६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

मौजामा फुटबल मैदान बनाउन राखेपको टोली निरीक्षण

निर्माणाधिन मौजाको फुटबल मैदानको राखेप बोर्डसदस्य सम्पन्न श्रेष्ठसहितको टोलीले निरीक्षण । तस्बिर : नागरिक

माथि जंगल छ। तल बस्ती छ। अलि परे हेर्‍यो भने पोखराको बजार देखिन्छ। त्यतिमात्रै नभई पोखरा रगशाला प्रत्यक्ष नियाल्न सकिन्छ।  

पोखरा २० मौजामा पोखराकै उचाईमा फुटबल मैदान बन्दै छ। मैदानबाट हिमाल छर्लङ्गै देखिन्छ। मौजामा १७ सय मिटरको उचाईमा फुटबल मैदान निर्माण गर्ने कार्य अगाडि बढाइएको छ। पोखरा महानगरपालिकाले यो आर्थिक वर्षको लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ। त्यसभन्दा अघि नै ८ लाख रुपैयाँको लागतमा जमिन कटान गरेर सम्याउने काम गरिएको थियो। तर बजेट अभावले काम अगाडि बढ्न सकेको थिएन।  

महानगरले बजेट छुट्टयाएपछि काम अघि बढेको छैन। यतिबेला कोरोना कहर छ। कहरकै कारण थप काम भने हुन सकेको छैन। फुटबल मैदान निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले प्रत्यक्ष निरीक्षण गरेर फर्किएका छन्। निरीक्षण गरेर फर्किएपछि श्रेष्ठले भने,‘फुटबल मैदान निर्माण गर्न उपयुक्त छ। प्राकृतिक दृष्टिकोणले निकै रमणीयस्थल छ।’ उनका अनुसार पोखरासँगै जोडिएको मौजामा फुटबल मैदान निर्माणसँगै खेलाडीलाई होम स्टेमा राखेर प्रतियोगिता सञ्चालन गर्न सकिन्छ।

उनले युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा(सुनार)ले नै मौजा खेलमैदानको निरीक्षण गरेर खबर गर्न निर्देशन गरेपछि आफूले निरीक्षण गरेर फर्किएको प्रष्ट्याए। ‘फुटबल मैदान बनाउन जरुरी छ। त्यसमा पनि अझ मौजामा बनाउन अझै उपयुक्त देखिन्छ’ उनले थपे,‘प्राकृतिक सौन्दर्यताले खेलाडीको मनै लोभ्याउँछ।’

मैदान निर्माण गर्न महानगरपालिकाले छुट्टयाएको बजेटबाट काम अघि बढाउनुपर्नेमा जोड दिए। उनले महानगरपालिकाको बजेटबाट शुरु गरिएको कामलाई फत्ते गर्न राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालय तथा प्रदेश सरकारसँग थप बजेटको लागि लबिङ गरिने स्पष्ट पारे।  

डेढ वर्षअघि मैदानको डिपिआर तयार गरिएको छ। डिपिआर अनुसार १६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। डिपिआरमा फुटबल मैदानसहित पार्किङ, दर्शक प्यारापिट, चेन्जिङ रुम तथा अन्य खेलकुद पूर्वाधार समेत समेटिएको छ। पोखरा-२० भलाम मौजाका वडाध्यक्ष सीम गुरुङले फुटबल मैदान निर्माणपछि ग्रामीण क्षेत्रमा स्पोर्टस टुरिज्म विकास हुने अपेक्षा गरे।  

‘फुटबल प्रतियोगितासँगै गाँउसम्म पुग्ने बाटोको स्तरोन्नति शुरु गरिएको छ । यातायातको सहज पहुँच पुगेपछि प्रतियोगिता आयोजना गर्न सकिन्छ। होमस्टेमा राखेर ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ।’ उनले भने,‘त्यसको लागि सबै तह र तप्काबाट सहयोग हुन जरुरी छ।’ फुटबल मैदान निर्माणपछि पोखराकै सबैभन्दा उचाईमा रहेको फुटबल मैदान हुने छ।

प्रकाशित: २७ कार्तिक २०७७ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App