्यक्तिलाई २ सय ५० ग्राम दूध आवश्यक पर्छ । प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध उपभोग गर्नुपर्ने भए पनि अहिले ६४ लिटरमात्र पाइरहेका छन् । ‘एक तिहाइ दूध अझै अभाव छ,’ पशुपक्षी मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले भने, ‘दूध उत्पादन बढाउन पहल गरिरहेका छौं ।’ नेपालमा वार्षिक १७ लाख ३४ हजार मेट्रिक टन दूध उत्पादन हुन्छ । स्वस्थ रहनका लागि हरेक व्यक्तिले प्रतिवर्ष ९८ लिटर दूध उपभोग गर्नुपर्ने भए पनि उक्त परिमाण अनुसारको पोषण पाएका छैनन् ।

आम उपभोक्तालाई आवश्यकता अनुसार दूध अझै परिपूर्ति नभएकाले यसको बजारलाई व्यवस्थित गनुपर्ने एसोसिएसनले जनाएको छ । ‘उपभोक्ताले प्रयोग गर्नुपर्ने दूध अझै प्रयोग गरेका छैनन्,’ एसोसिएसनका महासचिव प्रह्लाद दाहालले भने, ‘उपभोग गर्ने बानी बढ्दै गएकोले दूधको माग पनि बढ्दैछ ।’

डेरी उद्योगमा २० हजार जनाले प्रत्यक्ष रोजगारी र ४ लाख ५० हजार किसान यसमा संलग्न भएको दाहालले बताए । ‘दूधको प्रयोगमा मानव स्वास्थ्यको आवश्यकतासँगै रोजगारी पनि जोडिएको छ,’ उनले भने ।

नेपालमा करिब ७२ लाख ४१ हजार ७ सय गाई, ५१ लाख ६७ हजार ७ सय भैंसी पालिएको छ । १७ लाख २४ हजार ८ सय २३ मेट्रिक टन दूध उत्पादन हुने पशुपक्षी मन्त्रालयले जनाएको छ । त्यसमा ५ लाख ५७ हजार ६ सय टन गाईको र ११ लाख ६७ हजार १ सय टन भैंसीको योगदान रहेको तथ्यांकले देखाउँछ ।

बजारमा दैनिक करिब ४८ लाख लिटर दूध माग भए पनि साढे ४६ लाख लिटरमात्र उत्पादन छ । अपुग माग धान्न भारतबाट धुलो दूध आायत हुने गरेको छ । यहाँको उत्पादनले नपुगेपछि भारतबाट समेत आउने गरेको छ । डेरी उद्योगलाई अझै व्यवस्थित गरे आयात प्रतिस्थापन हुने सरकारी अधिकारी बताउँछन् । ‘दूधमा आत्मनिर्भर बन्ने योजना बनाएका छौं,’ पशुपक्षी विभागका निर्देशक केशव प्रेमीले भने, ‘दूध बजारलाई व्यवस्थित गर्न डेरी उद्योगको पनि भूमिका महŒवपूर्ण हुन्छ ।’

दूध उत्पादन बढाउन र बजार व्यवस्थित गर्न पशुपक्षी मन्त्रालयले पशुपालनसहित दूध उत्पादनलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । गाई, भैंसीपालनको लागि किसानलाई सहुलियत दरमा ऋण दिने कार्यक्रम नीति तथा कार्यक्रममा ल्याएको छ । ‘किसानलाई ६ प्रतिशतमा लगानी गर्ने कार्यक्रम छ,’ मन्त्रालयका प्रवक्ता पौडेलले भने, ‘पकेट क्षेत्र विकास गरेर पशुपालनलाई प्राथमिकतामा राखेका छौं ।’ ४५ जिल्लामा सघन रुपमा पशुपालन विस्तार गर्ने मन्त्रालयको योजना छ ।

दूधमा आत्मनिर्भर बन्ने योजना अघि सारेको सरकारले उन्नत जातका गाई, भैंसीमार्फत उत्पादकत्व बढाउन नयाँ रणनीति तय गरेको हो । परम्परागत रुपमा पालिएका गाई, भैंसीको उत्पादकत्व कमजोर भएपछि किसानलाई उन्नत जातका पशु पाल्न प्रोत्साहन गर्न कार्यक्रम ल्याएको छ । सरकारले दूध प्रशोधन र दूधजन्य उत्पादनको विविधीकरण गरी मिल्क होलिडे समस्याको समाधान गर्न, बुटवलमा युएचटी दूध प्रशोधन प्लान्ट स्थापना गर्ने, कोहलपुर र अत्तरयिामा दुग्ध विकास संस्थानको प्रशोधन क्षमता बढाउने समेत कार्यक्रम छ ।

प्रकाशित: २० आश्विन २०७३ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App