७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

संसारकै धनी जस्तो लाग्थ्यो दशैंमा

मुक्तक

१.मुक्तक

दिवस मनाइयो, अनि नारा लगाइयो,

कतै कुवा खनियो कतै धारा लगाइयो।

बिरुवा त एउटै नर्सरीको हो महाशय!

किन कुनैमा टेवा, कुनैमा आरा लगाइयो।

२.मुक्तक

अन्नको भकारी घरमै भरीभरी हुन्थ्यो,

आफ्नै घु¥यानमा केरा घरीघरी हुन्थ्यो।

ताजै छ त्यो दशै मानसपटलमा अझै,

साथीसँगी इष्टमित्र वरिपरि हुन्थ्यो।

३.मुक्तक

बाबियो खर जम्मा गरी लिङ्गे पिङ बाटेपछि,

दोकानमा गई दुईचार सौको खुद्रा पैसा साटेपछि।

कम्ती खुशी लाग्दैनथ्यो, परदेशी घरमा आउँदा,

बल्ल दशैं आउथ्यो हजुर, घरमै खसी काटेपछि।

४. मुक्तक

साहुबाट बाउआमाले ऋण लिएपछि,

सूचीकारले घरमै आई लुगा सिएपछि।

संसारकै धनी जस्तो लाग्थ्यो दशैंमा,

दक्षिणामा मामाले नयाँ पैसा दिएपछि।

५. मुक्तक

घैया धान भिजाई मिलाई चट्ट भुटेपछि,

ढिकी चलाई दुईचार पाथी च्यूरा कुटेपछि।

कम्ती खुशी हुन्थ्यो मन दशैं आयो भन्दा,

रातोमाटो कमेरोमा गाँउ नै जुटेपछि।

६.मुक्तक

पिपलको पात टिप्ने गरी लिङ्गेपिङ मच्चाइन्थ्यो,

जस्तो लाउँ जस्तो खाँउ सजिलो नै पचाइन्थ्यो।

बहाना त टीका हुन्थ्यो, ध्यान भने दक्षिणामा!

कापीकलम किन्नलाई त्यही पैसा नि बँचाइन्थ्यो।

७.मुक्तक

नहाँस्नेको हाँसो छुट्छ पिउँदै गएपछि,

नबोल्नेको बोली फुट्छ पिउँदै गएपछि।

कञ्जुस पनि अघि सर्छ खर्च गर्नलाई,

सत्यतथ्य प्रमाण जुट्छ पिउँदै गएपछि।

प्रकाशित: ९ कार्तिक २०८० ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App