७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

दिनेशको यात्रा : बालुवाको थुप्रोदेखि गिनीज बुकसम्म

साहसिक युवा

खेतका आली, बालुवाको थुप्रो र परालको गुण्टा देख्नै हुँदैनथ्यो। उनी त्यहाँ जम्प गरिहाल्थे। त्यसरी उफ्रँदा धेरैपटक हात खुट्टा मर्कियो। घरि बटोमाथि घरि बाटो मुनि उफ्रँदा गाउँले सबै झुम्मिन्थे, अनि भन्थे, ‘यो मान्छे किन यसरी उफ्रिएको? कस्तो भाङ्जो।’

झण्डै डेढ दशक अघि गाउँलेहरू उनलाई ‘भाङ्जो’ अर्थात हावा मान्छे भनेर उडाउँथे। तर, आज तिनै दिनेश सुनार पार्कर खेलबाट नेपाललाई विश्वमा चिनाउने कीर्तिमानी खेलाडी बनेका छन्।  

उनी बारीका कान्ला मात्रै होइन्, घरका छतमा पनि जम्प गर्छन्। भित्तामा टेकेर माथि–माथि चढ्छन। र, उफ्रेरै पर्खाल नाघ्छन्। उनको काम देखेर दुनियाँ चकित परेको छ।  

आफ्नो साहसिक प्रतिभा प्रदर्शन गरेर पार्कर खेलबाटै उनले चार पटकसम्म विश्वकीर्तिमान बनाईसकेका छन्।  

के हो त पार्कर खेल ?  

उनका अनुसार कलात्मक शैलीमा उफ्रिएर एक ठाउँबाट अर्को ठाउँमा जाँदा बीचमा आउने अवरोधलाई सजिलै पार गर्दै अघि बढ्ने कला नै ‘पार्कर’ हो। फ्रान्सेली सैनिकहरूले बच्न र बचाउन छिटो हुने माध्यमका रूपमा पार्करको अभ्यास गरेको इतिहास छ। आज पनि उनीहरूको तालिममा पार्कर खेल सिकाइन्छ।  

देख्दै आङ सिरिङ हुने पार्कर खेल मार्फत् विश्वमै नेपालको नाउँ चम्काउन सक्रिय खेलाडी हुन् दिनेश सुनार। उनले यही खेलबाटै विभिन्न कीर्तिमान राखिसकेका छन्।  

फ्रान्स हुँदै संसारभर पार्कर खेल फैलेको छ। ठाउँठाउँमा यसको प्रतियोगिता समेत आयोजना गरिन्छ। दिनेशले पनि केही समय अघि अमेरिकामा भएको विश्व कपमा आठौं स्थान हासिल गरेका थिए।  

त्यति मात्र होइन, उनले गिनिज वल्र्ड रेकर्ड कायम गरेका छन्। एक घण्टामा चार सय ६० पटक ब्याकवार्ड समरसल्ट हानेर विश्वमा आफूलाई प्रमाणित गरे। सन् २०१७ मा ‘द मस्ट ट्विस्टिङ ब्याकफिल्प अफ वाल इन वान मिनेट’ पहिलो विश्व रेकर्ड राखे। त्यसपछि अर्को खुड्किलो उक्लन सजिलो भयो। पहिलो रेकर्डले मात्रै धित मरेन। सन् २०१८ मा ‘द मस्ट ब्याकवार्ड सोमरसल्ट एगेन्स्ट वाल इन ३० सेकेन्ड’ मा दोस्रो विश्व कीर्तिमान बनाए। दिनेशले ३० सेकेन्डमा ‘द मस्ट ट्वीस्टीङ ब्याकफ्ल्पि अफ वाल’ मा तेस्रो विश्व कीर्तिमान राख्ने सफल भए।  

यसरी नेपाली युवा दिनेश सुनारले विश्वमै ‘साहसिक हिरो’को चिनारी बनाइसकेका छन्। नेपालको कुरा गर्दा उनले यहाँ पार्कर खेल चिनाएका मात्र छैनन, यसको सम्भावना पनि उजागर गरेका छन्।  

अचेल नेपाली युवामा पनि पार्कर मोह बढ्दैछ। पछिल्लो समय केही नेपाली युवा उनीसँग खेल सिक्दैछन्।  

‘मान्छेले पार्कर के हो भन्ने बुझ्न थालेका छन्’, उनी भन्छन् ‘नेपालमा पनि पार्कर खेलको ठूलो सम्भावना छ। यसको विकासका लागि समय भने लाग्छ।’  

पार्कर खेल अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समावेश हुन थालेको भर्खरभर्खरै हो। यसले विस्तारै गति लिनेमा उनी आशावादी छन्।  

पार्कर साहसिक खेल हो। शारिरीक तन्दुरुस्ती, अक्कल, सहास र लगाव भयो भने मात्र यसमा सफलता मिल्छ।  

यहाँसम्म आइपुग्न दिनेशले निकै पापड बेल्नु परेको छ। खोटाङको राजापानीमा जन्मेका/हुर्केका उनको जीवनकथा संघर्षपूर्ण छ। उनका आमाबुबा गार्मेन्टमा काम गर्थे। परिवारमा आर्थिक संटक परेपछि बुबा पैसा कमाउन विदेश गए। त्यसपछि आमासँगै उनी गाउँमै फर्किए।  

कक्षा ७ सम्म काठमाडौंमै पढेका उनी एक्कासी गाउँ फर्कनु पर्यो। काठमाडौंमा हुँदैखेरि उनले धेरै ‘स्टन्ट’ देखाइसकेका थिए। त्यही बेला साथीहरूसँग सिनेमा हेर्थे। उनी नेपाली ‘हिरो’हरु विराज भट्ट र निखिल उप्रेतीका सिनेमा पनि हेर्थें। त्यो बेलादेखि नक्कल गर्न थालेका थिए।    

दिनेश बाल्यकालको स्मरण गर्दै भन्छन्,‘सिनेमाका प्रभाव परिसकेको थियो। काठमाडौंमै रहँदा पनि बालुवाखानीमा थुप्रो बनाएर उल्टी–सुल्टी हान्न थालिसकेको थिएँ।’  

त्यसो त गाउँ फर्केपछि पनि उनले ‘स्टन्ट’ गर्ने ठाउँ प्रशस्तै भेट्टाए। टेलिभिजन र सिनेमा भने हेर्न पाएनन्। सिकाईको फरक माध्यम अपनाउनु पर्योि।  

‘गाउँका साथीभाइसँग मिलेर खाल्डो खनेर स्टन्ट गर्न थालेँ। खाल्डो खनेर त्यसभित्र पराल हालें अनि ठाउँ–ठाउँमा माटो थुपारेर स–साना ढिस्को बनाउँथें। त्यस्ता ठाउँमा धेरै पटक स्टन्ट गर्थें’, उनले सम्झिए।  

उनमा कतिसम्म भोक थियो भने, तीनचार घण्टाको बाटो हिँडेर खोला किनारमा पुग्थे। अनि त्यहाँ बालुवाको थुप्रो बनाएर उफ्रँदै दिन विताउँथे। यसरी सिँगो दिन नै माया मारेर बालुवामा खेलेका थुप्रै सम्झना छन् उनीसँग।  

ती दिन सम्झँदा आज उनी रोमाञ्चित बन्छन्। ‘गाउँमा बालुवा भएको खोला खासै हुँदैनथ्यो। बालुवा भएको खोला पुग्न धेरै समय हिँड्नुपथ्र्यो।’

अनि बाटो बदलियो...  

स्कुले जीवनदेखि नै उनी अब्बल प्रतिभा थिए। पढाइसँगै अन्य क्रियाकलापमा पनि बरोबर पुरस्कार जित्थे। विसं २०६७ सालमा खोटाङकै ज्योति माविबाट एसएलसीमा ६७ प्रतिशत अंक ल्याएर स्कुल टप गरे उनले।  

तिनताका स्कुलमै जिम्न्यास्टिक देखाएर आफ्नो भविष्यको संकेत गरिसकेका थिए।  

विसं २०६८ तिरको कुरा, दशैँ–तिहारको समय उनी गाउँमै थिए। त्यही बेला स्कुलमा भलिबल र नृत्य प्रतियोगिता भयो। सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक सनतकुमार बस्नेतका बावुआमाको स्मृतिमा भएको प्रतियोगितामा उनले नृत्य देखाए।  

नृत्य देखेर सबैले जिब्रो टोके किनकी उनले नृत्यसँगै पार्कर स्टन्ट पनि देखाएका थिए। उनको त्यो कलाले धेरैको ध्यान खिच्यो। उनको प्रतिभाबाट महानिरिक्षक बस्नेत पनि प्रभावित भइहाले। उनले सुनारलाई हेडक्वार्टरमा बोलाए।  

जब उनी काठमाडौं आए तब बस्नेतले सशस्त्र प्रहरीका खेलकुद इन्चार्ज डिएसपी प्रेमकुमार श्रेष्ठलाई ‘उपयुक्त विधामा स्थान दिन’ निर्देशन दिए।

दिनेशलाई ढुङ्गा खोज्दा देउता मिलेझैं भयो। त्यो बेला पार्कर खेलबारे नेपालीलाई खासै थाहा थिएन। जिम्न्यास्टिक खेलमा मासिक तीन हजार तलब पाउने गरी उनले ६ महिने करारमा नियुक्त पाए। यही जागिर उनको जीवनको टर्निङ पोइन्ट बन्यो।  

सशस्त्र प्रहरी कार्यालयले उनलाई राजेश्वरमान प्रधानसँग दशरथ रंगशालामा जिम्न्यास्टिक तालिमको व्यवस्था मिलाइदियो।  

‘जिम्न्यास्टिकको तालिमपछि फुर्सदमा चाहिँ पार्करको अभ्यास गरिरहन्थेँ’, उनी भन्छन् ‘पार्करमा आफूलाई निखार ल्याउन एक्दमै अभ्यस्त थिएँ। अन्ततः २०६९ सालदेखि भने सशस्त्र प्रहरीमा आधिकारिक रुपमा नियुक्ती पाएँ।’  

उनले प्रहरीको जागिर छाडिसके। जागिरमा समय दिनु पर्दा पार्कर खेललाई पर्याप्त समय दिन नसकेको उनले बताए।  

बालुवाको थुप्रोदेखि गिनिज बुकसम्म  

पुरस्कार र सम्मानपत्रले उनको कोठा भरिएको छ। सानो दुःखले आर्जेको सम्पत्ति होइन यो, यसका लागि उनले निकै पसिना बगाएका छन्। पुरस्कारले एकातिर आत्मसंतुष्टि मिलेको छ भने अर्कोतिर मुलुकको नाउँ राख्न पाउँदा सबैको स्याबासी मिलेको छ।  

पार्कर कलाका माध्यमबाट विश्वमा नयाँ रेकर्ड राख्नु चानचुने काम होइन, त्यसका इच्छाशक्ति र प्रतिभा भएर मात्र पुग्दैन। आर्थिक पक्ष पनि बलियो हुनु पर्छ।  

समस्यै समस्याका पहाड छिचोल्दै उनी कीर्तिमानको शिखरमा पुग्न सफल भएका हुन्।  

उनलाई गिनिज बुकमा नाम लेखाउने यात्रामा धेरैको साथ मिलेको छ। प्रहरीमा जागिरे हुँदा पनि कार्यालयले विभिन्न सुविधा उपलब्ध गराएर गुन लगाएको उनी बिर्सँदैनन्।  

उनलाई कलाको भिडियो र कागजात जाँजोपाँजो मिलाई दिने काम थानेश्वर गुरागाईंले सहयोग पुर्याएका थिए। अनि धेरै पटक गिनिजमा रेकर्ड राख्न सफल भए।    

‘जीवनमा धेरै काम गर्न बाँकी छ’, उनमा गहिरो आत्मविश्वास छ, ‘म मुलुककै लागि काम गर्नेछु।’  

उनको यात्रा जारी छ। सन् २००७ मा गठन भएको वल्र्ड फ्रि रनिङ पार्कर फेडरेसनमा हाम्रा दिनेश पनि सदस्य बनेका छन्। उनकै अध्यक्षतामा गत भदौमा नेपाल पार्कर एसोसिएसन पनि गठन भैसकेको छ।  

उनले प्रहरीमा हुँदै जिम्न्यास्टिक खेलमा पनि विभिन्न पदक जितेका थिए। २०७१ सालमा भएको लुम्बिनी खेलकुदमा  प्रथम भएर स्वर्ण हात पारे। सातौँ राष्ट्रिय खेलकुद २०७३ मा एक स्वर्ण र एक रजत जितेका थिए।  

उनले केही नेपाली चलचित्रमा पनि काम गरेका छन्। उनले नायिकाको पात्रमा भिलेनसँग जिम्न्यास्टिक गर्दै फाइट गरेका दिनेशले ‘हवल्दार सुन्तली’, ‘किस्मत टू’ र ‘कोइला’ लगायत चलचित्रमा काम गरिसकेका छन्।  

‘फिल्ममा पनि पार्करको उतिकै स्कोप छ’, उनी भन्छन्, ‘एक्सन फिल्म निर्माणमा यसको माग बढ्दो छ।’  

सजिलो छैन पार्कर खेल। खेल्दाखेल्दै चोट लाग्न सक्छ। कहिलेकाहिँ ज्यानै जान सक्छ। दुःखमा हुर्किएका साहसीहरू मात्र पार्कर खेलाडी बन्न सक्छन्।  

उनी उफ्रन थालेको २१ वर्ष भैसक्यो। बालुवाको थुप्रोदेखि अमेरिकाको विश्वकपसम्म पुग्न पाउँदा आफूलाई भाग्मानी ठान्छन्।  

सरकारले पार्कर खेलको विकासमा पनि ध्यान दिनु पर्ने उनको सुझाब छ।  

उनी निरन्तर पार्कर खेलमा समर्पित हुन चाहन्छन्। उनी संर्घषले खारिँदै आएका छन्। ‘आफूमा क्षमता भएर मात्र पुग्दैन, त्यो क्षमतालाई कहाँनेर प्रयोग गर्ने भन्ने कुरा प्रमुख हो’, उनी भन्छन, ‘हामीले आफ्नो सपना पुरा गर्न निरन्तर मेहेनत गर्नु पर्छ।’  

साहसिक युवा दिनेश सुनारको सफलताको कामना !

 

प्रकाशित: ७ असार २०७७ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App