११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

बेलबारी गोल्डकप: पाहुना टोलीलाई पन्छाउँदै राजारानी सेमिफाइनलमा

पाँचौं बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा धनकुटाको राजारानी फुटबल क्लब पुगेको छ।  

मोरङको बेलाबारी नगरपालिका–११ लक्ष्मीमार्गमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा पाहुना टोली भारत कालिङम्पोङको युनाइटेड ब्रदर्श पराजित गर्दै राजारानीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। राजारानीले युनाइटेडलाई ४–० को फराकिलो गोल अन्तरमा पराजित गरेको छ।  

यस अघिका प्रतिस्पर्धाबाट काठमाडौंको सशस्त्र प्रहरी बल (एपिएफ), सिरहाको सहलेस युथ क्लब र आयोजक डाँगीहाट युथ क्लब सेमिफाइनलमा पुगिसकेका छन्। राजारानीका छिरिङ गुरुङले खेलको ३५ औं मिनेटमा गोलको खाता खोले। उनले सुनील खड्काको क्रसलाई सदुपयोग गर्दै गोल गरेका हुन्। ७३ औं मिनेटमा निशान लिम्बूले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। सेन्टरमा पाएको पासलाई अघि बढाउँदै युनाइटेडका गोलरक्षक रिसब तामाङलाई बिट गर्दै गोल गरे।  

खेलको इन्जुरी समयमा मनिष थापाले गोल थपे। उनले योमन लिम्बूले प्रहार गरेको बल गोलरक्षकलाई लागेर रिबाउण्ड भएपछि थापाले गोल गरे। अन्तिम समयमा बुद्ध चेम्जोङले गोल थपेसँगै खेल सकिएको थियो। उनले करिब ३५ यार्ड टाढाबाट गरेको प्रहारले पोस्टको बाटो तय गरेको थियो।  

कप्तान सनम लेप्चाको पासमा दिनेश राईको प्रहारलाई राजारानीका गोलरक्षक पुजन होनाले उत्कृष्ट ढंगले बचाए। ६८ औं मिनेटमा वान भर्सेस वानको अवस्थामा सनम लेप्चा असफल भए। म्यान अफ द म्याच राजारानीका कप्तान बुद्ध चेम्जोङले ५ हजार रूपैयाँ प्राप्त गरे।  

प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन्। यस अघिको चौथो संस्करणमा विजेताले ५ लाख रूपैयाँ प्राप्त गरेका थिए। विभिन्न व्यक्तिगत पुरस्कारसमेत रहेको छ।  

प्रतियोगितामा गत वर्षको विजेता टोली सशस्त्र प्रहरी बल, झापाको रोलिङ एफसी, विराटनगरको पेम्बा युथ क्लब, आयोजक डाँगीहाट युथ क्लब, पोखराको सहारा क्लब, सिराहाको सहलेस युथ क्लब, धनकुटाको राजारानी फुटबल क्लब, क्यामरुनको एभिनियर फुटबल क्लब, भारत वेस्ट बंगालको आमुक्त परिवार र कालिङम्पोङको युनाइटेड ब्रदर्शको सहभागिता रहेको छ। सोमबारको पहिलो सेमिफाइनल खेलमा आयोजक र एपिएफबीच हुनेछ।  

प्रकाशित: २० कार्तिक २०७९ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App