४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘पोस्ता दानाको आयात खोल्न बिचौलियाको लबिङ’

विदेशी मुद्राको सञ्चितिमा दबाब कायम रहेका बेला केही बिचौलियाले भारततर्फ तस्करी हुने पोस्ता दानाको आयात खोल्न तीव्र लबिङ गरेका छन्। विदेशबाट आयात गरेर भारततर्फ तस्करी गर्दा करोडौं रूपैयाँ मुनाफा हुने भएपछि उच्च राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर पोस्ता दाना आयात खोल्न बिचौलियाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दबाब बढाएका छन्।

स्रोतका अनुसार करिब १० हजार मेट्रिक टन पोस्ताको आयात खुलाउन लबिङ हुँदै आएको छ। पोस्ता दाना मिठाईमा प्रयोग हुने कच्चा पदार्थ हो। मन्त्रालय स्रोतका अनुसार एक ‘भट्ट थरका बिचौलिया’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत मिलाएर आयात खोल्न भनी व्यापारीलाई आश्वासन दिएका छन्। ती बिचौलियाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू र सचिव तोयम रायलाई समेत भेटेर आयात खोल्न लबिङ गरेको मन्त्रालय स्रोतले बतायो। ‘पोस्ता दानाको आयात खोल्न मन्त्री र सचिवज्यूलाई दबाब दिइरहेका छन्,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘खोल्ने विषयमा कुनै निर्णय भएको छैन।’

मुलुकमा खपत नहुने र यहाँ आवश्यक नभएको वस्तु खोल्दा आलोचना खेप्नुपर्ने भएकाले कर्मचारी आयात खोल्ने पक्षमा छैनन्। मोटो रकम आउने भएपछि व्यापारीले उच्च राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर आयात खोल्न लबिङ गरिरहेका छन्। ‘हामी खोल्ने पक्षमा छैनौं,’ मन्त्रालयको एक उच्च अधिकारीले भने, ‘माथि (मन्त्रिपरिषद्) बाटै निर्णय भएर आयो भने हाम्रो के लाग्छ र?’

आयात खोल्न विभागले टिप्पणी उठाएर मन्त्रालयमा पेस गर्नुपर्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोटा तोक्ने कानुनी व्यवस्था छ। पोस्ता दानाको आयात खोल्ने विषयमा कुनै प्रक्रिया अघि नबढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले बताए। ‘हामी आयात खोल्ने पक्षमा छैनौं,’ उनले भने, ‘कुनै व्यापारी आवेदन लिएर आएका छैनन्। हामीले पनि हल्ला सुनेका हौं।’

महेश भट्टराईमहानिर्देशक, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

नेपालमा अहिले पोस्ता दाना आवश्यक नभएकाले आयात गर्न ठिक नहुने उनले बताए। ‘विभागको तर्फबाट मन्त्रलायलाई आयात नखोल्न सुझाव दिएको छु,’ महानिर्देशक भट्टराईले भने, ‘पोस्ता ल्याउन आवश्यक छैन।’

परिमाणात्मक बन्देज लगाइएका वस्तुको बीचबीचमा राजनीतिक प्रभावमा आयात खोल्ने गरिएको छ । पोस्ता दाना, सुपारी, केराउ लगायत परिमाणात्मक बन्देजका वस्तु आयात खुला गर्दा भन्सारदेखि उच्च राजनीतिक नेतृत्वसम्म भाग पुग्ने गरेको व्यापारीहरू बताउँछन्।

पोस्ता दाना मात्र नभएर सुपारी पनि तेस्रो मुलुकबाट आयात गरेर भारततर्फ तस्करी हुने गरेको छ। नेपाली उद्योगका लागि भनेर ल्याइने सुपारी भारततर्फ निकासी हुने गरेको छ। व्यापारीले नेपालबाट ९ हजार ७७० मेट्रिक टन सुपारी निकासी गर्न वैधानिक अनुमति भए पनि अरू सुपारी चोर बाटोबाट भारत पठाउने गरेका छन्।

नेपालबाट भारत सुपारी निर्यात गर्दा तोकिएको परिमाणका लागि शून्य भन्सार भएकाले त्यसकै फाइदा उठाउँदै केही व्यापारीले विदेशबाट आयात गरेर नेपालमा उत्पादन भएको भन्दै भारत पठाउने गरेका छन्। भारतमा अन्य मुलुकबाट सुपारी आयात गर्दा भन्सार शुल्क भन्सार मूल्यमा १०० प्रतिशत महसुल तथा  र १० जिएसटी लाग्छ। विदेशबाट ल्याएर नेपालको उत्पादन भन्दै भारत निकासी गर्दा महसुल बापतकाे रकम जोगिन्छ।

प्रकाशित: २९ मंसिर २०७९ ००:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App