११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

‘फियरलेस’ कुशलबाट आशा

नेपाली क्रिकेट टोलीमा डेब्युपश्चात् लगातार तीन अर्धसतकको कीर्तिमान रचेका कुशल भुर्तेल अहिले विश्वकप क्रिकेट लिग–२ को तयारीमा व्यस्त छन्।

पछिल्ला समय उनी स्वभाविक लयमा देखिएका छैनन्। स्पष्ट भन्दा उनको ब्याटबाट आशा अनुरूपको रन प्राप्त भइरहेको छैन। राष्ट्रिय टोलीमा डेब्युपश्चात् उनको प्रदर्शन चर्चा योग्य थियो, जुन पछिल्ला खेलमा देखिएनन्।

गत वर्षको चैतमा मात्र उनले नेपालमै सम्पन्न क्रिकोणात्मक ट्वान्टी–२० शृंखला (नेदरल्यान्ड्स र मलेसिया) बाट डेब्यु गरेका थिए। सुरुमा उनको प्रदर्शन उत्कृष्ट रह्यो। त्यसयता ११ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उनले एक सतक र पाँच अर्धसतकसहित कुल चार सय ९८ रन जोडिसके।

त्यसैले त उनी अहिले आइसिसी ट्वान्टी–२० वरीयताको २९औं स्थानमा पुगे, जुन नेपाली क्रिकेटरको अहिलेसम्मकै उत्कृष्ट सफलता हो। ६ वटा एकदिवसीय अन्तर्राष्ट्रियमा भने कुशलले एक अर्धशतकसहित एक सय ४४ रन बटुलेका छन्।

नेपालबाट खेलेको एक वर्षभन्दा कम समयमा नै कुशल लोकप्रिय भैसकेका छन्। उनै कुशल अहिले लिग–२ को तयारीमा छन्। त्यसका लागि नेपाली टोली मार्च १४ मा श्रीलंकाबाट संयुक्त अरब इमिरेट्स (युएई) मा पुग्नेछ। कुशलका समर्थक भने उनलाई १८औं पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधामा भोट हाल्न लागि परेका छन्।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि पिपल्स च्वाइसको मनोनयनमा परेका पाँचमध्ये एक हुन्,कुशल। जहाँ उनलाई पनि बलियो दाबेदारका रूपमा हेरिएको छ। सन् २०१९ को नोभेम्बरमा भारत इमर्जिङ टिमविरूद्ध खेल्दै लिस्ट ‘ए’ मा डेब्यु गरेका कुशल नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमै नेपाली टोलीमा थिए तर उनले खेल्ने अवसर भने पाएनन्।

यसै वर्ष वैशाखमा सम्पन्न त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाले भने कुशलको भाग्य मात्र खोलिदिएन नेपाललाई एउटा राम्रो ओपनिङ ब्याटर पनि उपलब्ध गराइदियो। त्यस शृंखलाबाट ‘डेब्यु’ गरेका कुशल ११ महिनापछि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा विश्वकै शीर्ष ३० ब्याटरभित्र छिरे। आइसिसीको ट्वान्टी–२० ब्याटर वरीयतामा कुशल हाल २९औं स्थानमा छन्।

नेदरल्यान्ड्सविरूद्ध डेब्युमै ६३ रन बनाएका उनले मलेसियाविरूद्ध अविजित ६२ जोडे। उनले नेदरल्यान्ड्सविरूद्ध नै ६२ रन बटुल्दै लय जारी राखे। पहिलो तीन ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने कुशल पहिलो र एक मात्र ब्याटर हुन्। त्रिकोणात्मक शृंखलाको पाँच खेलमा चार अर्धसतक बनाउँदै उनी प्लेयर अफ दी सिरिज चुनिएका थिए।

नेदरल्यान्ड्ससँगको फाइनलमा उनकै ७७ रनको प्रेरणामा नेपालले उपाधि पनि जितेको थियो। त्यो शृंखलापछि उनले भनेका थिए, ‘अहिले त सपना जस्तो लागिरहेको छ। एक साता अगाडि केही थिइनँ। अहिले मेरो नाममा केही कीर्तिमान छन्। ’हुन पनि हो, कुशललाई अहिले क्रिकेटका धेरै कीर्तिमानले पछ्याइरहेको छ। त्रिकोणात्मक शृंखलाको प्रदर्शनका आधारमा उनलाई आइसिसीले महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा राख्यो।

आइसिसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा पर्ने कुशल पहिलो नेपाली क्रिकेटर हुन्। यो सूचीमा अहिले सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी थपिसकेका छन्। अघिल्लो महिना ट्वान्टी–२० विश्वकप छनोटमा कुशलले फिलिपिन्सविरूद्ध अविजित १ सय ४ रन बनाएका थिए। यही क्रममा कुशलले दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटमा १ सय ७७ रनको साझेदारी गरे, जुन नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो साझेदारी पनि हो।

ओमानमा सम्पन्न प्रतियोगितामा कुशल नेपालबाट सर्वाधिक २ सय ५ रन बटुल्ने खेलाडी पनि हुन्। उनको प्रदर्शनका बाबजुद ट्वान्टी–२० विश्वकपमा नेपाल छनोट हुन सकेन। कुशलले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ४ सय ९८ रन जोडेका छन्। नेपालबाट सर्वाधिक रन बनाउनेमा पारस खड्का, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीभन्दा मात्र उनी पछाडि छन्।

नेपालको उमेर समूहदेखि खेल्दै आएका २५ वर्षे कुशलले नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेटमा वर्चस्व जमाउँदै छन्। मध्यम गतिमा बलिङ गर्ने उनी घरेलु क्रिकेटमा अलराउन्डर पनि हुन्। उनको उपस्थितिमा नेपालले पहिलो पावर प्लेको मजाले सदुपयोग गर्न थालेको छ। एकदिवसीय क्रिकेटमा पनि स्थापित हुने क्रममा छन्, उनी।

सेप्टेम्बरमा अमेरिकाविरूद्ध विश्वकप लिग–२ मा उनले ८४ रन बनाए। जुन क्षमताका साथ उनी खेल्दै आएका छन्, त्यसअनुरूप युएई भ्रमणले कुशलको एकदिवसीय यात्रालाई पनि उचाइमा पुर्‍याउन सक्छ। तुलनात्मक रूपमा कमजोर नेपालको ब्याटिङमा उनको ‘फियरलेस’ शैलीबाट ठूलो आशा गरिएको छ।

प्रकाशित: २९ फाल्गुन २०७८ ०४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App