१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आर्मीको रबाफिलो जित

रश्मि घिसिङको ह्याट्रिकप्रेरित त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा सानदार सुरुआत गरेको छ।

शनिबार सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा आर्मीले चौदण्डीगढी नगरपालिमाथि ९–० को रबाफिलो जित हात पारेको छ। जारी लिगमा चौदण्डीगढीमाथि आर्मीको यो लगातार दोस्रो जित हो। यसअघि बुधबार भएको पहिलो चरणको खेलमा पनि यी दुई टोली भिडेका थिए, जहाँ आर्मीले आफ्नो दबदबालाई प्रमाणित गर्ने क्रममा जारी लिगकै कमजोर टोलीको रूपमा रहेको चौदण्डीगढीमाथि १२–० को फराकिलो जित हात पारेको थियो।

लिगमा ७ खेल खेलेको आर्मी १६ अंकका साथ दोस्रो स्थानमा छ। जुन एक खेल कम खेल्दै शीर्ष स्थानमा बसेको एपिएफभन्दा मात्र २ अंक कम हो। ६ खेलमा १० अंक बटुलेको विराटनगर नगरपालिका तेस्रो स्थानमा छ। ८ अंक जोडेको नेपाल पुुलिस क्लब चौथो, समान ८ अंक जोडेको वालिङ नगरपालिका पाँचाैं, ३ अंक जोडेको चन्द्रपुर नगरपालिका छैटाैं र ७ खेलको समाप्तिमा समेत अंक खाता खोल्न नसकेको चौदण्डीगढी नगरपालिका सातौं स्थानमा छन्।  

चौदण्डीगढीले आर्मीविरुद्ध गोलकिपर दीपशिखा विश्वकर्मा, रक्षक एमित लेप्चा, मिडफिल्डर एन्जिला भुटिया र स्ट्राइकर सुजाता राईलाई पहिलो रोजाइमा उतारे पनि निरन्तर कमजोर प्रदर्शनमा भने पूर्णविराम लगाउन सकेन।  

१९ औं मिनेटमा रश्मिले आर्मीका लागि गोल खाता खोलेकी थिइन्। त्यसको ४ मिनेटपछि नै शर्मिला थापाले आर्मीको अग्रता दोब्बर पारिन्। मध्यान्तर हुन ५ मिनेट बाँकी हुँदा शर्मिलाले व्यक्तिगत दोस्रो गोलका साथ आर्मीको अग्रता ३–० मा पुर्‍याएकी थिइन्। पहिलो हाफको तुलनामा तालमेल अभाव देखिएको चौदण्डीगढीको टोलीविरुद्ध आर्मीले दोस्रो हाफमा थप ६ गोल गरेको थियो।

५२औं मिनेटमा आर्मीका लागि चौथो गोल गरेकी रश्मिले त्यसको ८ मिनेट पछि पुनः बललाई जाली चुमाउदै आफ्नो ह्याट्रिक पूरा गरेकी थिइन्। ६३औं मिनेटमा रश्मिले व्यक्तिगत चौथो गर्दै टोलीलाई फराकिलो जिततर्फ डोर्‍याउने संकेत गरेकी थिइन्। ७८औं मिनेटमा भुजंगा राईले आर्मीको लागि साताैं गोल गर्दा त्यसको १२ मिनेटपछि अञ्जली वाइबाले आठाैं गोल गरेकी थिइन्। इन्जुरी समयको दोस्रो मिनेटमा चौदण्डीगढीकी एमित लेप्चाले आत्मघाती गोल गरेसँगै आर्मीले ९–० को सानदार जित पक्का गरेको थियो।

आर्मीका प्रशिक्षक राजु तामाङले आफ्ना खेलाडी गोल गर्न हतारिँदा पहिलो हाफमा सोचेअनुरूपको प्रदर्शन गर्न नसके पनि दोस्रो हाफमा भने टोली स्वाभाविक लयमा फर्किएको बताए। ‘पहिलो चरणको अन्तिम खेलमा हामीले चौदण्डीगढीविरुद्ध खेल्दा उनीहरूको टोली केही कमजोर देखिएको थियो। तर आज उनीहरूले ४ भारतीय खेलाडी खेलाएका कारण हामीलाई खेल आफ्नो नियन्त्रणमा पार्न केही कठिनाइ भयो,’ तामाङले भने, ‘खेलाडीहरू सबैले मैले नै गोल गर्नुपर्छ जसरी खेले। सबैको ध्यान पाएको बलमा गोल हानाैं भन्नेमा केन्द्रित भयो। त्यसैले पहिलो हाफमा सोचेजस्तो खेल्न सकेनाैं। तर दोस्रो हाफमा टोली स्वाभाविक लयमा फर्कियो। अन्ततः टोलीले सानदार जितका साथ दोस्रो चरणको सुरुआत गर्न सफल भयो।

यता चौदण्डीगढीका प्रशिक्षक दीपक थापाले आफ्नो टोलीमा ४ जना नयाँ खेलाडी भित्रिए पनि उनीहरू एक दिनअघि मात्र टोलीसँग अभ्यासमा सहभागी भएकाले तालमेल अभाव देखिएको बताए।

‘हामीले पछिल्लो खेलको तुलनामा सन्तोषजनक प्रदर्शन गर्‍याैं,’ थापाले भने, ‘टोलीमा नयाँ खेलाडी भएकाले तालमेल अभाव देखिएको हो। आगामी खेलमा चौदण्डीगढी टोलीको फरक खेल देख्न सक्नुहुनेछ। ’

लिगअन्तर्गत आइतबार हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २५ माघ २०७७ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App