१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

एक रखौटा

लघुकथा

अर्केष्ट्राको चर्को आवाजकै बिचमा राधाले भनिन्, ‘मध्य रात भयो। मेरा श्रीमान् आउने बेला भयो।’

कृष्णले हात सुम्सुम्याए र म्वाइँ खाँदै भने, ‘नजाऊ न प्रिय! आजको रात विशेष रंगीन बनाऔं।’

दुवै चुप लागे। मौनतालाई तोड्दै कृष्णले अनायास प्रश्न गरे, ‘हामी प्रेम गर्छौं होइन?’

राधाले कृष्णलाई कसिलो अँगालो हालिन्, म्वाइँ खाइन् र प्रश्नात्मक उत्तर दिइन्, ‘यो कस्तो सन्देहात्मक प्रश्न? प्रेम नभएको भए आफ्नो लोग्नेको आँखा छलेर तिम्रो समिपमा हुन्थें त?’

‘आज प्रेमको परीक्षा देऊ’ कृष्ण भावनामा आए।

‘कस्तो प्रेम कृष्ण? प्रेममा परीक्षा हुन्छ र?’

‘हुन्छ। आज परीक्षा नै देऊ।’

‘त्यसो भए पहिले तिमीले परीक्षा देऊ न त।’ राधा बोलिन्।

कृष्ण असमञ्जस्यमा परे, ‘कसरी?’ 

‘तिम्री रखौटी हुँ म। तिमी मेरो रखौटा हौ। र, प्रेमको परीक्षा नै लिने भए मलाई बिहे गर।’ राधाले प्रस्ताव राखिन्।

‘तिमी अर्काकी श्रीमती, म अर्काको श्रीमान्। कसरी बिहे गर्न सक्छु र?’ बिहेको कुरा सुनेर कृष्ण आत्तिए।

‘म लोग्नेलाई डिभोर्स गरिदिन्छु। तिमी रुक्मिणीलाई डिभोर्स गर।’

‘यो कसरी सम्भव हुन्छ र? समाज मर्यादा छैन र?’ कृष्णले तर्क दिए।

‘त्यसो भए केको परीक्षा त?’

‘उसो भए तिमी एक्ली हुन सक्छौ।’

‘बाबुको विर्यका अनेकौं शुक्रकिटमा तिमी एक्लै जन्मियौ। आमाको गर्भमा एक्लै बस्यौ। एक्लै जन्मियौ, बढ्यौ। एक्लै मर्छौ। अनि केको एक्लो हुने कुरा गरेको तिमीले?’

कृष्णले जिज्ञाशा राखे,‘अनि हाम्रो सान्निध्य?’

‘उफ! यो सान्निध्यको कारण त तिम्रा र मेरा बिचमा स्वार्थहरू हुन्।’

‘त्यसो भनेर कहाँ हुन्छ?’ कृष्ण अत्तालिए।

‘हुन्न भने जाऊ। म पनि यही संसारको बाटैकी एक्ली राधा हुँ। तिमी पनि बाटैमा भेटिएका कृष्ण त हौ। बाटाहरू त आउँछन्। जान्छन्।’ राधाले कुरा टुङ्ग्याइन्।

प्रकाशित: ४ माघ २०८० ०७:०८ बिहीबार

अक्षर