७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

काठमाडाैं

लघुकथा

गाउँमा पनि पेटभरि भात र अलि राम्रो  लुगा लगाउन रहरै थियो कान्छालाई। बाबु दसैंको किनबेल गर्ने पैसा जोहो गर्न खोलामा माछा मार्न गएका माछा जालमा नपरेपछि अलि गहिरोतिर गएका थिए रे। माछा पनि आएन। बौ पनि आएनन्। आमा गरिबी थेग्न नसकेर दोस्रो घर गर्न हिंडिन् रे। बौले दुखसुख गरेर हुर्काउँदै थिए। ती पनि गए। डाँडामाथिको फुसको छाप्रो असारे भले बगायो।

काठमाडाैंमा खोलाको छेउछाउ सिंत्तैमा छाप्रो हालेर बस्न पाइन्छ रे। ठूलो शहरमा काम पनि पाइन्छ रे भन्ने पनि  सुनेको थियो।

खल्तीमा पैसो थिएन। लुक्दै, बस फेर्दै गरेर बल्ल बल्ल काठमाडाैं पुग्यो। बसबाट झरेपछि कहाँ जाउँ, केखाउँ जस्तो भयो। भोक लाग्यो। थकाइले चुर भयो। खल्तीमा लुकाएर राखेको पचास रुपैयाँ थियो। चिया डोनट खाएर सडकको फाल्चामा सुत्यो।

भोलिपल्ट बिहानै वाग्मती नदीको पुलमुनि एउटा कुनामा सोरसार गरेर पसलतिरबाट कार्बोड ल्याएर ओछ्यायो। एकजना बुढा बाजे खोक्दै आइपुगेर उसकाे वृतान्त सोधे। सबै थाहा पाएपछि तिम्रो कथा पनि मेरै जस्तो रहेछ। म पनि एक्लै छु। पानी खुवाउने पनि कोही छैन। आउ तिमी मैसँग बस। खानेलाउने आफैं कमाउ। यहाँ पुलमुनि हामी जस्ता धेरै दुखी बसेका छन्। तिमी कुबेलामा शहर आयौ। बर्खाको याम छ। पानी पर्ने सिजन सुरु हुन लाग्यो। भोलि काम खोज्न जाउ भन्दै सय रुपैयाँ  दिंदै, यो पैसाले खाजा खाउ। भरे यतै आउ। दुखी रहेछौ। माया लाग्यो।

त्यो दिन नै बालुवा चाल्ने काम पाएर उसले २ सय रुपैयाँ कमाएर बुढाको सय रुपैयाँ  दियो। बुढा पनि मिहेनती बोल्ने साथी पाएँ भनेर दङ्ग परे। जोशजाँगर भएको युवा थियो। भद्र पनि थियो। सानोतिनो काम पनि खुशी भएर गर्द थियो। उ आएको तीन महिनापछि झरी सुरु भयो। इट्टाढुङ्गा खोजेर  छाप्रो अग्लो बनायो। उसकाे काम देखेर बुढा दङ्ग थिए।

तीन दिनदेखि अविरल वर्षा भैरहेको थियो। गाउँतिर बस्ती नै पहिराले झार्यो रे भन्ने खवर उसले सुन्यो। खवर सुन्न आफूसँग मोबाइल थिएन। अब अलिकता पैसा जम्मा पारेर किनौंला। बुढा बाले पनि अलिकता सापट दिन्छु भनेका छन्,  भन्ने सोचेर उ सुत्न पल्टियो। अचानक दायाँबायाँका सुकुम्वासीहरू कोलाहल कराएको सुनेर उठेर हेर्न खोज्दै थियो उसकाे छाप्रो सहित अरू अनगिन्ती छाप्रा भेलले बगायो।

प्रकाशित: १ श्रावण २०८१ १३:४३ मंगलबार

#Laghukatha