१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

हल खुल्यो, तर दर्शक छैनन्

पोखराको सिनेमा हल । तस्बिरः नागरिक

गत पुस १५ देखि यहाँका सिनेमा हल खुले । कोभिड–१९ को संक्रमणसँगै चारमहिना पूर्ण रुपमा लकडाउन भयो । त्यसपछि विस्तारै यातायात शुरु हुन पुग्यो । भीडभाड हुने ठाँउहरुलाई पूर्ण रुपमा प्रतिबन्ध लगाईयो । धेरैजसो क्षेत्र नौमहिना पुरै ठप्पै बने । अन्य क्षेत्र खुलेसँगै दर्शकको चासो बढ्दै गएपछि मनोरन्जनको क्षेत्र सिनेमा हल पनि बल्लतल्ल खुल्न पुगे । सिनेमा हल खुलेपनि चलचित्र हेर्ने दर्शकको संख्या भने उत्साहप्रद छैन् । कारण– कोरोनाको त्रास अनि नयाँ सिनेमा केही छैनन् ।  

पोखरामा अहिले मिडटाउन सिनेमा हल मात्रै खुलेको छ । तर, दर्शकको संख्या न्यून छ । ‘दर्शक एक जना आएपनि चलचित्र देखाएका छौं,’ मिडटाउन सिनेमा हलका प्रबन्ध निर्देशक निकेश द्वाले भने, ‘दुई–तीन महिनापछि चल्छ की भन्ने अनुमान गरेर चलाएका छौ ।’ हल संचालन गरेको तीनमहिना नाफा कमाउने भन्दा पनि फिल्म चलाउने वातावरण बनाउने तर्फ ध्यान रहेको उनले बताए । ‘दर्शक खासै छैनन्, तर सिनेमा वितरकलाई हल खुलेको छ है भन्ने म्यासेज दिन खोजिएको हो,’ उनले भने । नयाँ फिल्म रिलिज नहुदाँ दर्शकको उपस्थिति भने नगण्य नै रहेको छ ।  नयाँ फिल्म रिलिज हुन केही समय लाग्ने भएकोले महामारीका कारण पर्ख र हेरको अवस्थामा पुगेको उनले बताए ।  

‘यति नराम्रो स्थिति अहिलेसम्म कहिल्यै भएको थिएन,’ उनले भने, ‘अलिअलि दर्शक आएका छन् ।  खर्चको १० प्रतिशत पनि धानेको छैन ।’ कोभिडको सबैभन्दा बढी मार पर्यटन र मनोरन्जन क्षेत्रमा परेको छ । पर्यटन क्षेत्रमा होटलहरु सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आगमन विस्तारै सुधार हुदैं गएको छ । मनोरन्जनको क्षेत्र सिनेमामा पनि नयाँ फिल्म बन्ने र रिलिज हुने परिस्थिति नहुदाँसम्म दयनीय अवस्था नै हुने पोखरा नदीपुरस्थित विन्ध्यवासिनी सिनेमा हल सञ्चालक उत्तम द्वा बताउँछन् ।  ‘६ वटा पर्दामा केवल एउटा पर्दामात्रै चलेको छ,’ उनले भने, ‘लामो समय नचल्दा प्रोजेक्टर, सिट सबै बिग्रिएका छन् ।’ उनले दर्शकको उपस्थितिलाई हेर्दा पानीको महशुल बुझाउन समेत पुग्ने अवस्था समेत नरहेको बताए ।  

स्वास्थ्यको मापदण्ड पुरा गर्दै भौतिक दुरी कायम राखेर एउटा सिट खाली राखेर दर्शकलाई चलचित्र हेर्ने वातावरण मिलाइएको छ ।  कोरोना कहरमै भौतिक दुरी कायम गर्दै सिनेमा हल सञ्चालन गरिएको छ । नयाँ सिनेमालाई वितरकले ल्याउन सक्ने अवस्था छैन । नयाँ सिनेमा नआउँदासम्म पुरानै सिनेमा देखाउँदै हल सञ्चालनमा ल्याएको उनको भनाई थियो । 

‘नियमित रुपमा नयाँ सिनेमा आउनुपर्छ,’ विन्ध्यवासिनीका उनले भने, ‘तर अहिले नयाँ सिनेमा ल्याएर जोखिम मोल्न वितरक पनि तयार छैनन् ।’ भातरीय सिनेमा ल्याउन समेत अहिले कठिनाई छ । हप्तामा दुई–शो गरिएको छ । मिडटाउन सिनेमा हलका प्रबन्ध निर्देशक निकेश द्वाका अनुसार आईतबारदेखि बिहीबारसम्म दुई–शो गरिन्छ । समूहमा आउने र अग्रिम बुकिङ गर्ने सर्वसाधारणको लागि हल सञ्चालन गरिने गरिएको छ । शुक्रबार र शनिबार भने चार शो सम्म हुन्छ । 

प्रकाशित: ३ माघ २०७७ ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App