१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पुनरागमनमा एभर्टनलाई सफलता

पाहुना टोली बर्नलीमाथि पुनरागमनमा ३–१ को जित निकाल्दै एभर्टनले सोमबार प्रिमियर लिगमा शीर्षता कायम गरिरहेका टोलीत्रय म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुलसँग अंक बराबरी गरेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एर्भटनविरुद्ध बर्नलीले सुरुआती अग्रता निकालेको थियो। बेन मीले ५३औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए। तर बर्नलीको अग्रता धेरै समय टिकेन। ७ मिनेटपछि नै एभर्टनले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याउन सफल भएको थियो। 

गोडिसन पार्कमा भएको खेलमा माइकल केनले हेडरमार्फत एभर्टनलाई बराबरीमा फर्काएका थिए। त्यसको ५ मिनेटपछि एभर्टनका विङ्गर टाउनसेन्ड्सले आकर्षक गोल गर्दै एभर्टनलाई अग्रता दिलाए। लगत्तै अर्को मिनेटमा अब्दुलाय डुकौरेको पासमा डेमाराई ग्रेले गोल गर्दै एभर्टनको अग्रता ३–१ को अवस्थामा पुर्‍याउँदै जित सुनिश्चित गरे। यससँगै राफेल बेनिटेजनको टिम एभर्टनले यस सिजन सानदार सुरुआत गरेको छ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा मी र क्रिस उड गोलको नजिक पुगे पनि सदुपयोग गर्न चुकेका थिए। आन्द्रे गोमेजको स्थानमा बेन गोडफ्रेलाई प्रतिस्थापन गरेसँगै एभर्टनले घरेलु मैदानमा लय समात्न सफल भएको थियो। 

सोमबारको जितसँगै अपराजित यात्रालाई निरन्तरता दिएको एभर्टनका प्रशिक्षक बेनिटेजले समर्थकको साथले टोलीलाई हौसला मिलेको बताए। ‘जितसँगै खेलाडीको खुसी समर्थकमाझ देख्दा समर्थक कति  महत्त्वपूर्ण हुँदो रहेछ भन्ने स्पष्ट भयो। घरेलु रंगशालामा समर्थकको उपस्थितिले खेलाडीमा छुट्टै ऊर्जा भरिएको थियो,’ प्रिमियर लिगअन्तर्गत सुरुआती चार खेलमा राम्रो नतिजा दिलाएका बेनिटेजले भने, ‘जितले टोलीलाई राम्रो गर्ने प्रेरणा मिलेको छ। कठिन प्रतिद्वन्द्वीको सामना गर्न अझै बाँकी छ। लयलाई निरन्तरता दिँदै चुनौती सामना गर्न टोली तयार छ।’

यस्तै प्रिमियर लिगको नयाँ सिजनमा १ अंक जोडेको बर्नलीका प्रशिक्षक सिन डायचले सम्हालिएको प्रदर्शन गर्न नसक्दा पराजित हुन पुगेको बताए। ‘सुरुआती अग्रता निकाले पनि टोलीले अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेन। आपसको तालमेलमा अभाव भयो। जुन प्रिमियर लिगमा छुट छैन,’ डायचले भने।

शीर्ष स्थानमा रहेका म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुलसंग अंक बराबरी गरेको हो। बेनिटेजको टिमले यस सिजन अपराजित रहँदै १० अंक जोडेको हो भने बर्नली १ अंकका साथ तालिकाको पुछारबाट तेस्रो स्थान माथि रहेको छ।  

प्रकाशित: ३० भाद्र २०७८ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App