१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल र भारत दुवैको बंगलादेश छल्ने दाउ

श्रीलंकाको कोलम्बोमा जारी साफ यु-१७ च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा शुक्रबार साबिक विजेता भारतको सामना गर्दा नेपाल जितसहित समूहविजेता बन्ने लक्ष्यमा हुनेछ।

समूह ‘बी’ को आफ्नो पहिलो खेलमा भुटानमाथि २–१ को जितसहित नेपालले बुधबार एक खेलअगावेै सेमिफाइनलमा स्थान बनाएको थियो।

भारतको पनि एक खेलमा तीन अंक छ भने नेपालको पनि समान खेलमा तीन अंक नै छ। बराबरीको नतिजाले भने भारत समूहविजेता बन्नेछ। त्यसैले समूहविजेता बन्न नेपालका लागि जितको विकल्प छैन। भुटान भने लगातार दुई हारसँगै प्रतियोगिताबाट बाहिरिसकेको छ।

समूह ‘ए’ बाट बंगलादेशले दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै समूहविजेताका रूपमा अन्तिम चारमा स्थान बनाइसकेको छ। समूह ‘ए’ को पहिलो खेलमा आयोजक श्रीलंकामाथि सहज जित निकालेको बंगलादेशले माल्दिभ्सविरुद्ध पनि सोही लय कायम राखेको थियो। श्रीलंका र माल्दिभ्सको खेलले समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गर्ने टोलीको टुङ्गो लगाउनेछ। नेपालसँगै भारत सेमिफाइनलमा बंगलादेशविरुद्धको भिडन्त टार्न चाहन्छन्।

नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले भारतमाथिको जितले समूहविजेता बन्ने र त्यसले सेमिफाइनलमा सहज प्रतिद्वन्द्वी पर्ने हुँदा फाइनल यात्रा सहज हुने बताए। ‘हामीले यस प्रतियोगिताको सातौं संस्करणसम्म आइपुग्दा भारतमाथि सुखद नतिजा ल्याउन सकेका छैनौं,’ श्रेष्ठले भने, ‘सन् २०१३,२०१७ र २०१९ मा नेपाल राम्रो नतिजासहित फाइनल प्रवेश गरे पनि हामी तीनै पटक भारतसँग निराश भएका छौं। तर यस पटक हामीसामु भारतसँगको खराब नतिजामा पूर्णविराम लगाउने सुनौलो अवसरसमेत छ। नेपाली खेलाडीले अन्य खेलमा कस्तो प्रदर्शन गरे भन्दा पनि भारतविरुद्ध कस्तो नतिजा ल्यायो भन्ने कुराले विशेष अर्थ राख्छ। त्यसैले भारतविरुद्धको खेल हाम्रा लागि फाइनलसरह हो। उनीहरूमाथिको जितले हाम्रो मनोबल बढ्नेछ। जसबाट हाम्रो च्याम्पियन बन्ने लक्ष्य केही सहज बन्न सक्छ।’

सन् २०११ मा साफ यु-१६ को पहिलो संस्करण भएको थियो। जसको उपाधि पाकिस्तानले जितेको थियो। समूहचरणमा शतप्रतिशत नतिजा ल्याएको नेपाल सेमिफाइनलमा भारतसँग पेनाल्टी सुटआउटमा ४–२ ले निराश भयो। सन् २०१३ को संस्करणमा भने नेपाल फाइनमा भारतसँग १–० ले निराश भएको थियो।

सन् २०१५ मा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग १–० ले हारेको थियो। सन् २०१७ मा यु–१५ को उमेरसमूहमा सम्पन्न प्रतियोगिताको फाइनलमा पनि नेपाल भारतसँग २–१ ले पराजित भएको थियो। सन् २०१८ र २०१९ को संस्करण पनि यु–१५ को उमेरसमूहमा सम्पन्न भएको थियो। जसमध्ये सन् २०१८ मा भने नेपाल सेमिफाइनलमा पाकिस्तानसँग निराश भयो। सन् २०१९ को फाइनलमा भने नेपाल भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो।

यु–१५ र यु–१६ को उमेरसमूहमा हुँदै आएको प्रतियोगिता सातौं संस्करणमा आएर यु–१७ को उमेरसमूहमा हुन लागेको हो। जुन नेपालका लगि भारतसँगको शृंखलाबद्ध हारमा पूर्णविराम लगाउँदै बदला लिने अवसर बन्न सक्छ।

प्रकाशित: २४ भाद्र २०७९ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App