८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

खेलकुदमा असारे बजेट, असारभित्र सक्ने गरी १४ योजनाको लागि सवा करोड

असारको आधा भैसक्यो। आर्थिक वर्ष सकिँनै लाग्दा कास्कीको विभिन्न खेलकुद योजनाको लागि बजेट निकासा भएको छ। राष्ट्रिय खेलकुद परिषदले कास्कीमा विभिन्न १४ वटा योजनाको लागि बजेट छुट्याएको हो। परिषदको पत्र अनुसार स्थानीय निकाय खेल मैदान निर्माण अन्तर्गत आर्थिक वर्षभित्रमा सक्ने गरी काम टुग्याउन गर्नुपर्ने भन्दै सम्झौताको लागि निर्देशन समेत गरेको छ। केही सरोकारवाला भने सम्झौताको लागि जिल्ला खेलकुद विकास समितिको कार्यालयको सम्पर्कमा आइसकेका छन्। 

१६ दिनमा १४ योजना सक्ने गरी राष्ट्रिय खेलकुद परिषदले १ करोड १३ लाख रुपैयाँको योजना पठाएको छ। यो असारे विकास बजेट दुईसाताभित्रैमा सक्नुपर्ने छ। पत्र झण्डै एकसाता मात्रै आएपनि सम्बन्धित योजनाका सरोकारवालासँग भने सम्झौता गर्न बाँकी रहेको छ। बजेट जिल्ला खेलकुद विकास समिति कास्कीको खातामा आइपुगेको छ भने अनुगमनको जिम्मेवारी परिषदले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई तोकेको छ। ‘कार्यक्रम सम्पन्न भए नभएको अनुगमन मात्रै गर्ने हो। समन्वयकारी भूमिका खेल्ने हो।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने–‘सम्झौता गरेर काम अघि बढाउन समय नै कम छ।’  

कास्कीको अन्नपूर्ण गाँउपालिका–११ छोमरोङ खेल मैदानको लागि परिषदले १५ लाख रुपैयाँ छुट्टाएको छ। अन्नपूर्ण गाउँपालिकाकै–१ सृजना मावि खेलमैदानको लागि ८ लाख, पोखरा महानगरपालिका –१४ स्थित सामुदायिक व्यायामशाला निर्माणको लागि ८ लाख, पोखरा–३१ बेगनास खेलमैदान, पोखरा १६ बाटुलेचौर खेल मैदान, पोखरा ३३ शिशु कल्याण माविको खेल मैदान, पोखरा २१ स्थित खेल मैदान, पोखरा–१३ रतन पाण्डे माविको खेल मैदानलाई समान ८ लाख रुपैयाँ उपलब्ध गराइएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ।  

त्यसैगरी पोखरा–२४ कास्कीकोट राउसेबजार खेल मैदानलाई र पोखरा–१८ सराङकोट भकुण्डेस्थित शान्त माविको खेल मैदानलाई समान ५ लाख रुपैयाँ छुट्टाइएको छ। पोखरा–२२ उल्लेरी खेल मैदान, पोखरा–१८ सेदी खेलमैदान, माछापुच्छ«े २ गैराखी खेल मैदान र पोखरा–१९ काउरे खेल मैदानको लागि समान ८ लाख रुपैयाँको दरले बजेट उपलब्ध गराइएको छ।  ‘नवौको लागि केही अत्यावश्यक पूर्वाधार बनाउन जरुरी छ। त्यस तर्फ ध्यान गएको छैन्।’ खेलकुदकर्मी नै सुनाउँछन्–‘तर असारे बजेटको नाममा काम देखाउने परिपाटी मात्रै बसेको छ।’  

 परिषदले आर्थिक वर्षकै लागि पोखरामा निर्माण गर्न सुटिङ रेन्जको पूर्वाधार निर्माण गर्न ५० लाख रुपैयाँ छुट्टाएको थियो। तर छुट्टाइएको त्यो बजेटबाट काम भने अगाडि बढन सकेन्। स्वीमिङ पुल र सुटिङ रेन्जको लागि टेण्डर आह्वान हुनै सकेन्। आर्थिक वर्ष २०७७÷७८ का लागि फेरी सुटिङ रेन्जको लागि परिषदले ५० लाख रुपैयाँ छुट्टाएइको छ। नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका पूर्वाधारको लागि परिषदले ४ करोड ६५ लाख रुपैयाँ छुट्टाइको छ। जुन बजेटमा सुटिङको ५० लाख रुपैयाँ समेत समावेश गरिएको छ।

प्रकाशित: १५ असार २०७७ ०५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App