८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

माने फाइनलमा केन्द्रित

लिभरपुलका फरवार्ड साडियो मानेले आफ्नो भविष्यभन्दा पनि शनिबार हुन लागेको च्याम्पियन्स लिगको फाइनलमा केन्द्रित रहेको बताएका छन्।

क्लब बसाइको भविष्य के हुने भन्ने जिज्ञासा सञ्चारमाध्यममा आइरहेको अवस्थामा मानेले आफ्नो टोली उपाधि उचाल्नेमा केन्द्रित रहेको भन्दै भविष्यका सम्बन्धमा आएको जिज्ञासालाई थाती राख्न आग्रह गरेका हुन्। सेनेगलका अन्तर्राष्ट्रिय फुटबलरले यसै सिजन आफ्नो देशलाई अफ्रिकन कफ अफ नेसन्सको उपाधि दिलाउँदा क्लबका लागि लिग कप र एफए कपको उपाधि दिलाएका छन्। यस्तै पेरिसमा हुने च्याम्पियन्स लिगको फाइनलमा पनि मानेले टोलीलाई उपाधि दिलाउने लक्ष्यमा रहेको बताएका हुन्।

‘हृदयबाट भन्नुपर्दा शनिबारपूर्व मसँग कुनै जबाफ छैन। मुख्यतः म र हाम्रो टोली शनिबार हुने फाइनल खेलका लागि केन्द्रित रहेका छौं। क्लबले पनि यसमा विशेष प्राथमिकता दिइरहेको छ,’ फरवार्ड साडियो मानेले भने, ‘शनिबारपछि हामी भेटौंला। उक्त दिन नै हाम्रो भेट विशेष हुनेछ। सबैले राख्नुभएको जिज्ञासा मैले मेटाउने प्रयास गर्नेछु।’

३० वर्षीय माने स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख जाने चर्चा चले पनि ठोस निष्कर्षमा कुनै पनि टोली पुगेका छैनन्।

‘मेरो कामलाई म निकै माया गर्छु। कामलाई नै मैले समय समर्पण गर्छु। हरेक दिन राम्रोका लागि मेरो प्रयास निरन्ततर जारी छ। जसको परिणाम दिनप्रतिदिन महसुस हुँदै आएको छ,’ मानेले थपे, ‘क्लब बसाइको निधो शनिबारपश्चात् मात्र हुनेछ। दोहो¥याउँछु, म सिजनको चौथो तथा क्लबलाई तेस्रो उपाधि दिलाउन भोको छु।’

योर्गान क्लोपको टोली लिभरपुलमा साडियो माने महत्वपूर्ण खेलाडीका रूपमा स्थापित हुँदै आएका छन्। उनी प्रशिक्षकका पहिलो रोजाइका खेलाडी हुन्। उनीसँगै मोहम्मद सालाह र रोबर्टो फिर्मिनो लिभरपुलका मुख्य खेलाडी हुन्। यी दुई खेलाडीको पनि सम्झौता झन्डै सकिने अवस्थामा रहेको छ। यसअघि यी तीन खेलाडी रहेको लिभरपुलले २०१९ मा च्याम्पियन्स लिगको उपाधि उचालेको थियो।

यिनै तीन खेलाडीको सम्झौता सिजनको अन्त्यसँगै सकिँदै छ भने तीन खेलाडी उमेरले ३० वर्ष काटिसक्ने पनि छन्। सिजनमा आफ्नो देशलाई अफ्रिकन कप अफ नेसन्सको उपाधि र क्लबलाई अन्य दुई उपाधि दिलाउन योगदान गरेका मानेको टोलीले शनिबार च्याम्पियन्स लिगको उपाधि जिते बालोन डी‘ओरको उपाधिका लागि प्रबल दाबेदार हुने अनुमान गरिएको छ।

प्रकाशित: १४ जेष्ठ २०७९ ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App