४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

कवि सुवेदीको मुगलानबाट देश नियाल्दा लाेकार्पण

राष्ट्रिका साहित्य प्रतिष्ठानले कवि नीलकण्ठ सुवेदीको मुगलानबाट देश नियाल्दा  कवितासंग्रहको लोकार्पण गरेको छ। राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेकाे अध्यक्षता तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनकाे प्रमुख अतिथ्यमा कृतिकाे लाेकार्पण भएका हाे।

कवि सुवेदीको कविता कृतिमाथि समालोच डा. शान्ति माया गिरीले समीक्षात्मक टिप्पणी राख्दै कृतिभित्र समय संवेदना, जीवनका भोगाइहरू, प्रकृति, डायस्पोरिक चिन्तन तथा परदेशमा रहेर घरदेशको प्रतिविम्वलाई कवितामा चित्रण गरिएको धारणा राखिन्।

सोही अवसरमा उपन्यास समाजका अध्यक्ष शंकर भारतीले एउटा कविता सिंगो आख्यान रहेको बताए।

बंगलादेशमा रहेर नेपाली साहित्य तथा संगीतमा क्रियाशील स्रष्टा मनोजबहादुर गोरखाले सुवेदीका कविताहरूले आफूलाई पितृभूमिको मायालाई अझ गाढा बनाएको बताए।

राष्ट्रिका साहित्य प्रतिष्ठानका महासचिव मधु पाठकले सञ्चालन गरेको उक्त कार्यक्रममा शुष्मा आचार्य, रन्जु दाहाल र पार्वती भट्टले लोकार्पित कृतिका कविता वाचन गरेका थिए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले लाेकार्पित कृतिका डायस्पोराको प्रतिबिम्ब, देशप्रेमको भावना, राजनीतिक विसंगतिको व्यंग्य तथा राष्ट्रप्रेमका भावना प्रतिबिम्बित हुने कविताहरू नेपाली साहित्यका लागि सदैव अत्यावश्यक रहेको बताए।

प्रमुख अतिथि पुनले कवि सुवेदीका कविता भित्र राष्ट्र प्रेम, प्रकृति, जीवन र जगतका भोगाइहरू, डायस्पोराप्रतिको समर्पण भाव र मुग्लानमा रहँदा भोग्नुपरेका पीडाहरूलाई सुन्दर ढंगले प्रस्तुत गरेको बताए।

लोकार्पित कृतिका स्रष्टा नीलकण्ठ सुवेदीले कविताको रचना गर्भ, डायस्पोरिक अनुभूति, प्रवासको कष्टकर जीवन तथा आफू हुर्केको माटो र भूगोलको माया कृतिमा प्रस्तुत गर्ने प्रयत्न गरेको बताए।

उक्त कार्यक्रममा विभिन्न साहित्यकारहरू, साहित्यिक संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थित रहेको थियो। कार्यक्रममा स्रष्टा तथा स्रष्टाका धर्मपत्नी लोककुमारी सुवेदीलाई अभिनन्दन समेत गरिएको थियो।

प्रकाशित: २० वैशाख २०८१ ०९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App