१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

'मेरा अनुभूतिहरू' भित्र विचरण

अक्षर

सबैमा विदितै छ, नेपाली इतिहास र संस्कृति विषयसित सम्बद्ध पछिल्लो पुस्ताका प्रायःजसो प्राध्यापक र विद्यार्थी ‘जोशी रिसर्च इन्स्टिच्युट’का संस्थापक हरिराम जोशीका अघोषित विद्यार्थी हुन्। अध्ययन अनुसन्धानका क्रममा, स्नातकोत्तर उपाधिका लागि शोधपत्र लेख्ने शोधार्थी होस् वा विद्यावारिधि उपाधिका लागि शोधपत्र लेख्ने स्वदेशी लगायत विदेशी शोधार्थी नै किन नहोस्, त्यस क्रममा कम्तीमा एकपल्ट भए पनि उनको घरमा पाइला नटेक्ने, उनको कोठाभरिका दुर्लभ पुस्तकलाई टाउको घुमाइघुमाई हेर्दै उनीसित आफ्नो विषयका कुरा राखेर समाधान नखोज्ने र शोधपत्र पूरा नगर्ने सायद बिरलै होलान्। यो पंक्तिकार पनि उक्त कुराको अपवाद होइन। विद्यावारिधि गर्ने सिलसिलामा म पनि प्रथमपल्ट २०४४ सालमा उनको घरमा गएको सम्झना छ। यो क्रम आज पनि यथावत छ।

उनीबाट मैले महत्वपूर्ण मार्गनिर्देशन, हौसला बहुमूल्य जानकारी, सुझावका साथै उनको पुस्तकालयरूपी कोठाका पुस्तक घरमा लगेर पढ्ने सुविधा समेत दिएर गरेको सहयोग अविस्मरणीय छ। मैले जस्तै उनीबाट बौद्धिक सहयोग पाएकाका आ–आफ्नै यस्तै सम्झना होलान्। उनको बौद्धिक सहयोग पाएर धेरैले गहकिला ग्रन्थ पनि लेखेका छन्। यस दृष्टिले उनी हामी सबैका महागुरु हुन्, उनको घर विद्वत्जन जमघट हुने पवित्र बौद्धिक स्थल र उनको कोठा हाम्रा लागि पुस्तकालय, उनी स्वयं एक खुला पुस्तक वा भनौँ एक जीवित इतिहास। पाहुनारूपी विद्यार्थी/शोधार्थी आउँदा जहिले पनि खुसी हुने हरेराम दाइ ती विद्यार्थी निरन्तर आइरहून् भन्ने चाहना राख्छन्। यसैले उनको कोठामा कोही न कोही आएकै हुन्छन्। 

अनि जोकोही आउँदा पनि आफ्ना नयाँ कृति पढेर  सुनाउँछन,  मुहारै उज्यालो पारेर खुसी हुने उनको शील स्वभाव नै छ। उनी सुनाउँछन् ‘नौ दिन लेखेन भने नौलो हुन्छ, बीस दिनसम्म लेखेन भने बिर्सन्छ।’ अनि, आफू कहाँ आइरहने अलि लामो समयसम्म नआएमा वा फोन सम्पर्कमा समेत नआएमा फोनबाटै उनी यसरी सुनाउँछन्, ‘खोइ माया मार्‍यौ, म बूढाको घरमा एकपल्ट पनि आएनौ ! त्यति भनेपछि उनको घरमा जान हामीजस्ता विद्यार्थीलाई करै लाग्थ्यो। अलि लामो समयको अन्तरालमा पछिल्लोपल्ट म मेरा अनन्यमित्र विनोदराज शर्मासँंगै २०७७ चैत २ गते सोमबार, साँझतिर उनको घरमा गएको थिएँ। 

त्यतिबेला ‘डिमेन्सिया’ले च्यापेकी भाउजू (हरिराम दाइकी जीवनसंगिनी कदमकेशरी जोशी) आफन्तलाई समेत चिन्न छाडेर ओछ्यानमा थलिएकी थिइन्, सिंगो परिवार लगायत हरिरामदाइ भाउजूको सेवा, हेरविचारमा दिनरात खटिएका छन्। भाउजूको हेरविचारमा तल्लीन, शारीरिक दृष्टिले पनि गलेर थाकेका देखिने हरिरामदाइले त्यसपछि हामीलाई आफ्नो अध्ययन कक्षमा लगे र भर्खरै तयार पारेको आफ्नो प्रकाशोन्मुख पुस्तक ‘मेरा अनुभूतिहरू’को मूलप्रति देखाउँदै  त्यसका केही अंश पढेर सुनाए। प्रस्तुत फोटो त्यही बेला खिचेको हुँ। 

उनी आफ्नो कृति पढेर सुनाउँदै गर्दा म भने त्यस क्षण उनैलाई मनमनै यसरी पढिरहेको थिएँ  : जीवनको ८६औँ वसन्तमा टेक्नै लागेका हरिरामदाइले २००७ सालदेखि इतिहास र संस्कृतिका बारेमा कलम चलाउन थालेका हुन्। अहिले उनी शारीरिक दृष्टिले गलेको, थाकेको देखिए पनि उनको कलम उनको मजबुत इच्छाशक्ति र मनोबलले रतिभर थाकेको छैन, उत्तिकै वेगले उनको कलम अनवरत चलिरहेको छ। ३०औँ कृतिका रूपमा ‘मेरा अनुभूतिहरू’ बजारमा आएको छ।

यो उमेरमा र विशेषगरी आफ्नो लेखनको मूल प्रेरणा स्रोतको रूपमा रहिआएकी आफ्नी जीवन–सहचारी त्यस्तो अवस्थामा पुग्दाको प्रतिकूल परिवेशमा पनि लेखन कार्यलाई पूर्णता दिएर, उनैलाई सम्झीसम्झी संसारमा नारीको महत्वपूर्ण बोध गराउँदै सुन्दर ‘दुई शब्द’सहितले सजाएर यो कृति समर्पण गर्नु चानचुने कुरा होइन, अद्भुत चमत्कार नै हो, नारीप्रतिको अथाह सम्मान हो। नारीकोमहत्वपूर्ण माथि प्रकाश पार्ने उनका पूर्वप्रकाशित कृतिहरू बहिनी पूजा (२०१५), तारी (खण्डकाव्य, २०१६), कदम (खण्डकाव्य, २०२५), हेमा ज्वाला (२०२८), प्राक्कालमा नवयौवनामा बहिनीलाई चिठी (२०७२) आदि हुन्।  

‘मेरा अनुभूतिहरू’ यसअघिका अन्वेषणात्मक ग्रन्थहरू, लेखहरू मात्र नभएर समग्रमा उनको सात दशकदेखिको अन्वेषणात्मक जीवन र उनले अनुभूत गरेको जीवनदर्शन, धर्म समाज, संस्कृति लगायत राजनीति, राज्य व्यवस्था इत्यादिको सार पनि हो। इतिहास संस्कृतिमा उनले प्रस्तुत गर्ने तर्क एवं प्रयोग नितान्त भिन्नै छ। यस दृष्टिले उनी नेपाली इतिहास र संस्कृतिमा तर्कपूर्ण तवरले, वैज्ञानिक ढंगले नूतन व्याख्या विश्लेषण गरी लेख्ने तर्क–सम्राट् नै हुन् भनी मान्न कर लाग्छ। 

बेग्लै धारको लेखनशैली लिएर इतिहास संस्कृतिलाई ऐतिहासिक भौतिकवादको दृष्टिले व्याख्या विश्लेषण गर्ने सम्भवतः उनी नेपालका प्रथम इतिहासकार एवं संस्कृतिका प्रथम व्याख्याकार समेत हुन्। समाजको विकास (२०१०), प्राचीन नेपाल (२०२२), नेपाली संस्कृति (२०२८), नेपालको प्राचीन अभिलेख  (२०३०), उत्तरप्राचीनकालीन मुद्रा (२०३३), हाम्रो संस्कृति (२०३७), हिन्दू देवीदेवता (२०४०), मध्यकालीन अभिलेख (२०३२), पेजेज अफ् द फर्गटन पास्ट (सन् १९९१), नेपालका चाडपर्व (२०६०), लोक गणतन्त्र (२०६६), प्रदीप अभिनव संस्कृति विश्वकोष (२०७०) लगायत प्रस्तुत नूतन कृति ‘मेरा अनुभूतिहरू’ (२०७७) उदाहरण स्वरूप छन्।  

धार्मिक दृष्टिले महादेवमा हामीले नन्दी, भृंगी, भूतप्रेत, पिशाच, डाकिनी, शाकिनी प्रमथ गण आदि अघिपछि लागेर आउने देवताका पनि देवता महादेव मात्र देख्यौँ, त्यही देवतामा उनले भने विश्व सभ्यताको एकाबिहानै विश्वमा गणशासन व्यवस्था प्रादुर्भाव गर्ने गणतान्त्रिक संसारका प्रथम गणनायक देखे। ऐतिहासिक भौतिकवादको यो एउटा सुन्दर नमुना हो। धर्म संस्कृतिमा यस्तो व्याख्या विश्लेषण यसअघि कसैले गरेको पाइएको छैन। अर्कोे उदाहरण इन्द्रजात्रा बारेको उनको तर्क र दृष्टिकोण पनि हो। हामीले इन्द्रजात्राका इन्द्रमा उनलाई नायक देवताका रूपमा देख्यौँ। 

उनले भने पारिजातको फूल चोर्न पृथ्वीमा झरेका इन्द्रमा ‘मूला चोर पनि चोर, घोडा चोर पनि चोर’ जस्तो चोर मात्र देखेनन्, दोबाटो, चौबाटोमा पाता फर्काएर राखिएका उनै इन्द्रको प्रतीक ‘यसिं’मा उनले निरंकुश राजतन्त्रको अवसान र जनताको उत्थान र एकीकृत जनशक्तिकोमहत्वपूर्ण  त्यतिबेलादेखि बढ्न थालेको पाए। सातौँ शताब्दीपूर्वसम्म ब्रह्मा/ब्रह्मले धार्मिक सांस्कृतिक जीवनमा विशेषमहत्वपूर्ण पाउँदै आएको थियो। तर त्यसपछि उनको ठाउँ शिव, शक्ति र विष्णु आदि देवताले लिन पुगे। त्यही ब्रह्ममा जोशीले छामछुम गरी एकत्वकी प्रतीक स्त्री रूपमा जगदम्बिकालाई पाए, ‘ब्रह्म’ को ‘ब्र’ ले विश्रान्ति लिएर बचेको शेष ‘ह्म’ मा उनले उही ब्रह्मको अस्तित्वलाई अनुभूत गर्दै आफ्नै शरीर विशेषलाईमहत्वपूर्ण  दिएर पूजा गर्ने तन्त्रप्रधान नेवार सभ्यताको एक वैशिष्ट्य ‘म्हःपूजा’मा पाए।  

हरिरामदाइको घरमा हामी दुई मित्र पुगेपछि उनले ‘मेरा अनुभूतिहरू’का केही अंश सुनाएको चर्चा माथि पनि गरियो। म अब सायद जीवनभरि उनले पढेर सुनाएको यही कृतिको तल प्रस्तुत प्रथम अंशको मार्मिक कविता र त्यसपछि उनीसित भएको संवादका क्रममा उनको तत्क्षणको विचार भावतरंग भुल्न सक्तिनँ : 

‘म छु मेरी अस्वस्थ रहेकी स्त्री कदमसँगै स्मशानघाटमा  

अनन्ताकाश एवं अथाह सागरको तटमा अवस्थित  

उसपार के छ, कहाँ छ त्यो मलाई थाहा छैन  

म अनभिज्ञ छु।

यसैले म विचलित छु साह्रै नै  

म कहाँ जाँदै छु, कता पुग्दै छु भनेर  

यही नै शोचमा म अल्झिएको छु  

बाँचेको छु।’

उक्त कवितामा उनको मनस्थिति कस्तो थियो, त्यो यहाँ भनिरहनुपरेन, सबैमा अनुभूत भइसकेको छ। यो कविताले साँचेका कुरा जीवनको उत्तराद्र्धमा आइपरेको एक कटु यथार्थ थियो, जुन जसलाई पनि आइपर्न सक्छ। र, मानसिक विचलन, उद्वेग शान्त पार्ने उपाय वा औषधि पनि थियो। सो कविता सुनाएपछि मैले उनलाई सोधेँ, ‘जुन प्रतिकूल अवस्थाबाट तपाईं गुज्रिरहनुपरेको छ, त्यो सत्य हो, तर यसमा त तपाईंको निराशावादी भाव महसुस हुन्छ।’ त्यसपछि उनले  

मनको कुरा पोख्दै यसरी भने, ‘हेर्नोस् ! यस्तो परिस्थितिमा मलाई बाँच्ने मनै छैन..।’  

मैले तत्क्षण उनको कुरा काट्दै आग्रहपूर्वक भनेँ, ‘यस्तो कुरा नगर्नुहोस् र मनबाट हटाउनुहोस्.. !’  

बीचैमा उनले भने, ‘मेरो कुरा त सुन्नुहोस् ! साँचो अर्थमा मलाई बाँच्ने मन छैन, तर आफ्ना लागि नभएर आफूले सात दशकदेखि यो कर्ममा लागेर अझै लेख्न  बाँकी रहेका अधुुरा कुरा, आफूले थाहा पाएका, जाने बुझेका नूतन कुरा राखेर जानका लागि मेरा प्रकाशोन्मुख कृति प्रकाशमा ल्याउन  बाँच्नुपरेको छ। मैले मेरी जीवनसंगिनीका लागि पनि त बाँच्नु  परेको छ... !’  

मलाई लाग्यो, यो संघर्षमय जीवनकै निरन्तर चलिरहने एक अपरिहार्य क्षण हो, जहाँ निराशाले चारैतिरबाट जीवनलाई घेर्दा पनि कतै न कतैबाट त्यस घेराको एक छेउबाट अझै बाँच्ने आशावादी जीवनको अंकुर  पलाउँदो रहेछ..। अप्ठेरो अवस्थामा पनि जीवन जिउन प्रोत्साहित गर्ने एक सुन्दर चिन्तन ! उनले आफ्ना थप कुरा यसरी पोखे, ‘भनेर जानुपर्ने अझै धेरै कुरा छन् भाइ ! भैरव/भीमसेनकै उदाहरण लिउँ ! उनीबारेको मेरो दृष्टिकोण, तर्क एवं व्याख्या नितान्त भिन्नै छ। प्राणीको एक ठूलो शत्रु वा दोषमध्ये अहंकार पनि हो भनी मान्ने भैरव अहंकारका घोर विरोधी थिए। उनले ब्रह्माको अहंकारलाई सहन सकेनन् र तत्काल उनले पा“च शिर भएको ब्रह्माको एक शिर छेदन गरे। यसरी ब्रह्मा चतुर्मुखी भए। भैरवकै अर्कोे रूप भीमसेन हो।

यसैले उनलाई भीम–भैरव पनि भनिन्छ। उनी न्यायका पक्षधर थिए। र, अन्यायको प्रतिकार गर्नमा उनी सदा उद्यत् रहन्थे। भरिभराउ सभामा एक अबला नारी (द्रौपदी)को स्त्रीत्व लुट्न खोज्ने दुःशासनलाई यिनले मार्ने प्रण गरे। सोही अनुरूप यिनले महाभारत युद्धमा दुःशासनलाई मारी उनको रगतले द्रौपदीलाई नुहाउन लगाएका थिए। महाभारत युद्धमा मरेकाहरू सबै स्वर्गमा जाने प्रावधान थियो। युद्धपछि पाण्डव स्वर्गमा जाँदा भीमसेनले दुःशासनलाई पनि  त्यहाँ स्वर्गिक आनन्द लिइरहेको देखेपछि उनलाई त्यो कुरा न्यायसंगत लागेन, उनको विचारमा स्वर्गमा सत्पुरुषहरू मात्र बस्न पाउनुपर्ने हो, दुष्टजनहरू होइन। यहाँ दुष्ट पनि रहेछ भनी रिसले पारो चढेका भीमसेनले उत्नीखेरै दुःशासनलाई लातले हानी स्वर्गबाट पृथ्वीमा खसाले। 

दुष्टको शरीरसँगै भीमसेनको एउटा खुट्टा पनि पृथ्वीमा आएछ। यही कारणले पृथ्वीमा भीमसेनको पूजा शिरमा नगरी उनको पाउमा गरिन्छ। ललितपुर मंगलबजारस्थित भीमसेनको मूर्ति अवलोकनीय छ। त्यसैगरी भीमसेनको एक खुट्टा स्वर्गमा र अर्को खुट्टा पृथ्वीमा रहनुको तात्पर्य दुष्टहरूको संहार एक ठाउँमा मात्र नभएर सर्वत्र गरिनुपर्ने अत्यावश्यकतातिर औँल्याएको स्पष्टतः प्रतीत हुन्छ। दुष्टात्माबाट मुक्त संसार नै साँचो अर्थमा आनन्दमय संसार मानिन्छ।’

भीमसेनबारेको उक्त कुरा सुनाएको भोलिपल्टै उनले फोनबाट भने, ‘भाइ, हिजो मैले तपाईंहरूलाई भीमसेनबारे सुनाएको कुरा लेखका रूपमा लेखिसकेको छु, जुन ‘मेरा अनुभूतिहरू’मा समावेश गरिसकेको छु।’ मैले उनलाई धन्यवाद र शुभकामना दिएँ। त्यही नूतन लेख यस ग्रन्थको ५४ संख्यामा छापिएको  छ। धर्म–संस्कृतिलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणले व्याख्या गरिएको अर्को एक सुन्दर रचना।

नेपाली इतिहास र संस्कृति क्षेत्रका संस्कृति शिरोमणि हरिराम जोशीले पुर्‍याएको योगदान अतुल्य छ। सात दशकभन्दा बढी समयसम्म र यो उमेरमा आइपुग्दा पनि निरन्तर कलम चलाएर नेपालको इतिहास र संस्कृतिको क्षेत्रमा अमूल्य ग्रन्थ एवं लेखरचनाले समृद्ध तुल्याउँदै निस्वार्थ भावले राष्ट्रको सेवा गर्दै आएका जोशीलाई हेर्दा ‘बोल्नेको पीठो बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने’ उखान झल्झली सम्झना आउँछ । उनी निःसन्देह ‘नबोल्नेको चामल पनि नबिक्ने’ पंक्तिका स्वाभिमानी विद्वान् हुन्।

जीवनको उत्तराद्र्धमा, त्यो पनि प्रतिकूल अवस्थामा ‘मेरा अनुभूतिहरू’ दिएर राष्ट्रको सेवा गरी गुन लगाउने यी विद्वान्लाई पनि राष्ट्रले हेर्नुपर्ने हो। मलाई लाग्छ, राष्ट्रले सही अर्थमा चिनेर सम्मान गर्न नसकेको वा नपाएको असली राष्ट्र–रत्नमध्येका एक यिनी पनि हुन् ! यसरी ‘मेरा अनुभूतिहरू’ जस्तो सात दशकदेखिको सार ग्रन्थ अति कठिन परिश्रम गरी प्रकाशमा ल्याएर यो राष्ट्रलाई उनले थप गुन लगाएका छन्। ५६ संख्याका लेख मालाले सजिएको ‘मेरा अनुभूतिहरू’का प्रकाशक भक्तपुर सहकारी संस्था लिरहेको छ। यस संस्थाले प्रथमपल्ट यसरी पुस्तक प्रकाशित गरिदिएर विद्वान् लेखकलाई एकातिर सही अर्थमा सम्मान गरेको छ भने, अर्कोतिर नाफा नलिएर परलमूल्य मात्र कायम राखी प्रकाशमा ल्याउने सामाजिक, नैतिक दायित्व पनि पूरा गरेर अनुकरणीय कार्य गरेको छ।

प्रकाशित: ११ वैशाख २०७८ ०४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App