१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ को विमोचन

आख्यानकार विश्वराज अधिकारीको ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ कथासंग्रहको विमोचन गरिएको छ। काठमाडौंको बत्तीसपुतलीस्थित तृप्त रेस्टुरेन्टमा एकसमारोबीच सो कृतिको विमोचन गरिएको हो।

अमेरिकी नेपाली प्रवासी कथा समेटिएको विमोचित कृतिबारे बोल्दै दीनबन्धु शर्माले संग्रहमा द्वन्द्वमा फसेका प्रवासी नेपालीका कथा, व्यथा र मनोविज्ञान समेटिएको बताए। ‘देश भूमि हो, राज्य होइन। देशलाई उन्नति वा अवनतिको बाटोतिर लैजाने भन्ने संयन्त्रचाहिं राज्य हो’ उनको अभिमत थियो।

उत्तरआधुनिकताको लक्षण भएको कृतिमा मूलतः स्मृतिदंश (नोस्टाल्जिया) छ भन्ने शर्माको दाबी थियो।

त्यसैगरी समालोचक डा. शैलेन्दुप्रकाश नेपालले कथामा पर्याप्त अतीतमोह, निबन्धको प्रभाव र देशभक्ति र माटोको ममता भरिएको बताए।

समालोचक हरि अधिकारीले कथामा प्रवासका आर्थिक, सांस्कृतिक र सामाजिक मुद्दाहरूको उठान सशक्त रूपमा आएको बताए।

अर्की समालोचक डा.सावित्री मल्ल कक्षपतीले जब अवसर खोज्न समुद्रपार गइन्छ भने असन्तुष्ट हुने आधार नरहेको दाबी गरिन्। जाने कुराको चयन आफूले गर्ने, त्यतै लिसोझैं टाँसिएर बस्न पनि रुचाउने र ऊर्जा निथ्रिंदै आएपछि नेपाल सम्झनुभन्दा त्यही कर्मभूमिमा बसेर आफ्नो क्षमता उजागर गर्नु अर्थपूर्ण हुने उनको राय थियो।

लघुकथा समाज नेपालका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कृतिलाई ‘आख्यानभन्दा विचार पक्ष सबल’ भएको बताए। उनले भने, ‘परम्परागत साँचोमा अधिकारीका कथा प्रिय वा अप्रिय होलान् तथापि खुलेर कृत्रिमताको विरोध गर्न सक्नु उनको लेखकीय वैशिष्ट्य हो।’

साहित्यकार मोहन सिटौला र ममता मृदुलले कथाका बुनोट र विषयवस्तुबारे सारगर्भित भनाइ राखेका थिए।

प्रमुख अतिथि/ वरिष्ठ आख्यानकार/प्राज्ञ माया ठकुरीले पुरानो तर कालजयी तीज गीत गाउँदै तिनमा चेलीहरूको अनन्त कथा रहेको अर्थ्याइन्।

कृतिको प्रकाशक मोलुङ फाउन्डेसनका अध्यक्ष भूपप्रसाद धमलाको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको सहजीकरण साहित्यकार खेमराज पोखरेलले गरेका थिए। कार्यक्रम समापनपछि प्रमुख अतिथि ठकुरीको हर्षोल्लासका साथ  जन्मोत्सव पनि मनाइएको थियो।

प्रकाशित: २० असार २०७९ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App