५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

उदाउँदै अस्ताउँदै गण्डकीको हक्की

हेटौंडामा आयोजित चौथो राष्ट्रिय हक्की च्याम्पियनसिपमा सहभागि गण्डकी अञ्चलको हक्की टिम । तस्बिर सौजन्य : डा. विरेन्द्रसिंह गुरुङ

पोखरामा २०३४ सालदेखि हक्की खेल्न सुरु गरियो । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४०(पोखरा)मा हक्की समावेश थियो ।  २०४२ सालमा बीरगंजमा तेस्रो राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो ।  

२०४४ सालमा हेटौंडामा आयोजित राष्ट्रिय हक्कीका गण्डकी अञ्चलले दोस्रो स्थान प्राप्त गरेको थियो । गर्विलो छविको उदाएको हक्की विस्तारै क्षितिजको रेखाबाट टाढियो । दुई दशक हक्की शून्यको अवस्थामा पुग्यो । २०६२/६३ को जनआन्दोलन भयो । जनआन्दोलनले सुस्ताएको हक्कीलाई फेरी एकाएक व्युँतायो । अश्विनीकुमार अधिकारी हक्की प्रशिक्षकको रुपमा पोखरा आए । उनी आएसँगै कास्कीको हक्कीले रफ्तार समात्यो ।  

२०६५ सालमा पाँचौ राष्ट्रिय प्रतियोगिता(काठमाडौं)मा पश्चिमाञ्चलले हक्कीमा सामेल हुन पुग्यो । सुस्ताएको हक्की एकाएक उदायो । पुरुष तर्फको प्रतिस्पर्धामा दोस्रो स्थान रहँदै सुखद नजिता आत्मसात गर्‍यो । त्यसपछिको संस्करण भने केबल सहभागितामा मात्रै चित्त बुझाउँदै आएको छ । छैटौं राष्ट्रिय खेलकुद(धनगढी), सातौं राष्ट्रिय खेलकुद(विराटनगर) र आठौं राष्ट्रिय खेलकुदमा (नेपालगन्ज) पुरुष टोली पदक विहीन रह्यो ।  

२०७० सालमै पोखरामा राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आयोजना गरिएको थियो । घरेलु मैदानमै पश्चिमाञ्चल टोली पदकविहीन भएको थियो । प्रतियोगिता नगरप्रशिक्षण केन्द्र(हालको गण्डकी प्रदेश सभास्थल) आयोजना गरिएको थियो । गतवर्ष झापामा आयोजित स्व. गिरिजाप्रसाद कोईराला पुरुष हक्कीमा स्वर्ण पदक र हेटौडामा आयोजित स्व. सहाना प्रधान महिला हक्कीमा दोस्रो स्थान प्राप्त गरेको थियो ।  

प्रशिक्षक अधिकारी हुदाँ उदाएको हक्की फेरी अहिले ओझेलमा पर्दै आएको छ । नियमित प्रशिक्षण हुनै सकेको छैन् । राष्ट्रिय प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषदले नै प्रशिक्षक काजमा खटाउँदै आएको छ । नियमित प्रशिक्षणको लागि मैदान छैन् । दोस्रो संस्करणको स्व. सहाना प्रधान महिला हक्की प्रतियोगिता भने पोखरा रंगशालाभित्र आर्चरीकै मैदानलाई उपयोग गरिएको थियो ।  

पोखरामा आगामी फागुनको तेस्रो साता(२०–२७ गते)सम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । त्यसको लागि आवश्यक तयारी थाल्नुपर्ने अवस्था छ । यद्यपी हक्कीको लागि पूर्वाधार भने छैन् । बैकल्पिक मैदान खोज्नुपर्ने बाध्यता जिल्ला, क्षेत्रीय खेलकुदसँगै नेपाल हक्की संघलाई छ । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । यद्यपी समयमै प्रतियोगिता आयोजना गर्न अहिलेदेखि नै तयारी थाल्नुपर्ने अवस्था छ ।’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘हक्कीको पूर्वाधार ठ्याक्कै छैन् । तर पनि राज्यले लगानी गरेको केही फुटबल मैदानलाई राष्ट्रिय प्रतियोगितामा उपयोग गर्ने सोंचमा छौं ।’ उनका अनुसार भण्डारढीकस्थित फुटबल मैदान र पोखरा–१९ गोस्ते खेलमैदानलाई हक्की खेलाउन सकिने सम्भावना छ ।  

पोखरामा हक्कीको शुरुवात गरिएको अन्नपूर्ण रंगशाला(पृथ्वीनारायण क्याम्पस) मा मैदान पनि छ । हक्कीको लागि ९१ मिटर लम्बाई र ५४ मिटर चौडाईको मापदण्ड हुनुपर्छ । ‘लकडाउनले अस्तव्यस्त छ । लकडाउन सकिएपछि हक्कीको लागि बैकल्पिक मैदान खोज्ने तर्फ ध्यान लगाउने छौं ।’ नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले भने–‘अहिले नै यो ठाँउमा खेलाउन सकिन्छ भनेर भन्न सकिदैन् । जिल्ला तथा क्षेत्रीय खेलकुदसँग समन्वय गरेर मैदानको व्यवस्था गर्छौ ।’  

क्याम्पसभित्रको बनाइएको मैदान नै एकमात्र हक्की मैदान हो । त्यो बाहेक पोखरामा अन्यत्र हकीको लागि मैदान छुट्टाईएको छैन ।  पोखरा रंगशालमा भौतिक पुर्वाधार तयार पार्न गुरुयोजना बनाईपनि हक्कीको लागि भने मैदान छुट्टाइएको छैन । हक्कीको ईतिहास जति गर्विलो छ, पूर्वाधारको लागि त्यति नै कमजोर छ । हक्कीको जग भने डा. विरेन्द्रसिंह गुरुङले बसालेका हुन् ।

प्रकाशित: २९ जेष्ठ २०७७ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App