१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

प्रभाकर नेपाली क्रिकेट टोलीका प्रशिक्षक

 भारतीय क्रिकेट टोलीका पूर्व ओपनिङ ब्याट्सम्यान तथा बलर मनोज प्रभाकर सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।  

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार भारतका पूर्वअलराउन्डर प्रभाकरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। क्यानका सचिव प्रशान्त मल्लले प्रभाकरलाई एक वर्षका लागि नियुक्त गरेको र आगामी बिहीबार नै उनी नेपाल आउने तयारीमा रहेको बताए।  प्रभाकर पछिल्लो समय बिहार क्रिकेट टोली सम्हाल्ने तयारीमा थिए। जहाँ उनले नेपालको भन्दा बढी पारिश्रमिक पाउने तय थियो। तथापि, नेपाली क्रिकेटको लोकप्रियताका कारण उनले अन्तिम समय नेपाल आउने निर्णय गरे। उनी खेलाडी र प्रशिक्षक जीवनमा निकै विवादास्पद रहे। उनले भारतीय पूर्वकप्तान कपिलदेवलाई म्याच फिक्सिङको आरोप लगाए। भारतीय क्रिकेटमा ठूलो म्याच फिक्सिङ काण्ड बाहिरिँदा उनी पनि दोषी ठहरिए र प्रतिबन्धसमेत भोग्नुपर्‍यो।  

यद्यपि, एक समय भारतीय क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय स्तरमा लगातार एकरूपताको प्रदर्शन गर्ने सीमित खेलाडीमध्ये उनको नाम पनि जोडिन्छ।  सन् १९९६ को विश्वकपमा उनी भारतीय क्रिकेट टोलीका सदस्य थिए। सो विश्वकपमा भारत श्रीलंकासँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको थियो। पछि श्रीलंकाले नै त्यो विश्वकप जित्यो। सोही विश्वकपको समूहचरणमा पनि भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो, त्यो खेल नै प्रभाकरका लागि भारतीय टोलीबाट अन्तिम रह्यो।  

भारतको शीर्ष क्रम र मध्यक्रम जहाँ पनि ब्याटिङ गर्न सक्ने प्रभाकर ओपनिङ बलिङ पनि गर्थे। सन् १९९९ को म्याच फिक्सिङमा आरोपित भएपछि उनीमाथि लामो समय प्रतिबन्ध लागेको थियो। भारतले फिक्सिङ आरोपमा उनीसहित पूर्वकप्तान मोहम्मद अजहरूद्दिन, अजय जडेजा र अजय शर्माजस्ता स्टार क्रिकेटरलाई सन् २००० मा प्रतिबन्ध लगाएको थियो।  सन् २००५ मा पाँच वर्षको प्रतिबन्ध फुकुवापछि उनी गौतम गम्भीरको कप्तानीमा रहेको रणजी ट्रफी टोली दिल्लीका बलिङ प्रशिक्षक नियुक्त भए।  

उनकै प्रशिक्षणमा रहेको त्यो टोलीले सन् २००७ मा रणजी ट्रफी पनि उचाल्यो। त्यसपछि प्रभाकरले राजस्थान, उत्तर प्रदेश र अफगानिस्तान क्रिकेट टोलीको बलिङ प्रशिक्षण समालेका छन्। कुनै पनि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षण समालेको भने उनको यो पहिलो अनुभव हो। खेलाडीका रूपमा एक समय सफल प्रभाकरको प्रशिक्षण करियर भने सुखद छैन। त्यसमा पनि उनी बेलाबेलामा विवादमा मुछिने गरेका छन्।  सन् २०११ मा खेलाडी र छनोटकर्तामाथि अपमानजनक प्रतिक्रिया दिएपछि रणजी ट्रफी सुरु हुनुभन्दा दुई दिनअगाडि नै उनी दिल्लीको प्रशिक्षकबाट बर्खास्त भएका थिए।  

नयाँ जिम्मेवारी पाएका प्रभाकरले कठिन अवस्था र गुटबन्दीमा रहेको नेपाल क्रिकेटलाई कसरी माथि उठाउँछन् भन्ने चासोको विषय बनेको छ। प्रभाकरले टेस्ट क्रिकेटमा ९६ विकेट, एकदिवसीयमा १ सय ५७ र फस्ट क्लास क्रिकेटमा दिल्लीका लागि तीन सय ८५ भन्दा बढी विकेट लिएका छन्। उनले भारतका लागि ३९ टेस्टमा एक हजार ६ सय रन र एक सय ३० एकदिवसीय खेलमा एक हजार आठ सय ५८ रन बनाएका छन्। खेलाडी जीवनमा बलिङ र ब्याटिङमा राम्रो क्रिकेटर प्रमाणित प्रभाकरको प्रशिक्षण यात्रा सुखद छैन। तथापि, उनको अनुभवले नेपाली क्रिकेटले फड्को मार्ने क्यानका सचिव प्रशान्त मल्लले विश्वास व्यक्त गरेका छन्।  

प्रकाशित: २४ श्रावण २०७९ ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App