२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सराङकोटबाट हट्ने नै भयो प्याराग्लाइडिङ, दिनमा चारघण्टा मात्र उड्न पाउने

अब मान्द्रेढुंगाबाट उड्न पाउने

पोखराको आकाशमा उडिरहेको प्याराग्लाइडिङ। फाइल तस्बिरः नागरिक

आगामि जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भएपछि यहाँस्थित सराङकोटको आकाशमा उडान भइरहेको प्याराग्लाइडिङ सधैंका लागि बिस्थापित हुने भएको छ। सराङकोटबाट बिस्थापित भएको प्याराग्लाइडिङ त्यहाँबाट झन्डै ५ किलोमिटर पश्चिमको मान्द्रेढुंगाबाट मात्र उड्न पाउने भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै पोखराको सराङकोट आकाशमा झन्डै अडाई दशकदेखि उडिरहेको प्याराग्लाइडिङ बिस्थापित हुने नेपाल नागरिक उड्ययन प्राधिकरण(क्यान)ले जनाएको छ। प्राधिकरणले दिनमा चारघण्टा (बिहान ११ देखि दिउँसो ३ बजे) मात्र प्याराग्लाइडिङ उडान गर्न पाउने गरि समय पनि तोकिदिएको छ। यसअघि बिहान साढे नौ देखि दिउँसो साढे ३ बजेसम्म सराङकोटको आकाशमा प्याराग्लाइडिङ उड्दै आएका थिए।

प्राधिकरणका अनुसार पोखरामा अहिलेसम्म चारवटा प्याराग्लाइडिङ जोन (सराङकोट, तोरिपानी, मान्द्रेढुंगा र तामागि) थिए। तर, अब सराङकोट, तोरीपानी र तामागिलाई हटाएर मान्द्रेढुंगा मात्र कायम राखिएको छ । सराङकोट, तोरिपानी र तामागिको प्याराग्लाइडिङ जोन हटाएको बारे ‘नोटाम’ जारी गर्ने निर्णय भएको प्राधिकरणले बताएको छ।

‘चल्तीका तीनवटा ठाउँमा अब उडान गर्न पाँइदैन, मान्द्रेढुंगामा मात्र उड्न पाइन्छ,’ प्राधिकरण श्रोतले भन्यो, ‘मान्द्रेढुंगा बाहेकका ठाउँ विमानस्थलको नजिकका र हवाई ट्राफिक भीडभाड हुने क्षेत्र भएकोले मान्द्रेढुंगा मात्र तोकिएको हो।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सेन्टरबाट १० नटिकल माइल (१८.५२ किमि) भित्र प्याराग्लाइडिङ, बेलुन लगायत उडान गर्न नपाइने प्राधिकरणले बताएको छ। त्यस्तै हवाई रुटको दायाँबायाँ ५–५ नटिकल माइल (९.२६ किमि) भित्र पनि प्याराग्लाइडिङ र बेलुन उडान गर्न नमिल्ने प्राधिकरणको भनाइ छ। ‘१० नटिकल माइल भित्र पर्ने क्षेत्रमा अहिले उडानमा रोक लगाइएको हो,’ प्राधिकरण श्रोतले भन्यो। 

त्यस्तै प्राधिकरणले मान्द्रेढुंगाको प्याराग्लाइडिङ जोनमा पनि एकमहिनाका लागि मात्र परीक्षणको रुपमा उडान गर्न पाइने बताएको छ। बिहान ११ देखि दिउँसो ३ बजेसम्म उडान गर्न पाइने प्राधिकरणले बताएको छ। बिहान ११ देखि दिउँसो ३ बजेसम्म (चारघण्टा) मात्र उडान गर्न अनुमति दिएको र त्यसले हवाई उडानमा कुनै अप्ठेरो पार्ने अवस्था आएमा एकमहिनापछि सोच्नुपर्ने अवस्था आउने श्रोतले बताएको छ।  

‘दिनमा चारघण्टाका लागि मान्द्रेढुंगामा उड्न पाइन्छ। प्याराग्लाइडिङका त्यो उडानले हवाई क्षेत्रमा कत्तिको असर पर्छ भनेर अध्ययन हुनेछ। कुनै अप्ठेरो आइपरेमा त्यसपछि प्याराग्लाइडिङका लागि सोच्नुपर्ने हुनेछ,’ श्रोतले भन्यो, ‘मान्द्रेढुंगामा बिहान ११ देखि दिउँसो ३ बजेसम्मको उडान अवधिलाई परीक्षणमा राख्ने र त्यसका लागि पनि नोटाम जारि गर्ने तयारी भएको छ।’  

प्राधिकरणका अनुसार पोखरा उपत्यकाभित्र झन्डै ६ किलोमिटर चौडाई र २६ किलोमिटर लम्बाईको एयरस्पेस छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिम बिन्दुबाट हाल चालु विमानस्थलसम्मको दूरी २.५ किलोमिटर, फेवातालसम्म ५ किलोमिटर र प्याराग्लाइडिङ उडान हुने क्षेत्रसम्म ६ किलोमिटरको दूरी पर्छ। अहिले पोखराको आकाशमा उडान गर्ने प्याराग्लाइडिङले सराङकोट र तोरीपानीको आकाशमा ७ हजार र मान्द्रेढुंगाको आकाशमा ६ हजार फिट उचाईसम्म मात्र उड्न पाउँछन्। डिपार्चर (पश्चिम हुँदै उड्ने) र मिस एप्रोच (पूर्वबाट अवतरण गर्ने क्रममा समस्या भएमा) मा समस्या आउन सक्ने भन्दै प्याराग्लाइडिङलाई हाल उडिरहेको आकाशमा उड्न दिन नमिल्ने प्राधिकरणले बताएको हो।  

प्राधिकरणले हवाई सुरक्षाको दृष्टिकोणले यात्रुलाई थप सुरक्षाको प्रत्याभूति दिलाउन नियमित रुपमा अनुगमन गर्नुपर्ने पनि बताएको छ। त्यसका लागि प्याराग्लाइडिङ व्यवसायिको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)ले हरेक दिन स्लट निर्धारण गर्नुपर्ने प्राधिकरणले बताएको छ। त्यस्तै प्याराग्लाइडिङ जोन मित्र उडान गर्ने प्रत्येक यात्रुलाई नेपाल हवाई खेलकुद संस्था (ना) ले शुल्क सहितको बोर्डिङ पास जारी गरि नियमन गर्ने र उक्त शुल्क सहितको यात्रु विवरण प्राधिकरणलाई बुझाउनुपर्ने पनि प्राधिकरणले बताएको छ।  

व्यवसायीले भने मान्द्रेढुंगा एकल (सोलो) उडानका लागि उपयुक्त गन्तव्य भएपनि व्यवसायिक उडानका लागि उत्तिसारो उपयुक्त नभएको बताएका छन्। संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले मान्द्रेढुंगा व्यवसायिक भन्दा सोलो उडानका लागि उपयुक्त गन्तव्य भएको बताए। ‘पोखरामा मौसमी परिवर्तन भइरहन्छ । सराङकोट जत्तिको उपयुक्त ठाउँ मान्द्रेढुंगा हुनै सक्दैन। तरपनि पोखरामै प्याराग्लाडिङ रहने भएकोले हामी मान्द्रेढुंगा पुग्न बाध्य भयौं,’ उनले भने। उनका अनुसार मान्देढुंगाबाट उडान भरेपछि प्याराग्लाइडिङ फेवातालको सिरान क्षेत्रमा पर्ने पामे वा चंखपुरमा अवतरण हुनेछ।  

सुरुमा एकमहिना समय परीक्षणका लागि दिएको पनि भण्डारीले बताए। केही पाइलटले यसअघि मनलाग्दी उडान गर्दा समस्या भएकोले प्राधिकरणले व्यवसायलाई नियमनमा राख्नका लागि पनि एकमहिना परीक्षण समय दिएको भण्डारीले बताए। ‘हामीलाई नै नियमन गर्नका लागि एकमहिना दिएको हो। सुरक्षाको विषयमा कदापि हेलचेक्रयाँई हुँदैन, अब पनि गल्ती गरेमा सधैंका लागि बिस्थापित हुनेछौं,’ उनले भने, ‘व्यवसायिक रुपमा उत्तिको सहज नहुँदा पनि मान्द्रेढुंगा जानुपरेको छ। त्यहाँ पनि मनपरि भएमा पोखराले सधैंका लागि प्याराग्लाइडिङलाई बिस्थापित गर्ने छ। पोखरामा प्याराग्लाइडिङ जोगाउनका लागि पनि अनुशासनमा रहेर उड्नुपर्ने हुन्छ।’  

प्रकाशित: १३ पुस २०७९ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App