१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

इङ्ल्यान्डद्वारा शृंखला क्लिन स्विप

नयाँ कप्तान र प्रशिक्षकको आगमनसँगै स्वाभाविक लयमा फर्किएको संकेत दिने क्रममा इङ्ल्यान्डले सोमबार न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखलामा क्लिन स्विप गर्‍यो। न्युजिल्यान्ड विरुद्धको उत्कृष्ट प्रदर्शन इङ्ल्यान्ड यसै साता इडगावास्टनमा भारतविरुद्ध हुने एक मात्र टेस्ट खेलमा समेत कायम राख्न चाहन्छ।

इङल्यान्डले न्युजिल्यान्डविरुद्ध सात विकेटको जितसहित तीन टेस्टको शृंखला ३–० ले आफ्नो पक्षमा पारेको हो। न्युजिल्यान्डले जितका लागि इङ्ल्यान्डसामु मात्र दुई सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। अन्तिम दिन इङ्ल्यान्ड जितबाट मात्र एक सय १३ रनले पछि थियो।

इङ्ल्यान्डले सोमबार न्युजिल्यान्डलाई हराउन अन्तिम दिन मात्र ६५ मिनेट खर्चिएको थियो। वर्षाका कारण बिहानी सत्रको खेल सम्भव भएन। तर जोनी बेयस्र्टाेले ४४ बलमा आठ चोैका र तीन छक्काको मद्दतमा अविजित ७१ रन तथा जो रुटले एक सय २५ बलमा ११ चौका र एक छक्काको मद्दतमा अविजित ८६ रनको योगदान दिए।

८२ रनमा खेलिरहेका ओल्ली पोप दिनको पहिलो ओभरमा पवेलियन फर्किएका थिए। इङ्ल्यान्डले विश्व च्याम्पियनविरुद्धको तीनवटै खेल सहजै आफ्नो पक्षमा पार्‍यो। लर्ड्समा सम्पन्न पहिलो टेस्टमा इङ्ल्यान्डलाई दुई सय ७७ रनको लक्ष्य दिएको न्युजिल्यान्डले ट्रेन्टब्रिजमा सम्पन्न दोस्रो टेस्टमा दुई सय २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

मार्चमा इङ्ल्यान्ड वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला १–० ले गुमाउँदै फर्किएको थियो। जुन टेस्ट शृंखला इङ्ल्यान्डको लगातार पाँचौं हार थियो। इङ्ल्यान्डले प्रशिक्षकमा न्युजिल्यान्डका पूर्वकप्तान ब्रेन्डन म्याककुलमलाई अनुबन्धन गर्‍यो भने कप्तानको जिम्मेवारी बेन स्टोक्सलाई दियो।

नयाँ प्रशिक्षक र कप्तानको आगमनसँगै इङ्ल्यान्डको प्रदर्शन निकै आक्रामक देखियो। इङ्ल्यान्डसामु शुक्रबारबाट सुरु हुने भारतविरुद्धको टेस्ट शृंखला बराबरी गर्ने अवसर छ। गत सेप्टेम्बरमा कोभिड १९ संक्रमणका कारण पाँचौं तथा अन्तिम टेस्ट स्थगित भएको थियो। टेस्ट रोकिनुअघि भारत शृंखलामा २–१ ले अघि थियो।

जुन टेस्ट शृंखला नयाँ तालिकामा आयोजना हुन लागेको हो। इङ्ल्यान्ड उच्च मनोबलका साथ टेस्टको सुरुआत गर्न चाहन्छ र स्टोक्स सो टोलीलाई प्रेरणादायी नेतृत्व प्रदान गर्न तयार छन्। ‘टोलीले ममाथि विश्वास गर्‍यो,’ स्टोक्सले भने, ‘मेरो आशय आक्रमक शैलीमा खेल्दा इङ्ल्यान्डको स्वाभाविक लय फर्कन्छ भन्ने थियो। जुन लक्ष्यले पूर्णता पाएको छ।’

सोमबार स्टोक्स ब्याटिङका लागि उत्रन परेन। बेयर्स्टो र रुटले चौथो विकेटका लागि १४.३ ओभरमा अविजित एक सय ११ रनको साझेदारी गरेका थिए। स्टोक्सले बेयर्स्टो र रुटको प्रदर्शनको प्रशंसा गरे। ‘विश्वकै शीर्ष टोलीविरुद्धको शृंखला क्विन स्विप गर्नु सहज थिएन, जुन हामीले गरेर देखायौं,’ स्टोक्सले भने, ‘यो गर्विलो क्षण हो। टोलीले परिवर्तन आत्मसाथ गर्दै आफ्नो क्षमता प्रमाणित गरेको छ।’  

प्रकाशित: १५ असार २०७९ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App