८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

१२औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड सुरु

उद्घाटन समारोहका अवसरमा भएको टर्च र्याली, मार्च पास्ट र तेक्वान्दोको डेमोन्स्ट्रेसन खेल । तस्बिर/राखेप

युवा प्रतिभावान् खेलाडी खोजी गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १२औं मंगलबारदेखि राजधानीमा सुरु भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारबाट काठमाडौंमा सुरु भएको हो। राष्ट्रपति रनिङ शिल्ड वि.सं. २०६६ सालदेखि सुरु भए पनि लगातार आयोजना हुन सकेन। यस वर्ष १३औं संस्करण सम्पन्न हुनुपर्ने थियो। तर, १२औं संस्करण आयोजना हुँदै छ। देशको व्यवस्था परिवर्तनसँगै राष्ट्रपति रनिङ शिल्डको सुरुआत भएको हो। त्यसअघि वि.सं. २०३२ सालदेखि वीरेन्द्र शिल्ड हुँदै आए पनि व्यवस्था परिवर्तनपछि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिन थालियो।

मंगलबार १२औं संस्करणको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक कार्यक्रमबीच उद्घाटन गरेका थिए। सो अवसरमा मन्त्री गहतराजले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिँने हुँदा यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको बताए। राखेपका सदस्यसचिव टंकलाल घिसिङले विद्यालयस्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त राख्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न मद्दत पुग्ने बताए।

उद्घाटनका अवसरमा सहभागी पाँचै प्रदेशका खेलाडीले मार्च पास्ट गरेका थिए। कपन टाइगरका तेक्वान्दो खेलाडीले आकर्षक र साहसिक प्रदर्शनी पनि प्रस्तुत गरे। अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरे भने नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स संघले व्यवस्थापन गरेको बी बोइङ पनि मनमोहक थियो। जुडोकी ओलम्पियन सोनिया भट्टले उद्घाटन स्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्य्राकमा ओलम्पिक टर्च परिक्रमा गराएका थिइन्। राष्ट्रपति रनिङ शिल्डको कुनै पनि उद्घाटन कार्यक्रममा ओलम्पिक टर्च परिक्रमा गराइएको यो पहिलोपटक हो।

निर्णायकको तर्फबाट एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र खेलाडीबाट गण्डकी प्रदेशकी एथलेटिक्स खेलाडी तीर्था ढकालले सपथ ग्रहण गरेका थिए। विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश–१ र मधेश प्रदेश बाहेक पाँच प्रदेशका खेलाडी प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा गरी पाँच सय खेलाडी सहभागी छन्। एथलेटिक्समा २६, करातेमा ८, तेक्वान्दो र उसुमा ६/६, भलिबल र कबड्डीमा २/२ गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। समग्रमा शीर्ष तीन स्थानमा रहने टोली र खेलाडीको व्यक्तिगत गरी कुल पुरस्कार राशि ९ लाख ४५ हजार रूपैयाँ रहेको छ। प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ। प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको यो तेस्रोपटक हो।

प्रकाशित: २९ असार २०७९ ०५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App