१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

सांस्कृतिक पहिचान ‘नेपाली टोपी’

संस्कृति

समाजमा प्रचलित परम्परा, रीतिथिति र मूल्यमान्यता बिस्तारै परिवर्तन हुँदै जान्छन्। लुगाफाटोको संस्कृति पनि समयसँगसँगै बदलिँदै जान्छ। सामाजिक परिवर्तन रातारात हुने कुरा होइन। सामाजिक परिवर्तनको असरलाई एक दशक वा सोभन्दा बढी समयको अन्तरमा न्यूनाधिक महसुस गर्न सकिन्छ। कतिपय परम्परागत संस्कृतिमा परिवर्तन आएको अनुभव गर्न अझै लामो समय पनि लाग्छ।

संस्कृतिको व्यावहारिक पक्षमा देशकाल, परिस्थितिअनुसार परिवर्तन वा बदलाव आउँछ। विगत ५० वर्ष पहिलेको लुगाफाटो वा पहिरन–संस्कृतिमा यतिबेला निकै परिवर्तन आइसकेको छ। आर्थिक, सामाजिक क्षेत्रमा बढ्दै गएको भूमण्डलीकरणको प्रभाव पनि यसलाई मान्न सकिन्छ। त्यतिखेरसम्म पहाडी गाउँघरमा टोपीको पहिरन अनिवार्यजस्तै थियो। सहरबजारमा परिवर्तनलाई चाँडो अनुभव गरिन्छ।

टोपीको प्रचलन सहरिया वा बजारिया युवा वर्गमा त्यसबेला पनि कमी नै भएको अनुभव हुन्थ्यो। टोपी बजारिया युवा वर्गका लागि स्वैच्छिकजस्तै थियो त्यसबेला। तर गाउँमा स्वैच्छिक तवरमै सबैले टोपी लगाउँथे। गाउँघरमा भारी नबोकी गुजारा नचल्ने हुँदा टाउकोमा नाम्लाको डाम नबसोस् भनेर पनि टोपी लगाउनु अत्यावश्यक थियो।

टोपी नलगाएको पुरुष भेट्न गाह्रो थियो। चौतारामा बिसाएर निधारबाट चुहिरहेको पसिना पुछ्ने साधन कम्मरको पटुकाका साथमा शिरको टोपी थियो। टोपी सबैका लागि नभई नहुने पहिरन वा शिरपोस थियो। तर त्यो दृश्य अहिले देखिँदैन, पुस्ता बदलियो।

 असङ्ख्य युवाहरू बिदेसिए। फर्केर आएपछि टोपीको पहिरनमा झनै कमी आयो। यद्यपि सहरी क्षेत्रको तुलनामा गाउँघरमा टोपी लगाउनेहरू मनग्यै छन्। अलि पाका उमेरकाहरू टोपी नियमित लगाउँछन्। मुलुकको सहरिया युवा वर्ग टोपीबाट टाढिँदै गएको अनुभव हुन्छ। यस आलेखमा टोपी संस्कृति र यसको महत्त्वबारे संक्षिप्त विचरण गर्ने प्रयास गरिएको छ।

‘टोपी’ नेपाली पहिचानको एकवस्त्रीय प्रतीकका रूपमा रहँदै आएको छ। झट्ट हेर्दा ‘टोपी’ टाउकामा मिल्ने रंगीन वा सादा सानो कपडाको तयारी पोसाक देखिन्छ। कपडाको टुक्रा सानो वा ठुलो आकारको हुनुमा त्यति अर्थ रहन्न। त्यसले शारीरिक अंग रक्षाका लागि पुर्‍याउने उपादेयता वा उपयोगको आवश्यकतानुसार महत्त्व पाउँछ।

शिरमा टोपी लगाउने चलनको प्रारम्भ कहिलेदेखि भयो भनेर यकिन गर्न गाह्रो छ। यस सम्बन्धमा कुनै चित्त बुझ्दो ऐतिह्य वा विवरण फेला पार्न वस्त्रविद्हरूलाई पनि सजिलो नहोला। अन्य वस्त्रादि वा पहिरन लगाउने क्रमको विकाससँगै टोपीको प्रयोग पनि हुन थाल्यो होला भन्ने अनुमान मात्र गर्न सकिन्छ।

आदिम मनुष्यले भेषभूषाको प्रयोग आफ्नो शारीरिक सुरक्षाकै हेतु गर्न थालेको हो। टोपी पनि प्राग्ऐतिहासिक मानवीय चेतनाद्वारा निर्मित आविष्कार नै थियो भन्न सकिन्छ।

 कालक्रम अनुसार भिन्नभिन्न मानव समाजमा भिन्नाभिन्दै टोपीका प्रयोगहरू हुँदै आए। उहिल्यैदेखिको यो क्रम यथावतै छ। फरकफरक समाजमा अन्य पोसाक वा पहिरनसँगै टोपी लगाउने चलनले संस्कृतिकै रूप लिन पुग्यो।

नेपाली पहिरन-संस्कृतिमा टोपी लगाउने चलन मल्लकालदेखि चल्दै आए पनि २००७ सालपछि मात्र यसले व्यापक रूपमा सामाजिक मान्यता पाएको कुरा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बताएका छन्, ‘टोपी मल्लकालदेखि नै लगाइँदै आएको भए पनि सरकारी स्तरबाट भने २००७ सालपछि राष्ट्रिय मान्यता पाएको हो।’ (प्रेम बानियाँ, जय स्वाभिमान, २०६९)

अत्यावश्यक लुगाफाटो, पहिरन वा अन्य जुनसुकै गरगहना, भेषभूषाको संस्कृतिलाई हावापानी, भूबनोट, साधनस्रोतको उपलब्धता आदिका आधारमा नेपालीहरूले फरकफरक स्वरूपमा अपनाउँदै र निरन्तरता दिँदै आए।

प्राचीन कालदेखि नै उत्तर वा दक्षिणतिरबाट यहाँ आएर स्थायी तवरमा बसोबास गर्ने मानिसहरू भिन्नाभिन्नै पहिरन वा भेषभूषाको संस्कृतिमा रमाउँदै आए। शासकहरूको भेषभूषाको प्रभाव पनि क्रमशः सर्वसाधारणमा पर्नु स्वाभाविक थियो।

नेपालमा लोकप्रिय शिरपोस अर्थात् टोपीको प्राचीनता मध्यपूर्वी सांस्कृतिक सभ्यतासम्म जोडिन सक्ने विद्वान्हरूको ठहर छ। टोपीको पुर्ख्याैली वा उद्गम भूमि टर्की रहेको कुरा प्रा. रामकुमार पाण्डे बताउँछन्, ‘टर्कीमा उत्पत्ति भएको टोपीलाई नेपालीले पनि आफ्नै पाराले भादगाउँले, ढाका टोपी बनाएको छ, जुन हिन्दुस्तानी, मुसलमानी र इन्डोनेसियालीभन्दा पृथक छ।’ (नेपाल परिचयः २०५५)

सनातन संस्कृतिमा सबै प्राचीन सन्तहरूले टोपी लगाउने गरेको बताउँदै नेपाली टोपी अरूभन्दा भिन्न भएको र यसले नेपालीको पहिचान पनि दिने हुँदा आफूले जहाँ जाँदा पनि टोपी लाउने गरेको साहित्यकार राजेन्द्र विमल बताउँछन्, ‘सनातन परम्परामा जति पनि सन्तहरू छन्, ती सबैले कुनै न कुनै रूपको टोपी लगाएका छन्। टोपी नेपालीको पहिचान हो। यो अरूभन्दा भिन्न भएकाले मैले जीवनभरि टोपी लगाउने गरेको छु। बनारसमा वा दिल्लीमा हुँदा पनि यसलाई लगाएँ र अन्यत्र बाहिर जाँदा झन् बढी लगाउँछु।’ (टेलिफोन संवाद)

टोपीको पहिरन संसारभरि नै प्रचलित छ। पश्चिमी जगत्मा लगाइने ‘क्याप’ का पनि अनेक प्रकार छ। विभिन्न पेसागत संगठनमा आबद्ध मानिसहरूले लाउने शिरपोस विशेष खालको हुन्छ। सैनिक, प्रहरीलगायतले लगाउने शिरपोसको प्रतिष्ठा बेग्लै छ।

विशेष चाडपर्व वा उत्सवहरूमा विभिन्न जातिले आआफ्नै जातीय सांस्कृतिक पहिरन लगाउँछन्। नेपालका प्रायः सबै जातजाति वा समुदायका शिरपोसले उनीहरूको परम्परागत विश्वास, सभ्यता एवं संस्कृतिलाई प्रतिबिम्बित गराइरहेको हुन्छ। अन्य पोसाकहरूसँगै भिन्नाभिन्नै शिरपोसले भिन्नाभिन्नै सांस्कृतिक जीवनको प्रतिनिधित्व पनि गर्छ।

टोपीसँगै आवश्यकतानुसार लगाइने अन्य पहिरनको पनि उत्तिकै शारीरिक तादात्म्य रहन्छ नै। नेपालमा शिरपोस वा टोपी हिमाल, पहाड, तराई–मधेस प्रायः सबैतिर लगाउने गरिन्छ। वस्त्रादिको प्रयोगमा विभिन्न ठाउँको भौगोलिक परिवेश वा हावापानीले प्रभाव पारेको हुन्छ।

गर्मी हावापानीमा लगाइने पहिरन ठन्डा हावापानीमा लगाइनेभन्दा पातलो वा हलुका हुन्छ। मधेसी पहिरन संस्कृतिमा पहाडतिर लगाइने जस्तो टोपी कमै प्रयोग हुने गरेको देखिए पनि सर्वसाधारणले लगाएकै देख्न सकिन्छ। पहाड वा मधेस, युवा पिँढी टोपी लगाउने परम्परागत संस्कृतिप्रति कमै मैत्रीपूर्ण देखिन पनि थालेको छ।

बाह्य सांस्कृतिक प्रभावको विस्तारले हाम्रो समग्र सांस्कृतिक मौलिकतामा क्षयीकरण ल्याउँदै गरेको प्रस्ट अनुभव हुन थालेको छ। पहिरन-संस्कृति पनि त्यसबाट अछुतो छैन। उमेरमा प्रौढता आउँदै गर्दा युवा छँदा नलगाउनेहरू धेरैले टोपी लगाउँछन्। शारीरिक स्वस्थताका लागि टोपीको महत्त्व सबैले बुझेकै छन्।

नेपाली टोपी कुनै जात वा भूगोलसँग मात्र सम्बन्धित नभएर नेपाली मात्रको जातीय सम्पदाका रूपमा रहेको बताउँछन् स्रष्टा विमल, ‘यसलाई हामीले जुनसुकै परिस्थितिमा पनि सम्मान गर्नुपर्छ। यो न बाहुन, छेत्री वा कुनै जातसँग सम्बन्धित छ, न हिमाल, पहाड वा तराईसँग मात्र सम्बन्धित छ। यो त सम्पूर्ण नेपाली जातिको पहिचान हो। हामीले साझा पहिचानको यस्तो प्रतीकमाथि सम्मान र माया गर्नुपर्छ। नेपाली टोपीलाई सम्पूर्ण नेपाली जातिको सम्पदा मान्नुपर्छ।’

टोपी संसारका सबै जाति र सभ्यताको प्रतीकका रूपमा रहँदै आएको कुरा स्रष्टा विमल बताउँछन्, ‘जहाँसम्म टोपीको प्रश्न छ, त्यो संसारका सबै जाति वा सभ्यतामा, चाहे त्यो मिस्री होस् वा मेसोपोटामिया, प्रत्येक सभ्यता र जातिको प्रतीक चिह्नका रूपमा रहेको छ।’

नेपाली टोपीका सन्दर्भमा कुरा गर्दा राष्ट्रिय पोसाककै सन्दर्भमा केही कुरा उल्लेख गर्नु सान्दर्भिक नै ठहरिएला।

पहिरनले राष्ट्रियताको चिनारी गराउँछ। संसारका अधिकांश मुलुकका आआफ्नो राष्ट्रिय परिचय दिने पहिरन छन्। विश्वस्तरीय ओलम्पिक प्रतियोगिताहरूमा आआफ्ना राष्ट्रिय पोसाक लगाएर उद्घाटन, समापन समारोहमा खेलाडीहरू उपस्थित हुन्छन्।

संसार भूमण्डलीकरणमा आवेष्टित भइसकेको भए पनि मुलुकहरूको आआफ्नै सांस्कृतिक अस्तित्व रहन्छ। सबैले आआफ्नो राष्ट्रियता वा पहिचानलाई अरूद्वारा सद्भाव र सम्मानको अपेक्षा राखेका हुन्छन्।

अन्तर्राष्ट्रिय सभा-सम्मेलनहरूमा सहभागी हुने जुनसुकै पनि मुलुकको प्रतिनिधि आफ्नो मुलुकलाई चिनाउन चाहन्छ, ऊ अरूद्वारा आफू सम्मानित हुन पनि चाहन्छ। जुनसुकै मुलुक पनि आन्तरिक तवरमा विविधतायुक्त नै हुन्छ। संसारमै एउटा जाति वा समुदाय मात्रै भएको मुलुक पाउन कठिन छ।

देशको प्रतिनिधित्व गर्ने हिसाबले विदेशमा पुगेको जिम्मेवार व्यक्तिले उसको देशको सांस्कृतिक चिनारी पनि गराइरहेको हुन्छ। यस्तो अवस्थामा मुलुकवासी सबैका लागि मान्य हुने राष्ट्रिय पोसाकका साथ उसको उपस्थिति भएमा मुलुककै गरिमा बढेर जान्छ।

 नेपालको विगतमा पुरुषका लागि दौरा, सुरुवाल, कोट, टोपी अनि महिलाका लागि सारी, चोलो निर्धारित पनि थियो। तर नेपालको संविधान, २०७२ मा यसलाई राजनीतिक कारणवश समावेश गरिएन।

राष्ट्रिय पोसाककै विषयलाई लिएर तत्काल केही क्षेत्रीयतावादी राजनीतिक दल र व्यक्तिहरूले २०६७ सालमा राष्ट्रिय पोसाकका विरुद्ध सडक प्रदर्शन नै गरेका थिए, जब कि सर्वोच्च अदालतले मुलुकको राष्ट्रिय पोसाक चाहिन्छ भन्ने आसयको फैसला गरेको थियो। त्यसलाई उनीहरूले सम्मान गरेनन्। त्यसको असर नेपालको संविधान, २०७२ मा पनि पर्न गएको बुझ्न सकिन्छ।

कुरो पहाडे, मधेसी वा हिमालीको भन्ने होइन, नेपाल र नेपालीको हो, समग्र मुलुकको हो। मुलुकको समग्र पहिरन संस्कृतिको साझा चिनारी केबाट दिन सकिन्छ भन्ने कुराको हो। त्यसबेला विरोध गर्ने राजनीतिक दलहरूले पहाडेको पोसाकका रूपमा दौरा, सुरुवाल, टोपीसहितको राष्ट्रिय पोसाकलाई अर्थ्याए। त्यस अर्थ्याइँमा क्षेत्रीय तवरमा पूर्वाग्रही दृष्टिकोण रहेको बुझ्न सकिन्छ। पहाडे वा मधेसी सबैद्वारा सबैको सांस्कृतिक पहिचानलाई सम्मान गरिँदै आएको सुदीर्घ सांस्कृतिक इतिहास हाम्रो साथमा छ, हामी त्यसमा गर्व गर्छौं।

संस्कृतिविद् जोशीले त्यसैताका भनेका थिए, ‘अहिलेको पोसाक हुँदैन भने कमसेकम एउटा त चाहियो। राष्ट्र गीतजस्तै सबैले मान्ने एउटा चाहियो। लवेदा, सुरुवाल, टोपी मान्दैनौं भन्ने हो भने एउटा अर्को बनाउनुपर्‍यो।’ (जय स्वाभिमान) जोशीले राष्ट्रिय पहिचान र संस्कृति झल्किने पोसाक वा प्रतीकहरूलाई जनमतको माध्यमबाट भए पनि निर्धारण गरिनुपर्ने विचार व्यक्त गरेका थिए।

नेपाल गणतन्त्र युगमा प्रवेश गरेसँगै औपचारिक तवरमा साझा नेपाली राष्ट्रिय पोसाकको गौरवको अन्त्य पनि भयो। प्रमुख राजनीतिक दलहरूले सबै नेपालीले प्रचलनमा ल्याउँदै आएका पोसाकहरू राष्ट्रिय पोसाक हुन् भने। उनीहरूको भनाइ सत्य नै हो। त्यसमा कसैको विमति हुँदैन। यद्यपि औपचारिक तवरमा मुलुकबाहिर परिचय दिलाउने पहिरन के हो त? यसको जवाफ न राजनीतिक दलहरूले दिन सकेका छन्, न संविधानले नै।

हिमाल, पहाड र तराई-मधेस मूलका तीन नेताहरू कुनै अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा हिमाली, पहाडी र मधेसी भएर जान्छन् कि ‘नेपाली’ भएर सहभागी हुन्छन्? हामी एउटै मुलुक नेपालबाट आएका हौं भन्छन् भने उनीहरूको लवाइमा समानता झल्किने कुनै एउटै भए पनि मिल्ने खालको साझा पोसाक त चाहियो नि।

सारी, चौबन्दी, दौरा, सुरुवाल, भादगाउँले वा ढाका टोपीसहितको राष्ट्रिय पोसाकले मुलुकको मर्यादा उच्च बनाउँछ। अनेक जातजातिका आफ्नै लोलीबोली र संस्कृति छन्, पहिरन अनेक छन् तर पनि समग्रमा हामी नेपाली जाति हौं। नेपाली जातीय पहिरन केही न केही त हुनुपर्छ भन्ने नै जोशीको भनाइको मर्म हो।

नेपालमा पुरुष र महिलाको राष्ट्रिय पहिरन र पोसाक सुनिश्चित रहँदै आएको परम्परा नै थियो। बाह्य मुलुकमा हुने भ्रमणमा औपचारिक तवरमा निश्चित पोसाक प्रयोग गरिन्थ्यो। विदेशमा जाँदा दौरा-सुरुवाल लगाए पनि वा सुट लगाए पनि टोपीले छुट्टै पहिचान कायम गर्ने भनाइ प्राध्यापक वीणा पौड्यालको रहेको छ, ‘विभिन्न देशका सभा-सम्मेलनमा सहभागी हुन जाँदा राष्ट्रिय पोसाकबाहेक कोट, पाइन्ट, सुटमा नेपाली टोपी (ढाका), भादगाउँले लगाउँदा पनि छुट्टै पहिचान देखिन्छ।’ (नेपाली राष्ट्रियता, पहिचान, संस्कृति र संघीयता, २०७०)

कुनै पनि व्यक्ति उसको गुण वा विशेषताका आधारमा चिनिन्छ। व्यक्तिका केही गुण वा विशेषता दुरुस्त अर्को कसैसँग पनि मिल्दैनन्। कुनै पनि समाज वा मुलुकको पनि आफ्नै गुण वा विशेषता रहन्छ। रीतिथिति, सामाजिक व्यवहार, लुवाइखुवाइ, चाडपर्व आदि अनेकौं पृष्ठभूमि र तिनकै आधारमा समाजको निर्माण भएको हुन्छ। लैंगिक हिसाबले पुरुष वर्गको व्यक्तित्वसँग जोडिएको शिरपोस वा टोपी नेपाली जातीय सांस्कृतिक सौन्दर्यको प्रतीक पनि बन्दै आएको छ।

तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले भादगाउँले टोपी लगाएर नै नेपालको संविधान, २०७२ जारी गरेका थिए। टोपीसहित राष्ट्रिय पहिरनको संवैधानिक सम्मान गरिनु मुलुककै पहिचान र प्रतिष्ठाका लागि सांस्कृतिक शोभा हुनेछ।

अन्त्यमा गोपाल योञ्जनद्वारा रचित गीतको अंश;

‘मेरो टोपी मैलो होइन, यही माटोको टीको लागेको

मेरो पसिना पुछ्दा पुछ्दा यसलाई केही दिक्क लागेको

यो मेरो टोपी हो...

सुहाइदिन्छ सबै सबै नेपाली शिरमाथि...।’

नेपाली टोपी जहाँ पुगोस्, नेपाली माटोको सुगन्ध बोकेर जान्छ, नेपाली जातिको स्वाभिमान बोकेर जान्छ र शिरमा नेपाल बोकेर जान्छ।

प्रकाशित: ९ मंसिर २०८० ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App